+
+
Shares

रुपन्देही ३ मा घनश्याम भुसाललाई पछ्याउँदा

शालिकराम भण्डारी शालिकराम भण्डारी
२०७४ मंसिर १० गते १७:०२

नेपाल ‘समाजवादोन्मुख’ चरित्र भएको संविधान कार्यान्वयनको डिलमा उभिएको छ । संविधान कार्यान्वयनको अनिवार्य संवैधानिक प्रक्रिया प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आगामी मंसिर २१ गते हुँदैछ ।

समाजवादको गन्तव्य निर्धारण गरेको हाम्रो राजनीति र उक्त राजनीतिलाई मार्गनिर्देश गर्ने आगामी निर्वाचनमा प्रस्तुत सबैजसो दलका उम्मेदवारहरु, उनीहरुका एजेण्डा, चुनावमा लड्ने तौरतरिका, सोचाइ, चुनाव खर्च, खर्चका श्रोतहरु आदिबीच कहीँ संगति मिल्दैन ।

उनीहरु असंगतिपूर्ण र समाजवादलाई पटक्कै सहयोग नहुने पुरानै ढर्रामा मत मागिरहेका छन् । अर्थात्, उनीहरुलाई अबका सबै गतिविधि ‘समाजवादको तयारी’लाई ध्यानमा राखेर गरिनुपर्छ भन्ने अत्तोपत्तो छैन ।

तर, रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता घनश्याम भुसाल अपवाद रहेका छन् । उनको शक्ति विचार हो, एजेण्डा विकास हो ।

उक्त विचार र विकासलाई उनकै भाषामा बुझिदिने, आत्मसात गरिदिने कार्यकर्ता र मतदाता हुन् । यहाँका कार्यकर्ता र मतदाताहरु फराकिलो सोच राख्दछन् । कार्यकर्ता र मतदाताहरुविकासलाई बृहद् अर्थमा सोच्दछन् ।

यहाँ एउटामात्र बाटो होइन धेरै बाटाहरु, एउटा मात्र धारा होइन धेरै धाराहरु, एउटा मात्र रोजगारी होइन धेरै रोजगारीहरु, एउटा मात्र क्षेत्रको विकास होइन, समग्र विकासका कुराहरु, एउटा मात्र शैक्षिक संस्था होइन धेरै संस्थाहरु, एउटामात्र अस्पताल होइन धेरै अस्पतालहरु, मेरो मात्र स्वार्थहोइन हाम्रा स्वार्थहरु, मेरो सुखदुःख मात्र होइन हाम्रा सुखदुःखहरु, एउटा जातिमात्र होइन सबै जातिहरु, स्थान विशेष मात्र होइन मुलुकभरका समस्या र तिनका समाधानका कुरा गरिन्छ ।

यहाँका कुराहरु सुनेपछि र गतिविधिहरु देखेपछि लाग्छ, संविधानले परिकल्पना गरेको र घोषणापत्रले तय गरेको ‘समाजवाद’को यात्रा यहीँबाट सुरु हुँदैछ। अर्थात्, यहाँ समाजवाद टुसाउँदै गरेको छ ।

निर्वाचनका गतिविधिमा सक्रिय युवाहरुले वर्तमानमा उभिएर भविष्य देख्ने कुरा गरेका छन् । विद्यार्थीहरुले गहन अध्ययन गर्ने र नैतिकवान हुने उद्देश्य राखेका छन् । बुद्धिजिवीहरु आफ्नो पेशागत जिम्मेवारीप्रति सचेत छन् ।

खेलाडीहरुले आफ्नो विधामा उत्कृष्ट बन्ने र अरु सबै खेलाडीहरुको वृत्ति विकासको चिन्ता गरिरहेका भेटिन्छन् । कलाकारहरु गीत संगीतमा पनि वैचारिकता र विकास झल्काइरहेका छन् । मतदाताहरु वैचारिक नेता र उनको शैलीको तारिफ गरिरहेका छन् ।

यसपालि यो क्षेत्रमा मत खरिद गर्न, मतदाता झुक्याउन, आश्वासन मात्र दिन, युवाहरुलाई दुरुपयोग गर्न नदिने गरी चनाखो भइरहेका छन् ।

सबैले तत्कालको लोभ, स्वार्थ होइन, सामुहिक हित, मानवीय विकास र सबै मानिसको विकास, सुखःदुखको कुरा गर्दैछन् । अर्थात् समाजवादी तरिकाले सोच्दैछन् ।

युवाहरुको भेलामा वक्ता सरिता श्रीसले भनिन्, ‘म वाम गठबन्धनमा छु, किनकि म यस गठबन्धनमा मेरो र मेरा सन्तान दरसन्तानहरुको भविष्य देख्छु ।’

यो भनाइलाई भूसालले ‘मिलियन डलर स्टेटमेन्स’ जस्तै भनेर प्रसंशा गरे । युवाहरुलाई भविष्य देख्न नदिने एकखाले राजनीति र अवस्था अहिले पनि रहेको, रुपन्देहीमा अझै बढी रहेको भन्दै उनले युवाले भविष्य देख्ने कुरा आफैंमा ‘क्रान्तिकारी’ भएको बताए ।

युवा शम्भु चौहानले वामपन्थीहरुको तालमेल र एकता प्रक्रिया भाँडिन नदिन भुसाललाई विशेष आग्रह गरे । उनले भने, ‘योे एकता प्रक्रिया भाँडिएमा हाम्रा सपनाहरु भाँडिन्छन्, गरिब र निमुखाहरुका सपना भाँडिन्छन् ।’

उनको चिन्ता निवारण गर्दै भूसालले भने, ‘यो एकता प्रक्रिया अब कसैले रोकेर रोकिन्न, भाँडेर भाँडिन्न । यो अगाडि बढिसक्यो, जनताको सम्पति भइसक्यो । नभाँडिने कुराको ग्यारेन्टी म भएँ ।’

विद्यार्थीहरु भोट माग्न र प्रचार गर्न फुर्तीका साथ लागिरहेका छन् । विद्यार्थी भेलामा एकजना विद्यार्थी भन्दै थिए, ‘यत्तिको वैचारिक र विकासको राष्ट्रिय सोच भएको उम्मेदवारको प्रचार गर्न निकै मज्जा आइरहेको छ, गर्व लागिरहेको छ’ ।

अनेरास्ववियुबाट राजनीति सुरु गरेका भुसालले विद्यार्थीहरुलाई मूलतः अध्ययनमा ध्यान दिन आग्रह गरेका छन् । आफूहरुको त्यसबेलाको चिन्ता हरेक कक्षाको प्रथम विद्यार्थी अखिलको कमिटी आवद्ध छ कि छैन भन्ने हुने गरेको स्मरण गर्दै उनी ‘नोस्टाल्जिक’ भए ।

बुद्धिजीवीहरु जान्ने मात्रै पल्टने र निजी स्वार्थको मात्र कुरा गर्ने देखिएका छैनन् । जानेको सुझाव दिन र सकेको सहयोग गर्न सबै प्रतिवद्ध देखिए । उनीहरुसँगको अन्तक्र्रियामा भारत र चीनसँगको सम्बन्ध र सुशासनको विषय गम्भिरताका साथ उठे । यी दुबै आफ्नो रुचिको विषय भएकाले गम्भीरतापूर्वक काम गर्ने भुसालले प्रस्ट्याए ।

लोक दोहोरी कलाकारहरु दीपक गरौजा र विष्णु श्रीपाइलीले गीतको भाका यस्तो बनाएका रहेछन्–

‘विचारका धनी नेता यस क्षेत्रका हस्ती,
विकासको कुरा ल्याउँदै छिर्छन् बस्ती–बस्ती..।’

स्थानीय घोषणापत्र हेर्दै चियापसलमा कुराकानी गरिरहेका भैरहवा बजारका मतदाताहरु भन्दै थिए, ‘यो घोषणापत्रमा लेखेको सबै काम गर्लान् त घनश्याम भुसालले ?’

एउटाले भन्यो, ‘घनश्यामले गर्न नसक्ने र नहुने काम गर्छु, सक्छु भन्दैनन्, यिनले लेखेपछि, बोलेपछि गर्छन् ।’

व्यापार मेला उद्घाटन गर्न भैरहवा आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भुसाल विचार र विकासका संवाहक भएकाले मतदातासँग त्यसका लागि मत मागे ।

उनले भने ‘संसदमा विचारको बहस पनि गर्नुपर्छ, विकासको योजना पनि बनाउनुपर्छ, विचार र विकास दुबै काम गर्न घनश्याम भुसालको संसदमा आवश्यकता छ, उहाँको टिमलाई विययी गराउन अनुरोध गर्दछु ।’

कार्यक्रमहरुमा मत माग्दा भुसाल पहिला प्रदेश सभाका उम्मेदवारहरु विश्वास बराल र तुलसी चौधरीलाई माग्छन् । त्यसपछि गठबन्धन र आफूलाई माग्छन् । त्यस्तै प्रदेश सभाका दुबैै उम्मेदवारहरु पहिला भुसाललाई मत माग्छन्, अनि आफूलाई माग्छन् ।

अर्थात् ‘हामी’ भावना राख्दछन् । माओवादी केन्द्रका बराल ३ (१) र एमालेका चौधरी ३ (२)का उम्मेदवार हुन् ।

भुसाल सबै मतदाताहरुसँग भनिरहेका छन्, वाम गठबन्धन ‘वेटिङ् इन गभर्नमेन्ट’ हो । हामीले घोषणापत्रमा पर्याप्त कुराहरु बोलेका छौं, हामीले जे बोल्दैछौं त्यो आउँदो सरकारको कुरा बोल्दैछौं ।

त्यसैले हामी जिम्मेवारीका साथ बोल्छौं र बोलेको कुरा पूरा गर्छौ । अरुजस्तो चुनावअघि जे पनि गरिदिन्छु भन्ने पछि केही नगर्ने गरिने छैन ।

स्थानीय मतदाताले उठाएका विकास निर्माण लगायतका सबै कामहरु समयै पूरा गर्न प्रतिवद्ध छौं । मतदातालाई उनीहरु आश्वस्त पारिरहेका छन् ।

उनले विकासका योजनालाई प्राथमिकता निर्धारण गरेका छन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल परियोजना, बेथरी—बेलवास नहरसहितको हरित सडक आयोजना, बेलहिया—बुटवल व्यापार मार्ग विस्तार आयोजना, लुम्बिनी बुद्ध परिपथ निर्माण आयोजना, कोरला नाकादेखि सुनौली सडक एवं काली गण्डकी करिडोर आयोजना, हुलाकी राजमार्गलाई चार लेन बनाउने आयोजना, सिद्धार्थनगरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम पूरा गर्ने, केरुङ्ग—पोखरा—लुम्बिनी रेलमार्ग आयोजना, काली गण्डकी बहुउद्देश्यीय डाइभर्सन आयोजना, तिनाउ करिडोरको विकास कार्यक्रम, सीमाक्षेत्रमा निर्मित विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा ल्याउने कार्य, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, रूपन्देही क्याम्पस लगायत सरकारी र सामुदायिक क्याम्पसहरूलाई साधन स्रोत र गुणस्तरीय बनाउने लगायतका योजना रहेका छन् ।

भुसालको मतदाता भेट्ने र कुराकानी गर्ने रफ्तार पहिलेका चुनाव भन्दा बढेको छ । सबै मतदाताहरु भेट्ने अनि विचार, विकास र समृद्धिका खाका अनुमोदन गराउने उनको ध्येय देखिन्छ । उनी यसपालि सफल हुनेमा ढुक्क देखिन्छन् ।

वामगठबन्धनले जित्नुपर्ने आवश्यकतालाई औंल्याउँदै भुसाल भन्छन, ‘सामान्य अवस्थामा एउटा प्रश्नको उत्तर एउटा मात्र हुने गर्छ । तर इतिहासको खास अवस्थामा हजारौं प्रश्नहरुको जवाफ पनि एउटै हुने गर्छ ।’

जसरी पञ्चायतका बेला स्वास्थ्य, शिक्षा, रोजगारी, शोषण, अत्याचार, गरिबी आदि सबै (समस्या) प्रश्नहरुको एउटै उत्तर ‘पञ्चायतको अन्त्य’ थियो ।

२०६२/६३मा ‘राजतन्त्रको अन्त्य’ थियो । त्यसैगरी अहिलेका सबै (समस्या) प्रश्नहरुको एउटै समाधान (उत्तर) ‘वाम गठबन्धनको अत्यधिक बहुमतको सरकार’ हो । स्वास्थ्य, शिक्षा, रोजगारी, गरिबी, विकासका बारेमा चिन्तित मतदाताहरुलाई उनी यसरी समाधानको सुत्र बताइरहेका छन् ।

चुनावका बेला जसरी पनि जित्ने फर्मुला प्रयोग नगरे पछि परिँदैन ? केही कार्यकर्ताको आशंकालाई मेटाउँदै उनी भन्छन्, ‘चुनाव जित्नुपर्छ, जितिन्छ तर जसरी पनि होइन । जनताका सामु एजेण्डा राखेर, जनतालाई कुरा बुझाएर, राजनीतिक प्रणालीलाई बलियो बनाएर, विधि र प्रक्रियासहितको जीत हासिल गर्ने हो ।’ यसले लोकतन्त्रलाई बलियो बनाउँछ ।

नेकपा एमाले र माओवादी केन्द्र दुबैले राजनीतिक प्रतिवेदनमा नेपालमा पुँजीवादी क्रान्ति मौलिक ढंगले पूरा भइसकेकाले अब तीब्र आर्थिक विकास गर्दै ‘समाजवादको तयारी’ गर्ने भनेको छ । दुबै पार्टीले स्वीकारेको यो विचार घनश्याम भुसालको अगुवाइमा स्थापित भएको हो ।

यही वैचारिक आधारमा समाजवाद उन्मूख संविधान निर्माण भयो । संविधान कार्यान्वयनका लागि वाम तालमेल हुँदै पार्टी एकता हुने अवस्था बनेको छ । समाजवादी विशेषतासहितको संयुक्त घोषणा पत्र जारी भएको छ ।

यो अवस्था समाजवादी कार्यशैली, सोच र अभ्यासका लागि अनुकूल अवस्था हो । चुनावी गतिविधि हेर्दा उनले समाजवादका लागि आवश्यक कार्यशैली, सोच र अभ्यास पनि आफैंबाट सुरु गर्न चाहेको बुझ्न सकिन्छ । चुनावमात्र होइन, अन्य क्रियाकलापहरुमा पनि उनी त्यही अभ्यास गर्दैछन् । रुपन्देहीमा त्यसको प्रभाव देखिँदैछ ।

वाम र लोकतान्त्रिक दुबै गठबन्धनको चुनावी घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादको अभ्यास गरिने उल्लेख छ । घोषणा पत्रमा भनेझैं समाजवादको अभ्यास गर्ने हो भने आजैदेखि त्यसका आधारभूत कुराहरु आत्मसात गर्नु र अभ्यस्त हुँदै जान जरुरी हुन्छ ।

हाम्रा प्रत्येक गतिविधिमा त्यो अभिव्यक्तहुनुपर्छ, देखिनुपर्छ । हाम्रो राजनीति, अर्थनीति, भाषा, कला, साहित्य, कार्यशैली, बचन, लेखन, अध्ययन, कामको केन्द्र, चिन्तन, सोच आदि सबै ल्याउन चाहेको समाजवादलाई सहयोग पुर्‍याउने खालको हुनुपर्छ ।

अर्थात्, आधार र उपरीसंरचना दुबै समाजवाद अनुकूल बनाउँदै जानुपर्छ । हाम्रो सोचाइ ‘म’ बाट होइन, ‘हामी’बाट सुरु हुन आवश्यक छ ।

तर, कहिलेकाँही समयले कस्तो संयोग जुराइदिन्छ भने, जनता त्यसको भद्दा मजाक हेर्न बाध्य हुन्छन् । समाजवादी कार्यशैली, सोच र अभ्यासको बीऊ टुसाउन प्रयत्नशील भुसालको चुनावी प्रतिस्पर्धी भने दीपक बोहरा परेका छन् ।

रुपन्देही–३ का मतदाता मंसिर २१ गतेसम्म संयोगले जुराइदिएको यही मजाक हेर्न र सहन बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?