Comments Add Comment

वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

विज्ञ भन्छन्– मेलम्चीकाे पानी अाउनुअघि ढल बनाऊ


११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ ।

पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ समस्या जटिल बन्ने बताउँछन् । अहिले उपत्यकामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्रणालीमार्फत् पानी आपूर्ति दैनिक थोरै परिमाणमा भइरहेको छ ।

तर, मेलम्चीसँगै एकैपटक १७ करोड लिटर पानी काठमाडौंमा आउन थाल्नेछ । अहिले दैनिक १० देखि १५ करोड लिटर पानी आपूर्ति भइरहेको छ ।

त्यसमध्ये ८५ देखि ९० प्रतिशत पानी उपयोगपछि काठमाडौंको ढल प्रणालीमा पुग्नेछ । तर, अहिले ढल प्रणालीले २९ करोड लिटर पानीसहितको लेदो थेग्न सक्दैन ।

ढलमा ठोस पदार्थसहितको पानी आउने छ । र, त्यसको चाप ह्युमपाइपमा पर्छ । हाल बिछ्याइएका ढलका पाइप जोडिएको ठाउँमा फुट्ने र छुट्ने समस्या देखिने विज्ञहरु औल्याउँछन् ।

काठमाडौं महानगरपालिकाका शहरी विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार उपत्यकामा परम्परागत ढल प्रणाली अझै विस्थापित भएको छैन । पूरानै प्रणाली मर्मत गरेर काम चलाइएको छ ।

ठमेल, असन, इन्द्रचोक, वसन्तपुर, पाटनलगायत क्षेत्रमा अझै पनि राणाकालीन ढल प्रणाली छन् । जुन, पटक–पटक जाम भएर नागरिकले सास्ती बेहोर्दै आएका छन् ।

काठमाडौंमा सेफ्टी ट्यांकी नराखी बनाइएका हजारौं घर छन्, जसका कारण शौचालयको फोहोर पनि सीधै ढलमा मिसिन्छ ।

मेलम्चीको आगमनसँगै पानीको उपयोग एकाएक बढ्नेछ र ढल प्रणालीमा ठूलो चाप थपिनेछ । मेलम्ची आएपछि काठमाडौंको ढल प्रणालीको क्षमता र गुणस्तरको वास्तविक परीक्षण हुने विज्ञहरु बताउँछन् ।

अहिले नै विभिन्न स्थानका सडकमा ढल फुटेर हिँडिनसक्नु छ । रत्नपार्क र जमल क्षेत्र सुख्खायाममै ‘ढलमग्न’ छन् । खुलामञ्च र दरबार हाइस्कुल अगाडिको क्षेत्रमा ढल सडकमा बाहिरिँदा पनि सरोकारवाला निकायको आँखा पुगेको छैन ।

हिउँदमै यो हालत छ, वर्षामा त काठमाडौंको अवस्था के होला ? पूर्वाधार विज्ञ आचार्य मेलम्ची काठमाडौं आएपछि ढल फुटेर सडकभरि हुनसक्ने अवस्थालाई कसैले ध्यान नदिएको बताउँछन् । भन्छन्, ‘ढल निकासको राम्रो प्रबन्ध नभएका कारण भोलि के हुन्छ भन्ने कुनै निकायमा मतलव देखिँदैन ।’

सरकारी अध्ययनअनुसार राजधानीको मुख्य २२ स्थानमा वर्षामै ढल र पानीको पाइप फुटेर सडक अस्तव्यस्त रहन्छ । प्रधानमन्त्री कार्यालयका अनुसार सुन्धारादेखि भोटाहिटी, जमल, नारायणगोपाल चोक, चाबहिलदेखि गोपीकृष्णचोक, तीनकुनेदेखि कोटेश्वर, थापाथलीदेखि माइतीघरमा ढल सडकमा आइपुग्ने समस्या व्यापक छ ।

यस्तै, नक्सालदेखि भगवतीबहाल, गौशालाको जयबागेश्वरी, लैनचौर र सोह्र्खुट्टेमा पनि ढल तथा पानी चुहिने समस्या छ । पुतलीसडकदेखि कृष्ण पाउरोटी, कमलादीदेखि त्रिचन्द्र्र क्याम्पस, रातोपुल, गौशाला र हात्तीसारको जयनेपाल हलनजिक पनि ढल लिकेजको समस्या ज्यादा देखिने गरेको सडक विभाग बताउँछ ।

  ८५ देखि ९० प्रतिशत पानी लेदोसहित ढलमा पुग्नेछ र हालको प्रणालीले ठोस पदार्थसहितको २९ करोड लिटर पानी थेग्न सक्दैन

फुटेका ढल मर्मतको जिम्मा केयूकेएल र ढल निकास विभाग हो । काठमाडौं महानगरपालिकाले पनि यसमा काम गर्न सक्छ ।

तर, खानेपानीकै बिलमा ढल व्यवस्थापनको रकम जोडिने भएकाले आफूहरुले उक्त प्रणालीमा काम गर्न नसकेको महानगरपालिकाका विभागीय प्रमुख रेग्मी बताउँछन् ।

‘तर पनि, हामीले समाधानको प्रयास गरिरहेका छौं । कसको जिम्मा हो भन्नेभन्दा नागरिकलाई परेको पीरमर्का हेरेर ढल व्यवस्थापनमा सक्दो काम गरिरहेका छौं,’ रेग्मी भन्छन् ।

ढल फुट्ने क्रम तीव्र भएका कारण भर्खरै कालोपत्रे गरिएका सडक लामो समय नटिक्ने समस्या बढेको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल बताउँछन् ।

‘कालोपत्रे गरिएका सडकलाई मुख्य रुपमा प्रभाव पार्ने पानीले नै हो । लगातार पानी जमेर सडकमा रहिरहँदा कालोपत्रको आयु घट्छ र खाल्डो पर्न थाल्छ,’ सिग्देल भन्छन्, ‘पछि साना खाल्डा ठूलो हुँदै जान्छन् । खानेपानी र ढल सडकमा फुटेर महिनौं हुँदा पनि मर्मत नहुने समस्या चर्को छ ।’

मेलम्ची आएपछि काठमाडौंका होचा स्थानहरुमा ढलको समस्या विकराल बन्नेछ । पानी सुस्तरी बग्ने क्षेत्रमा ढल फुटेर डुबानकै समस्या पनि निम्तिन सक्ने विज्ञहरु बताउँछन् ।

त्यसबेला काठमाडौंमा खोला, नदी र खोल्सामा पनि पानीको सतह बढ्नेछ । सोही कारण होचा बस्तीमा छिट्टै पानी पस्ने र डुबानको जोखिम छ ।

अहिले नै ढलको पाइपका जोर्तीहरु फुटेर ढल चुहिने समस्या छ । अब पूराना र साना पाइप हटाएर अनिवार्य आधुनिक प्रविधिका ठूला पाइप जडान गर्नुपर्छ ।

काठमाडौंमा सडकसहितका ठूला पूर्वाधार निर्माण तीव्र छ । त्यसमाथि अधिकांश स्थानमा नाला खुला छाडिएको छ । वर्षामा निर्माणजन्य फोहोर गिटी, बालुवा र ढुंगा पनि ढलमै बग्ने अवस्था छ ।

प्लास्टिकजन्य ठोस फोहोर पनि ढलमै आउने अवस्था छ । नकुहिने र ठोस फोहोर पनि ढलमै बगाउने काठमाडौंका बासिन्दाको बानी आगामी दिनमा चुनौती बन्ने सम्भावना छ ।

पुराना र साना पाइप हटाएर अनिवार्य आधुनिक प्रविधिका ठूला पाइप जडान गर्नुको छैन विकल्प

अहिले महिनौं ढल जाम भए पनि सडकमा फोहोर र दुर्गन्ध हुनेबाहेक नागरिकलाई खासै फरक पर्दैन । तर, मेलम्ची आएपछि पानीको बहाव ठूलो मात्रामा हुँदा कतै ढल रोकिनासाथ धेरै स्थानमा त्यसको प्रभाव तत्काल देखिनेछ ।

काठमाडौंका ढलमा दुई मिटरसम्म गोलाइका ठूला पाइप जडान गरिएको छ । ती पाइपले प्रतिमिनट एकदेखि डेढ करोड लिटर पानी मात्र थेग्न सक्छन् । मेलम्चीका कारण अहिलेभन्दा पाँच गुणा चाप थपिनेछ ।

अधिकारसम्पन्न एकीकृत वागमती सभ्यता विकास समितिमार्फत् नदी र खोलाका करिडोरहरुमा ढल निकासका लागि ह्युमपाइप बिछ्याउने काम भइरहेको छ । तर, कामको गति निकै सुस्त छ ।

सन् २०२० सम्ममा सबै करिडोरमा पाइप बिछ्याएर ढललाई प्रशोधन गर्दै खोला र नदीमा मिसाउने योजना छ । तर, त्यो लक्ष्य भेट्न मुस्किल पर्ने समितिकै अधिकारीहरु बताउँछन् ।

मेलम्चीको पानी ढिलोमा आगामी दशैंसम्म आइसक्ने भएकाले अर्काे तीनदेखि पाँच वर्षको अवधि ढल व्यवस्थापनका हिसाबले चुनौतीपूर्ण हुने देखिएको छ । त्यसपछि पनि मुख्य शहरी क्षेत्रको ढलको समस्या वर्षौंसम्म कायम रहन सक्ने देखिएको छ ।

मेलम्चीमै यांग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी मिसाएर काठमाडौं ल्याउने योजना छ । ढल व्यवस्थापनमा भइरहेको बेवास्ता निकट भविष्यमै शहरको ठूलो समस्या बन्ने कुरामा भने कुनै शंका छैन ।

मेलम्चीको पानी घर–घरमा पुर्‍याउन निर्माण गरिएको प्रणालीका पाइप ढलभन्दा मुनि बिछ्याइएको छ । कतिपय ठाउँमा ढलको पाइप नै निकालिएको छ ।

यसबारे कुनै निकायले अनुगमन गरेका छैनन्, जसका कारण मेलम्ची आएपछि समस्याले विकराल रुप लिने विज्ञहरु बताउँछन् । खानेपानीका पाइप ढलभन्दा मुनि राखिनु गलत भएको उनीहरुको भनाइ छ । ढल फुट्दा त्यहाँबाट बाहिरिने फोहोर सीधै पिउने पानीमा मिसिने समस्या आउने उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment