Comments Add Comment

प्रदेश ४ को चुनावः कम जनसंख्या भएका जिल्लामा बढी मत खस्यो

 

११ मंसिर, पोखरा । प्रदेश ४ का ६ जिल्लामा मतदान त सकियो । तर, दोस्रो चरणको चुनावपछि मात्र मतगणना हुने भएकाले उम्मेदवारको बेचैनी कम भएको छैन । मतदान सम्पन्न भएका ६ जिल्लाबाट प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सदस्य चुनिनेछन् ।

अहिले मतपेटिका संकलनको काम भइरहेको छ । केही मतदानस्थलबाट कडा सुरक्षाबीच मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइसकिएको छ भने केही आज पुग्दैछन् । दोश्रो चरणको निर्वाचन नसकिँदासम्म मतपेटिका सुरक्षाकर्मीहरुको घेरामा रहनेछन् ।

प्रदेश ४ मा ६७ प्रतिशत मत खसेको छ । आइतबार निर्वाचन भएका ६ जिल्लामा प्रदेश तथा प्रतिनिधिसभामा जम्मा ६७ प्रतिशत मतदाताले मात्र मतदान गरेका हुन् । बाग्लुङ, म्याग्दी, मुस्ताङ, लमजुङ, गोरखा र मनाङमा आइतबार निर्वाचन भएको हो । ६ जिल्लामा कुल मतदाताको संख्या ५ लाख ६३ हजार २४ थियो । तर, ३ लाख ७७ हजार २४० जनाले मतदान गरेका छन् ।

सबैभन्दा कम जनसंख्या भएका जिल्लामा बढी मत खसेको छ । नेपालकै सबैभन्दा कम मतदाता रहेको मनाङमा ७३ प्रतिशतले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृत दीपक ढकालका अनुसार मनाङमा ४ हजार ३ सय २१ जनाले मतदान गरेका छन् ।

यहाँ कुल ५ हजार ८ सय ८१ जना मतदाता थिए । भौगोलिक रुपमा विकट र हिमाली जिल्ला भएको कारण केही मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइनेछ ।

मनाङको उच्च भेगमा हाइ अल्टिच्युडका कारण एक सुरक्षाकर्मी बिरामी भएर फर्किएका थिए । तापक्रम माइनसमा पुगेका थियो । ‘चिसोको निकै चुनौती थियो, उच्च क्षेत्रमा छिटो नै मतदान सकियो’ ढकालले थपे, ‘उच्च हिमाली भेगमा रहेका देखि जिल्लाका सबै २८ वटै मतदान केन्द्रका मतपेटिका भोलिसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्छन् ।

अर्को हिमाली जिल्ला मुस्ताङमा ७१ प्रतिशत मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताएका छन् । यहाँ १ जना तेश्रोलिङ्गी मतदाताले पनि मतदान गरेका छन् । यहाँ कुल ९ हजार ४ सय २७ जना मतदाता रहेका थिए ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा कायम रहेको मुस्ताङमा पनि अपेक्षा भन्दा बढि मत खसेको हो ।
प्रतिनिधिसभामा २ निर्वाचन क्षेत्र रहेका गोरखा र बाग्लुङमा भने कम मत खसेको छ ।

गोरखाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार ६० प्रतिशत मत खसेको छ । प्रदेशमै सबैभन्दा बढि मतदाता भएको गोरखामा भने सबैभन्दा कम मत खसेको हो ।

सुरक्षा संवेदनशीलता र हेभिवेट नेताको प्रतिस्पर्धाले तरंगित गोरखामा निर्वाचन भने शान्तिपूर्ण रुपमा सकिएको छ । क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार भएकाले संवेदनशील मानिएको गोरखामा निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको पौडेलले बताए । स्थानीय निर्वाचनमा झण्डै ७१ प्रतिशत मत खसेको गोरखामा प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा २० हजार मतदात थपिँदा मत भने करिब ६३ प्रतिशत खसेको अनुमान जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँ कुल १ लाख ८९ हजार ४४८ मतदाता रहेका थिए । गोरखाका उपल्लो क्षेत्रका २८ मतदान केन्द्रका मतपेटिकाहरु हेलिकप्टरबाट संकलन गर्ने काम भइरहेको छ ।

लमजुङ, बाग्लुङ र म्याग्दीमा समान ६५ प्रतिशत मत खसेको छ । सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतहरुले ६५ प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको बताए । म्याग्दीमा १ जना तेश्रोलिङ्गीले पनि मतदान गरेका छन् ।

‘हामीसँग अहिलेसम्म प्राप्त भएको सूचना अनुसार ६५ प्रतिशत मत खसेको छ’ बाग्लुङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले भने, ‘सबै ठाउँको अपडेट गर्दा ६५ प्रतिशत भन्दा केही माथि जान्छ कि भन्ने आँकलन छ ।’

स्थानीय तहमा मतदान गरेका मतदाताले सोही मतदाता परिचयपत्रको आधारमा र पहिलोपटक चुनावमा भाग लिने मतदाताले नयाँ मतदाता परिचयपत्रको आधारमा मतदान गरेका थिए ।

यी जिल्लामा क्रमशः १ लाख १५ हजार ४ सय ४९, १ लाख ६७ हजार २ सय ८२ र ७५ हजार ५ सय ३७ मतदाता रहेका थिए ।

बाग्लुङको उत्तरी तथा विकट क्षेत्रका मतपेटिका सुरक्षा घेराका बिच सोमबार मात्रै ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जनाए ।

प्रदेश ४ का बाग्लुङ र गोरखाबाहेकका अन्य जिल्लामा १ प्रतिनिधिसभा तथा २ प्रदेशसभा सिट छन् । म्याग्दी, मुस्ताङ, लमजुङ, र मनाङमा प्रतिनिधिसभाको लागि एकएक सदस्य निर्वाचित हुनेछन् भने प्रदेशसभामा २/२ सदस्य निर्वाचित हुनेछन् ।

बाग्लुङ र गोरखामा प्रतिनिधिसभाको लागि २/२ र प्रदेशसभाको लागि ४/४ उम्मेदवार निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment