Comments Add Comment

काठमाडौंमा दुई तिहाइ जित्ने वाम-कांग्रेसको दाबी, विवेकशील भन्छ- राष्ट्रिय पार्टी भइन्छ !

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेस र वाम गठबन्धन दुबैले काठमाडौं जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा दुई तिहाई सिट आफूले जित्ने दाबी गरेका छन् । विवेकशील साझा पार्टीले भने आफू राष्ट्रिय पार्टी बन्ने निश्चित भइसकेको दाबी गरेको छ ।

काठमाडौंमा प्रतिनिधिसभाका १० सिटका लागि १७१ जना उम्मेदवार छन् । प्रदेशसभाका २० सिटका लागि काठमाडौं जिल्लामा २२२ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।

अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेस र वाम गठबन्धनबीच नै प्रतिस्पर्धा हुने मानिएको छ । केही सिटमा भने विवेकशील साझा पार्टीका उम्मेदवारलाई पनि प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

कांग्रेस र वाम गठबन्धन दुबैले प्रतिनिधिसभामा ८/८ सिट जित्ने दाबी गरेका छन् भने २ सिटमा प्रतिस्पर्धा हुने बताएका छन् । प्रदेशसभातर्फ भने कांग्रेसले १६ र एमाले-माओवादी गठबन्धनले १८ सिटको परिणाम आफ्नो पक्ष्मा आउने दाबी गरेका छन् ।

कांग्रेसको दाबी कति ?

प्रतिनिधिसभातर्फ कांग्रेसले १, ३, ४, ५, ६, ८, ९ र १० जित्ने दाबी गरेको छ । २ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वाम गठबन्धनका उम्मेदवार छन् । तर, त्यहाँ पनि आफ्नो संगठन बलियो भएकाले कडा प्रतिस्पर्धा हुने कांग्रेसको दाबी छ ।

काठमाडौं क्षेत्र नम्बर ७ मा भने कांग्रेसले राप्रपाका विक्रमबहादुर थापालाई समर्थन गरेको छ ।

कांग्रेस जिल्ला सभापति सबुज बानियाँ भन्छन्, ‘स्थानीय तहको मत परिणामलाई हेरेर हुँदैन । अहिले काठमाडौंका सबै क्षेत्रमा हाम्रो अवस्था निकै राम्रो छ ।’

एमालेको दाबी पनि उस्तै

वाम गठबन्धनले पनि कांग्रेसले जस्तै काठमाडौंबाट ८ सिट जित्ने दाबी गरेको छ । उसले क्षेत्र नम्बर १, २, ३, ४, ५, ६, ७ र १० को परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ । ८ र ९ मा भने कांग्रेससँग प्रतिस्पर्धा हुने एमाले नेताको तर्क छ ।

एमाले र माओवादीवीच तालमेल हुँदा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्र माओवादीले पाएको छ । काठमाडौं १, ६ र १० मा माओवादी उम्मेदवार छन्. भने बाँकी ७ वटामा एमालेका उम्मेदवार छन् ।

एमालेले प्रदेशमा २० मध्ये १८ सिट जित्ने दाबी गरेको छ । प्रदेशमा माओवादीले ३ सिट पाएको छ भने एमाले १७ सिटमा उम्मेदवारी दिएको छ ।

एमाले काठमाडौंका अध्यक्ष कृष्ण राई भन्छन्, ‘अधिकांश ठाउँमा वाम गठबन्धनकै अवस्था राम्रो छ । अबको २/३ दिनमा अवस्था अझ प्रष्ट हुन्छ जस्तो लाग्छ ।’

विवेकशील उत्साहित

विगत ०७० सालको चुनावमा समानुपातिकतर्फ काठमाडौंबाट राप्रपा नेपालले राम्रो मत पाएको थियो । यसपटक सो स्थान विवेकशील साझा पार्टीले लिने सम्भावना देखिएको छ ।

विवेकशील साझा पार्टीका नेताहरु काठमाडौंका मतदाताको प्रतिक्रियाबाट निकै उत्साहित देखिएका छन् र आफ्नो आंकलन भन्दा राम्रो परिणाम आउने उनीहरुले बताइरहेका छन् ।

‘हामीले सोचेको भन्दा धेरै गुणा मतदाताबाट उत्साह पाएको छौं’ पार्टी प्रवक्ता सूर्यराज आचार्य भन्छन्, ‘हामीले राष्ट्रिय पार्टी बन्ने नारा दिएका थियौं, राष्ट्रिय पार्टी हुने फड्को त केही दिनअघि नै पार गरिसक्यौं, अब संसदमा सशक्त प्रतिपक्ष वा पार्टीका रुपमा कति ठूलो हुन्छौं भन्ने मात्रै हो ।’

यद्यपि आचार्यले काठमाडौंमा प्रदेश र प्रतितिनिधिसभाका कति सिट जित्ने आंकलन छ भन्ने खुलाएनन् ।

नयाँ संविधान र निर्वाचन कानून अनुसार राष्ट्रिय पार्टीको मान्यता पाउनका लागि देशभरिबाट ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ भने प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नै पर्ने हुन्छ ।

काठमाडौंमा १ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं १ मा ४२ हजार ४३० मतदाता छन् भने ७ स्वतन्त्रसहित ३२ उम्मेदवार चुनावी मैदानमा छन् । यद्यपि कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझाका रविन्द्र मिश्रलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

यो क्षेत्रको परिणाम आफ्नो पक्षमा आउनेमा तीनै उम्मेदवार ढुक्कजस्तै देखिएका छन् । स्थानीय चुनावको परिणाम हेर्दा पनि तीनै पक्षवीच ठूलो अन्तर छैन ।

कांग्रेसका उम्मेदवार प्रकाशमान यो क्षेत्रबाट दुबै संविधानसभामा निर्वाचित भएका थिए । तर, स्थानीय चुनावमा यो क्षेत्रमा कांग्रेसले आफ्नो मत संरक्षण गर्न सकेको देखिन्न । तर, स्थानीय तहको उम्मेदवारीका क्रममा देखिएको असन्तुष्टि सम्बोधन गरिएकाले आफ्नो जित पक्का रहेको कांग्रेसले बताएको छ ।

प्रकाशमानलाई विगतमा सघाएका हरिबोल भट्टराईले वीपी कांग्रेसका तर्फबाट करुवा चुनाव चिन्ह लिएर बेग्लै उम्मदेवारी दिएका छन् ।

काठमाडौं १ मा एमाले माओवादी गठबन्धनबाट माओवादीका अनिल शर्मा उठेका छन् । शर्मा यसअघि विद्यार्थी राजनीतिमै थिए । सुरुमा यो क्षेत्र गुम्ने आँकलन वाम गठबन्धनको थियो । तर, विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले पाउने धेरै मत कांग्रेसको हुने भएकाले शर्माको जित्ने सम्भावना बढेर गएको वाम नेताहरुको दाबी छ ।

विवेकशील साझा पनि यो क्षेत्रमा घरदैलोका क्रममा मतदाताबाट पाएको प्रतिक्रियाबाट निकै उत्साहित भएको छ । पार्टीका सहसंयोजक मिश्र आफैं उम्मेदवार छन् ।

प्रदेशतर्फ १ को ‘क’ मा १३ उम्मेदवार छन् । कांग्रेसका दिपेन्द्र श्रेष्ठ, वाम गठबन्धनबाट एमालेकी विष्णुकुमारी भुसाल र विवेकशीलकी समीक्षा बास्कोटा छन् ।

प्रदेशतर्फ १ ‘ख’ मा कांग्रेसका सुरजचन्द्र लामिछाने, एमालेका गणेशप्रसाद दुलाल र विवेकशील साझाका पुरुषोत्तमप्रसाद ढुंगेलसहित १४ उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं २ मा पनि त्रिपक्षीय भिडन्त

काठमाडौं २ मा ७४ हजार ७५६ मतदाता छन् भने प्रतिनिधिसभाका लागि २४ उम्मेदवार मैदानमा छन् । यद्यपि वाम गठबन्धनबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसका दीपक कुइँकेल र विवेकशील साझा पार्टीका सूर्यराज आचार्यबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

एमाले वरिष्ठ नेता नेपाल दोस्रो संविधानसभामा रौतहट १ सँगै काठमाडौं २ बाट निर्वाचित भएका थिए । तर, उनले काठमाडौं २ छाडेपछि भएको उपचुनावमा कांग्रेसका दीपक कुइँकेल निर्वाचित भए । अहिले फेरि नेता नेपालले आफूले छाडेको क्षेत्रमा कुइँकेलकै सामना गर्नुपरेको छ ।

कांग्रेसले वाम गठबन्धनका उम्मेदवार हेभीवेट भए पनि यो क्षेत्रमा आफ्नो संगठन बलियो रहेको बताएको छ । उसले चुनावी प्रतिस्पर्धामा आफू कमजोर नभएको दाबीको गरेको छ ।

तर, एमालेको आफ्नो पकड बलियो रहेको र माओवादीको समेत साथ हुने भएकाले नेता नेपालले जित्ने एमालेको दाबी छ ।

पूर्वधारविद् डा. आचार्यलाई उम्मेदवार बनाएको विवेकशील साझा पार्टी पनि यो क्षेत्रमा निकै उत्साहित देखिएको छ ।

प्रदेशतर्फ २ को ‘क’ मा ६ जनामात्रै उम्मेदवार छन् । कांग्रेसले यहाँ लोकेश ढकाललाई उठाएको छ भने वाम गठबन्धनबाट एमालेका सानुकुमार श्रेष्ठ र विवेकशील साझा पार्टीका ऋषिका भट्टराई चुनावी मैदानमा छन् ।

यस्तै ‘ख’ मा का कांग्रेसका मनहरि खड्का, एमालेका मणिराम फुयाल र विवेकशील साझाका केशव पौडेलसहित १० उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं ३ मा दुईपक्षीय प्रतिस्पर्धा

काठमाडौं क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ १७ जना उम्मेदवार छन् । कांग्रेसबाट अम्बिका बस्नेत, एमालेबाट जिल्ला अध्यक्ष कृष्णबहादुर राई र विवेकशील साझाकी सुमित्रा सिंह लामा छन् ।

यो क्षेत्रमा ५३ हजार ८२४ मतदाता छन् । यहाँ विवेकशील साझाले उम्मदेवारी दिएर उपस्थिति जनाए पनि मुख्य प्रतिस्पर्धा चाहिँ कांग्रेस र एमालेवीचमै हुने धेरैको अनुमान छ ।

प्रदेशतर्फ ३ (क) मा कांग्रेसका छिरिङ दोर्जे लामा, माओवादी केन्द्रका रुद्रबहादुर बराइली र विवेकशील साझाका रमेशकुमार पुडासैनीसहित ७ जना उम्मेदवार छन् ।

प्रदेश ३ (ख) मा १० जना उम्मेदवार छन् । कांग्रेसबाट बिमल ठकुरी, एमालेबाट रामेश्वर फुयाल र विवेकशील साझाबाट महेशकुमार श्रेष्ठ चुनावी मैदानमा छन् । प्रदेशमा वाम गठबन्धनबाट उम्मेदवार बनेका फुँयाल पूर्वसांसद समेत हुन् ।

क्षेत्र नं ४ मा गगन र राजनको रस्साकस्सी

काठमाडौं क्षेत्र नं ४ विशेष चर्चामा छ । यहाँ ६३ हजार २१५ मतदाता छन् ।

नेपाली कांग्रेसका युवा नेता गगन थापा र एमालेका डा. राजन भट्टराई उम्मेदवार भएकाले यहाँको प्रतिस्पर्धालाई रोचक मानिएको छ । यहाँ विवेकशील साझा पार्टीले सुबुना बस्नेतलाई उठाएको छ ।

पूर्वस्वास्थ्यमन्त्री थापा अघिल्लो चुनावमा पनि यो क्षेत्रबाट चुनिएका थिए । तर, स्थानीय चुनावमा पाएको मत र माओवादीसँग गठबन्धन भएका कारण एमाले निकै उत्साहित देखिएको छ । दुबै दलले यो क्षेत्र आफूले जित्ने दाबी गरेका छन् ।

प्रदेशतर्फ ४ (क) मा ८ जना उम्मेदवार छन् । कांग्रेसबाट नरोत्तम बैद्य, एमालेबाट निर्मल कुइँकेल र विवेकशील साझाबाट दिपेश श्रेष्ठ उम्मेदवार छन् । संसदको चुनावमा गगन थापासँग हारेका कुइँकेल योपटक प्रदेशतर्फ गएका हुन् ।

प्रदेशतर्फ ४ (ख) मा कांग्रेसका साधुराम खड्का, एमालेका कुसुमकुमार कार्की र विवेकशील साझाका मधुसुदन कार्कीसहित १० उम्मेदवार चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर ५ मा तीन ‘हेभीवेट’

काठमाडौंको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ २० उम्मेदवार भए पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यहाँ एमालेका महासचिव ईश्वर पोखरेल, कांग्रेसका डा. प्रकाशशरण महत र विवेकशील साझा पार्टीका संयोजक उज्वलबहादुर थापा उम्मेदवार छन् ।

यो क्षेत्रमा ६४ हजार ५५० मतदाता छन् । दुबै संविधानसभा चुनावमा हारेका एमाले नेता पोखरेलले योपटक नयाँ प्रतिस्पर्धीका रुपमा महतलाई पाएका छन् । यसअघि यो क्षेत्रबाट चुनिएका नरहरि आचार्य उम्मेदवार बनेका छैनन् ।

नयाँ प्रतिस्पर्धी र वाम गठबन्धनका कारण योपटक आफू जित्ने पोखरेलको विश्वास छ । तर, आफ्नो बलियो संगठन भएको र पार्टीभित्र देखिएको असन्तुष्टि पनि सम्बोधन भएकाले कांग्रेसले पनि यो क्षेत्रलाई जित्ने क्षेत्र भनेको छ ।

दोस्रो संविधानसभामा स्वतन्त्र उम्मेदवार बनेका विवेकशील साझाका उज्वल पनि चुनावी अभियानका क्रममा मतदाताबाट पाएको प्रतिक्रियाबाट उत्साहित छन् । विगतमा भन्दा यसपालि उनको पक्षमा केही माहौल बढेको देखिन्छ ।

प्रदेशतर्फ ५ (क) मा कांग्रेसकी रमा पौडेल गुरागाई, एमालेका नारायणबहादुर सिलवाल र विवेकशील साझाका रामहरि अधिकारीसहित १४ उम्मेदवार छन् ।
त्यस्तै ५ (ख) मा १५ जना उम्मेदवार छन् । कांग्रेसबाट रमेशकुमार खड्का, एमालेबाट दीपक निरौला र विवेकशीलबाट हरिकुमार श्रेष्ठ चुनावी मैदानमा छन् ।

काठमाडौं ६ मा भीमसेनदास र झक्कु

काठमाडौं ६ मा ५८१८७ मतदाता छन् भने १५ उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट निवर्तमान सांसद भिमसेनदास प्रधान छन् भने वाम गठबन्धनबाट झक्कु सुवेदी र विवेकशील साझाका रमेश चिलुवाल छन् । पहिलो संविधानसभामा काठमाडौं २ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका सुवेदी यो पटक ६ मा गएका हुन् ।

प्रदेशतर्फ ‘क’मा कांग्रेसका न्हुछे नारायण मानन्धर, एमालेका केशव स्थापित र विवेकशील साझाका विमलादेवी अधिकारी घिमिरेसहित १० उम्मेदवार चुनावी मैदानमा छन् । स्थापित काठमाडौं पूर्व मेयर समेत हुन् । ‘ख’मा ९ उम्मेदवार छन् ।

कांग्रेसबाट विष्णुभक्त मिचिल्सिना, एमालेबाट योगेन्द्रराज संगौला र विवेकशील साझाका अजित खड्का उम्मेदवार बनेका छन् ।

काठमाडौं ७ मा राप्रपा भर्सेज एमाले

काठमाडौं ७ मा कांग्रेसले राप्रपा उम्मेदवार विक्रमबहादुर थापालाई समर्थन गरेको छ । एमालेबाट रामवीर मानन्धर र विवेकशील साझाबाट अनुपा श्रेष्ठसहित १४ जना उम्मेदवार छन् । यो क्षेत्रमा ५७ हजार ५५८ मतदाता छन् ।

कांग्रेसले राप्रपालाई समर्थन गरेका कारण आफ्नो जित पक्काजस्तै भएको वाम गठबन्धनका उम्मेदवार मानन्धरको दाबी छ । तर, कांग्रेसले भने प्रदेशतर्फ दुबै सिट जित्ने र प्रतिनिधिसभामा विक्रमको सम्भावना रहेको बताएको छ ।

प्रदेशतर्फ ७ (क) मा कांग्रेसका विजय माली, एमालेका वसन्त मानन्धर र विवेकशीलका विकास रंजितसहित ११ उम्मेदवार छन् भने ७ (ख) मा कांग्रेसका धर्मराज अर्याल, एमालेका प्रकाश श्रेष्ठ र विवेकशीलका प्रेम लामासहित १० उम्मेदवार छन् ।

क्षेत्र नं ८ मा नवीन्द्रराजदेखि अष्टलक्ष्मीसम्म

काठमाडौं क्षेत्र नम्बर ८ मा कांग्रेस र एमालेबाट बलिया उम्मेदवारहरु मैदानमा छन् । कांग्रेसबाट पूर्वमन्त्री नवीन्द्रराज जोशी, एमालेबाट जीवनराम श्रेष्ठ र विवेकशीलका पुकार बमसहित ९ उम्मेदवार छन् । प्रदेशमा एमाले नेतृ अष्टलक्षमी शाक्यको उम्मदेवारीले यहाँ सबैको चासो बढाएको छ ।

यस निर्वाचन क्षेत्रमा ५० हजार ८८ मतदाता छन् ।

ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका एमाले नेता श्रेष्ठ दोस्रो संविधानसभामा जोशीसँगै पराजित भएका थिए । यो क्षेत्रमा कांग्रेसले आफ्नो जित पक्का भएको बताएको छ भने वाम गठबन्धनले आफू केही कमजोर भएको स्वीकार गरेको छ । तर, माओवादीको पनि साथ रहेकाले आश गर्ने ठाउँ रहेको एमाले नेताहरुको भनाइ छ ।

प्रदेशतर्फ ८ (क) मा कांग्रेसका राज्यलक्ष्मी श्रेष्ठ, एमालेका राजेश शाक्य र विवेकशील साझाका अनिल तुलाधरसहित १० उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशतर्फ ८ (ख) मा एमालेकी अष्टलक्ष्मी शाक्य, कांग्रेसका देवरत्न डंगोल र विवेकशील साझाका श्यामकृष्ण श्रेष्ठसहित ११ उम्मेदवार छन् ।

एमालेले पार्टी उपाध्यक्षसमेत रहेकी शाक्यलाई प्रदेश ३ को भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

काठमाडौं ९ मा ध्यानगोविन्द र कृष्णगोपाल

काठमाडौंको क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका ध्यानगोविन्द रञ्जित, एमालेका कृष्णगोपाल श्रेष्ठ र विवेकशील साझाका मिलन पाण्डे उम्मेदवार छन् ।

यहाँ ६७ हजार ६५१ मतदाता छन् भने कुल उम्मेदवार १४ जना छन् ।

यो क्षेत्रमा कांग्रेसले जित्ने दाबी गरेको छ भने वाम गठबन्धनले पनि प्रतिस्पर्धा हुने सूचीमा राखेको छ । विवेकशीलले पनि आक्रामक चुनावी अभियान चलाइरहेको छ ।

प्रदेशतर्फ ९ (क) मा कांग्रेसले अखिल नेपाल फुटबल संघ (एन्फा)का सीईओ इन्द्रमान तुलाधरलाई उम्मेदवार बनाएको छ भने एमालेका अजयक्रान्ति साह र विवेकशील साझा पार्टीका चक्रपाणि नेउपानेसहित १४ उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यस्तै ९ (ख) मा कांग्रेसका धर्मराज गौतम, एमालेका केशव पोखरेल र विवेकशील साझा पार्टीका सुरेन्द्रबहादुर रानाभाटसहित १२ उम्मेदवार छन् ।

काठमाडौं १० मा राजेन्द्र भर्सेज हितमान

काठमाडौं क्षेत्र नम्बर १० मा ७१ हजार २०१ मतदाता छन् । कांग्रेसबाट दोस्रो संविधानसभामा प्रचण्डलाई हराएका राजेन्द्र कुमार केसी (राजन) अहिले पुनः उम्मेदवार छन् ।

वाम गठबन्धनबाट माओवादीका हितमान शाक्य र विवेकशील साझाका प्रदीप ढकाल उम्मेदवार छन् । यो क्षेत्रबाट १५ जना उम्मेदवार मैदानमा छन् ।

कांग्रेस र वाम गठबन्धन दुबैले यो क्षेत्र आफूले जित्ने दाबी गरेका छन् । यो क्षेत्रमा एमालेको संगठन बलियो छ । तर, वाम गठबन्धनबाट माओवादी नेता उम्मेदवार भएकाले आफूलाई सहज भएको कांग्रेसको विश्लेषण छ । वाम गठबन्धनले भने एमालेको संगठनकै बलमा चुनाव जित्ने दाबी गरेको छ ।

प्रदेशतर्फ १० (क) मा १० जना उम्मेदवार छन् । कांग्रेसबाट पुकार महर्जन, माओवादीबाट दिलिप महर्जन र विवेकशील साझाका देवबहादुर महर्जन उम्मेदवार छन् । १० (ख) मा कांग्रेसका धर्मनन्द श्रेष्ठ, एमालेका रमा आले मगर र विवेकशील साझाका एलिसा मर्हजनसहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment