Comments Add Comment

पाल्पाका उम्मेदवारलाई ‘भोट’को चिन्ता, जनतालाई ‘घर’

मतदाता भन्छन्– जसले दिन्छ ओत, उसैलाई भोट


९ मंसिर, पाल्पा । चुनावी सरगर्मी बढ्दै जाँदा गाउँगाउँमा विभिन्न दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसार पुगेका छन् ।

दलका नेता कार्यकर्तालाई चुनावी रौनकताले छाएको छ भने पाल्पा सहलकोटका भूकम्पपीडितलाई भने घर बनाउने चिन्ताले सताएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पले सहलकोटको सुकेकोट क्षेत्रमा ५७ घरमा क्षति पुगेको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि यहाँका पीडितले अहिलेसम्म घर बनाउने अनुमति पाएका छैनन् । अहिले निर्वाचनका बेला गाउँ पसेका नेता कार्यकर्तालाई उनीहरु भन्छन्, ‘जसले घर पुनःनिर्माणका लागि पहल गर्छ, उसैलाई भोट दिने छु ।’

भूकम्पले सहलकोटको सुकेकोटमा ठूलो भौतिक क्षति पुगेको थियो । तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री एवं हाल वाम गठबन्धनबाट क्षेत्र नं १ पाल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार दलबहादुर रानाले यस गाउँलाई नमूना बस्तीका रुपमा विकास गर्न पहल गर्ने स्थानीयलाई आश्वासन दिए पनि अहिलेसम्म घर पुनः निर्माणको प्रक्रिया अगाडि नबढ्दा स्थानीय आक्रोशित बनेका छन् ।

यहाँका मतदाता भन्छन्, ‘जस्ले घर पुनःनिर्माणका लागि प्रतिबद्धता जनाउँछ, उसैलाई निर्वाचनमा मतदान गर्छौं ।’ पुनः निर्माणका लागि पहिलो किस्ता आए पनि प्राविधिक अहिलेसम्म गाउँ फर्केका छैनन् ।

देश यतिबेला चुनावमय बनेको छ तर यहाँका स्थानीवासीलाई भने अबको हिउँदको जाडो कसरी कटाउने भन्ने पिरलो छ । चुनावका बेला गाउँमा आएका नेतासँग भूकम्पपीडितले घर बनाउन पहल छिटो गरिदिन माग गरिरहेको स्थानीय युवा उमेशकुमार गाहा बताउँछन् ।

मनबहादुर रानालाई जाडो लागिसकेको हुँदा अबको हिउँदको समय रात कसरी कटाउने भन्ने मनमा भारी चिन्ता छ । उनका चार छोराछोरी र वृद्ध बुबा छन् । चिसोको कारण रात बिताउन गाह्रो भएको रानाले बताए ।

टहरामा बास बस्दै आउनुभएका गोवद्र्धन दर्जी अघिल्लो वर्षको जाडोमा चिसोकै कारण लामो समयसम्म बिरामी परे । ‘जताततै चुनाव लाग्यो, हामीलाई त चुनावको भन्दा पनि घर कहिले बन्ला भन्ने पिरले सताउन थालेको छ,’ उनी भन्छन्, ‘टहराबाट निस्किएर घरमा ओत लागेर रात कटाउन पाए चिसोले सताउने थिएन ।’

सरकारले पुनःनिर्माण प्राधिकरणले गरेको सर्वेक्षणअनुसार सुकेकोट क्षेत्रमा ५७ घर पुनःनिर्माण गर्नुपर्ने देखिन्छ ।

दुई तिहाइलाई पहिलो किस्ता

पाल्पाका भूकम्प प्रभावित परिवारमध्ये दुई तिहाइ पीडित परिवारलाई पुनःनिर्माणअन्तर्गतको पहिलो किस्ता प्रदान गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्यांकअनुसार पाल्पामा चार हजार ६५२ घर पुनःनिर्माणका लागि छनोट भएको थियो । जिल्ला समन्वय समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाका अनुसार पाल्पाका झण्डै दुई तिहाइ परिवारलाई पहिलो किस्ताको रकम ५० हजार वितरण गरिएको छ । अन्य बाँकी केहीको कागजी प्रक्रिया नमिल्दा पहिलो किस्ता रोकिएको उनले जानकारी दिए ।

साथै जिल्लाका केही स्थानमा पुनःनिर्माणका लागि सिकर्मी तालीम सम्पन्न भइसके पनि पुनःनिर्माण प्राधिकरणले अझै प्राविधिक जिल्लामा खटाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment