Comments Add Comment

बेथानमा वाम गठबन्धनको चुनावी सभा रोकियो

वाम नेता भन्छन्- प्रशासनले पानी नै नपरी बाढी आएको देख्यो

५ मंसिर, रामेछाप । स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि रामेछापको बेथानमा आज हुने भनिएको वाम गठबन्धनको चुनावी सभा रोकिएको छ । सभालाई विनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले सम्वोधन गर्ने कार्यक्रम थियो ।

श्रेष्ठ रामेछापबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

संयुक्त वाम गठबन्धनले आज निर्वाचनको अन्तिम चुनावी सभाको रुपमा रामेछापको सुनापति गाउँपालिका ४ बेथानमा वृहत जनसभाको कार्यक्रम राखेको थियो । सभालाई राज्यमन्त्री श्रेष्ठ, वाम गठबन्धनका प्रदेश सभा तर्फका उम्मेदवार एवं एमाले नेता कैलाश ढुंगेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । सोही स्थानमा कांग्रेसले पनि वडा स्तरको सभा गर्न लागेको थियो ।

स्थानीय प्रशासनले सो स्थानमा हिंसा भड्कन सक्ने खतरा देखिएको भन्दै सोमबार निषेधित क्षेत्र घोषणा गरेको हो । स्थानीय प्रशासनले निषेधाज्ञाको सूचना जारी गरेपछि गएराति अबेरसम्म वाम गठबन्धनको निर्वाचन परिचालन समितिको बैठक बसेको थियो । बैठकले सामान्य अवस्थामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेर वाम गठबन्धनको चुनावी सभालाई अवरोध गरेको भन्दै आपत्ति जनाएको छ ।

‘वाम गठबन्धनको प्रभाव क्षेत्रमा चुनावी सभा गर्न रोक लगाउने गरी भएको यो कार्यले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रजातान्त्रिक मान्यताप्रति कत्तिको इमान्दार छन् भन्ने कुरा प्रष्ट भएको छ,’ माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले भने ।

सो क्षेत्रबाट प्रदेश तर्फ चुनाव लडेका वाम गठबन्धनका उम्मेदवार एमाले नेता कैलाश ढुंगेलले आजको चुनावी सभा स्थगित भएको जानकारी दिँदै भने, ‘प्रशासनले पानी नै नपरी बाढी आएको देख्यो ।’

रामेछापको बेथान पूर्वमा माओवादीको उदगमस्थल हो । तर स्थानीय तह निर्वाचनमा माओवादीमा अन्तरकलह चुलिएको थियो । जसका कारण माओवादीबाट विद्रोही उम्मेदवार बनेका खड्ग घिसिङ वडा अध्यक्षमा निर्वाचित भएपछि माओवादीको गढमा कांग्रेसले खेल्ने मौका पाएको छ । त्यही अन्तरकलहको उपयोग गर्दै कांग्रेसले आफ्नो कार्यक्रम सकेपछि वाम गठबन्धनको चुनावी कार्यक्रम गर्ने बेला बखेडा झिकेको वाम गठबन्धनको आरोप छ ।

नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति रामचन्द्र खड्काले निषेधाज्ञाको घोषणा प्रजातान्त्रिक प्रक्रियामा दुःखद विषय भएको बताए । उनले यस्तो अवस्थाको तत्काल अन्त्य गरी सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment