Comments Add Comment

कुन गाउँबाट कति भोट आयो ? उम्मेदवारले थाहा पाउने छैनन्

पहिलो चरणको चुनावपछि मतपेटिका छेउमा कार्यकर्ता पनि बस्न पाउने

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले कुन गाउँबाट आफूलाई कति भोट आयो भनेर थाहा नपाउने भएका छन् । निर्वाचन आयोगले मतगणना गर्दा कुन ठाउँबाट कसले कति मत पायो भन्ने थाहा नहुने गरी मतपेटिका मिसाउनु पर्ने नियम र निर्देशिकाबारे निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

पहिलो चरणको चुनाव आइतबार हुँदैछ भने दोस्रो चरणको मतदान २१ गतेका लागि तय भएको छ । तर, मतगणना भने दुबै चरणको मतदान सकिएपछि मात्र हुनेछ ।

मतगणना गर्दा दुई वा दुई भन्दा बढि केन्द्रको मतपेटिकामा भएको मत मिसाएर गन्नुपर्ने आयोगले प्रष्ट पारेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले एउटा गाउँको मात्र एक ठाउँमा राखेर गन्न नमिल्ने व्यवस्था रहेको बताए । ‘कुन ठाउँबाट कति मत आयो भन्ने कुरा थाहा नहुने गरी मिसाएर गन्नुपर्छ । यसअघि पनि यो अभ्यास भइसकेको हो’ उनले भने, ‘स्थानीय चुनावमा जस्तोृ प्रत्येक वडाको अलगअलग गन्नु हँुदैन, यसले मतदाताको गोप्यताको रक्षा हुन सक्दैन ।’

कुन गाउँबाट कति भोट आयो भन्ने थाहा हुँदा चुनावपछि त्यसले कतिपय ठाउँमा असर गर्ने निष्कर्ष निकाल्दै निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी मतदान केन्द्रका मतपेटिका मिसाएर गन्ने व्यवस्था गरेको छ । कसरी मिसाउने भन्ने निर्णय गर्ने अधिकार भने सम्बन्धित क्षेत्रका उम्मेदवारको सहमतिमा मुख्य निर्वाचन अधिकृतसँग हुनेछ ।

मतपेटिका यसरी राखिन्छ

यसैबीच निर्वाचन आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका मतपेटिका सुरक्षाप्रति शंका लागे राजनीतिक दलले आफ्ना प्रतिनिधि राख्न चाहेमा तोकिएको ठाउँमा बस्न सक्ने जनाएको छ ।

मतपेटिकाको सुरक्षामाथि विशेष गरी वामपन्थी गठबन्धनका नेताहरुले प्रश्न उठाएका छन् । पहिलो चरणमा निर्वाचन हुने क्षेत्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष नियन्त्रण, निर्देशन, अनुगमन र व्यवस्थापनमा रहने प्रवक्ता ढकालले बताए ।

मतपेटिका राखिएको ठाउँमा दलले आफ्ना प्रतिनिधि पनि राख्न चाहेको तोकिएको ठाउँमा बस्न सकिने उनले जानकारी दिए । ‘मतपेटिका राखिएको कोठामा सिलबन्दी गरिन्छ । त्यहाँ सिलबन्दी गर्नुअघि उम्मेवारका प्रतिनिधिहरुको रोहबरमा राखिन्छ’ ढकालले भने, ‘कोठाको वरिपरी राजनीतिक दलको पनि सिलबन्दी हुन्छ । जसरी यसअघि मतगणना गर्नुअघि सिलबन्दी गरिन्थ्यो त्यहि बिधी अपनाइने हो, राख्ने अवधिमात्र बढि हुने हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओली मतपेटिका सुरक्षामा प्रश्न उठाउँदै आफ्ना कार्यकर्ताले चौबिसै घण्टा निगरानी गर्ने बताएका थिए । सरकारले चुनावको मुखैमा सीडीओ र प्रहरी प्रमुखहरुको सरुवा गरेकाले मतपेटिका सुरक्षामा चासो दिइएको ओली निकट स्रोतले जनाएको छ ।

माओवादी नेता वर्षमान पुनले पनि मतपेटिका राखिएको ठाउँमा दलका कार्यकर्ता राख्नेबारे कुरा भइरहेको बताए । ‘दश दिनसम्म मतपेटिका कुर्ने कुरा सामान्य होइन । तर पनि हामीले निगरानी गर्नुपर्ने अवस्था छ’ उनले भने ।

कांग्रेस नेता बालकृष्ण खाँडले भने मतपेटिका सुरक्षाको जिम्मा मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायको भएकाले यसमा अनावश्यक शंका गरिरहनु नपर्ने बताए । उनले मतपेटिका राखिएको ठाउँमा आफ्ना कार्यकर्ता पनि राख्नेबारे छलफल नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment