Comments Add Comment

खुशीरामले पालुङटारमा भनेका थिए- गाउँदा गाउँदै मर्न पाउँ !

उठ जाग युवा हो भन्ने कलाकार सभास्थलमै ढले

५ मंसिर, चितवन । दिउँसो १२ बजे सञ्चालन हुने भनिएको भरतपुरको जनसभा शुरु हुन डेढ घण्टा ढिलो भयो । जिल्लाका विभिन्न भागबाट सभामा सहभागी हुनेहरु कार्यक्रमस्थल आइसकेका थिए ।

तर, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्यक्रममा आउन समय लागेका कारणले सो समयको उपयोग गरेर मञ्चमा जनवादी गीत गाउँदै थिए जनवादी गायक खुसीराम पाख्रिन ।

‘उठ जाग युवा हो’ भनेर युवा जगाउने गीत गाएका पाख्रिनले मञ्चमा दुईवटा गीत गाए ।

उमेर वृद्ध भए पनि जोश र जाँगरका साथ स्टेजमा फूर्ति साथ गीत सुनाएका यस्ता गायकलाई केहीबेरमा नै गुमाउनुपर्छ भनेर सायदै सभामा सहभागी हजारौं मानिसहरुले सोचका थिए ।

मानिसको मृत्यु कहाँ कतिबेला हुन्छ भन्ने कुराको ठेगान हुँदैन । केही दिनअघि कांग्रेस नेता रामचन्द्र पौडेलको कार्यक्रममा कविता सुनाउँदा सुनाउँदै श्रीभद्र पण्डितको निधन भएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको हृदयघातका कारणले मंसिर ३ गते निधन भएको थियो ।

गीत गाएर कुर्सीमा बसेका पाख्रिन अचानक ढले । उनलाई गाडीमा राखेर नारायणी सामुदायिक अस्पताल लगियो । नाक र मुखबाट रगत आएका पाखि्रनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।

सभास्थल र अस्पताल बीचको दूरी करिव १ किलोमिटर जति छ । अस्पतालका चिकित्सक डा. किशोर गौतमसहितको टिमले पाख्रिनलाई जोगाउन ४५ मिनेटसम्म अथक प्रयास गरे पनि जोगाउन सकेन ।

अस्पतालका चिकित्सक डा. गौतमका अनुसार पाखि्रनलाई अस्पताल ल्याउँदा उनको ब्लड प्रेसर र पल्स दुबै थिएन । ‘ल्याउनेवित्तिकै अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा समेत राखेर वचाउने प्रयास गर्‍यौं, हृदयाघात त भएको थियो नै, उहाँले भोमिट पनि गर्नुभयो’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘बेस्सरी भमिट गर्दा एस्पीरेशन निमोनियासमेत भयो । सुगर पनि ३२९ भन्दा बढी थियो ।’

गीत गाउँदा गाउँदै मर्ने इच्छा….

तत्कालीन एकीकृत नेकपा माओवादीको गोरखाको पालुङ्टारमा सम्पन्न भएको छैठौं विस्तारित बैठकमा सहभागी भएका पाख्रिनसँग भएको भेटमा उनले गीत गाउँदा गाउँदै मर्ने इच्छा व्यक्त गरेका थिए ।

पाख्रिनले भनेका थिए, ‘म जनताका गीत गाउँदै हिँड्छु, जनता जगाउँदै हिँड्छु । गीत गाउँदा गाउँदै मर्न पाउँ ।’

माओवादी युद्धमा नजिकबाट मृत्यु छामेको बताउने पाख्रिन अन्ततः जनताको गीत गाउँदा गाउँदै अस्ताए ।

माओवादीले थालेको युद्धमा परिवारका सदस्यसमेत गुमाएका पाख्रिन सहिद परिवार हुन् । उनी माओवादी केन्द्रका हाल सल्लाहकार थिए ।

माओवादी पार्टी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका पाख्रिन रामबहादुर थापाको टोली एकीकृत माओवादीमा फर्किएपछि उनी पनि माओवादी केन्द्रमा आएका थिए ।

चितवन निर्वाचन क्षेत्र नः ४ मा ०७१ सालमा भएको संविधानसभा उपनिर्वाचनमा उम्मेदवार रहेका पाख्रिनको घर पश्चिम चितवनको रामपुरमा छ ।

पाख्रिनको शवलाई बुधबार माओवादी पार्टी कार्यालय कृष्णपुरमा श्रद्धाञ्जलीका लागि राखिने माओवादी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment