Comments Add Comment

म्याग्दीका दुईवटा मतदान केन्द्र अपांगमैत्री


९ मंसिर, म्याग्दी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका दुईवटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ ।

अशक्त तथा अपांगता भएकालाई मतदान गर्न सहज होस् भनेर दुईवटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको हो । बेनी नगरपालिकास्थित बेनी सामुदायिक मावि र धौलागिरि मावि सिंगालाई अपांगमैत्री मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता खेमराज पाठकले बताए ।

‘दुईवटामै आवश्यक तयारी पूरा भएको छ, सबै मतदान केन्द्रमा यो सुविधा सम्भव छैन’, पाठकले भने । उनका अनुसार अपांगता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियरमा गुडाएर पु्ग्न सक्ने गरी र्याम्प निर्माण गरिएको छ ।

अपांगता भएका व्यक्तिलाई अन्य मतदाताझै मतदान केन्द्रमा पुग्न सक्ने अवस्था नरहने भएकाले मताधिकार दुरुपयोग गरिने, आवतजावतमा समेत सास्ती हुने भएकाले पनि र्याम्प निर्माण गरिएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए ।

‘अपांगता भएकालाई अन्य केही मतदान केन्द्रमा पनि सहजै मतदान गर्न सकिने संरचना रहेका छन्,’ उनले भने । जिल्लाका मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

जिल्लाका सबै १०६ मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई ज्येष्ठ नागरिक, अपांगता भएका र बिरामी मतदातालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ ।

आफन्तको सहयोगमा मतदान केन्द्रसम्म आइपुग्ने भए पनि मतदान प्रक्रियामा आफैँ मतदानस्थलसम्म पुगेर मत खसाल्ने व्यवस्था छ । अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले मताधिकार सुनिश्चित गर्नका लागि जिल्लाभरका सबै मतदान केन्द्रलाई अपांगमत्री बनाइनुपर्ने माग विस्तारै पूरा हुँदै गएको बताए ।

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । तीमध्ये ३९ हजार ४३५ महिला, ३६ हजार १०२ जना पुरुष र एकजना तेस्रोलिंगी छन् ।

एउटा निर्वाचन क्षेत्र रहेको यो जिल्लाको प्रदेशसभा (क) मा ४२ हजार ९९३ र (ख) मा ३२ हजार ५४५ मतदाता छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभातर्फ गरी कुल १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैबीच, जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि चुनावमा खटिएका कर्मचारी मतदानस्थल र केन्द्रमा पुगेका छन् ।

निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्री लिएर कर्मचारी म्याग्दीका सबै मतदान केन्द्रमा पुगिसकेको र निर्वाचनको तयारीमा लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानस्थल र मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय, सर्वपक्षीय बैठकको आयोजना गरी निर्वाचनको कामलाई अगाडि बढाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले जानकारी दिए । उनका अनुसार निर्वाचनमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गरेका छन् ।

निर्वाचन सम्पन्न गराउनका लागि १०६ जना मतदान अधिकृत, १०६ जना सहायक मतदान अधिकृत, ४२३ जना सहायक कर्मचारी, २१२ जना कार्यालय सहयोगीसहित सुरक्षाकर्मीबाहेक कुल ८४७ जना कर्मचारी खटिएका छन् । यसैगरी ४२२ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गर्नुपर्ने प्रावधान छ ।

निर्वाचनका लागि म्याग्दीमा सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताए । अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलको आधारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र म्यादी प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment