+
+

मतपेटिका सुरक्षामा उम्मेदवार र कार्यकर्ताको पनि ड्युटी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते १३:३५

१२ मंसिर, नुवाकोट । दुई चरणको निर्वाचनका कारण मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि अर्थात मंसिर २१ देखि हुनेछ ।

तत्काल गणना नहुने भएपछि मतदाता, कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न गाह्रो भएको छ । मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्ला स्थित सुरक्षा निकाय र जिल्ला निवार्चन कार्यालयलाई हम्मेहम्मे परेको छ ।

प्रतिनिधि सभाको लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दुवै क्षेत्रको मतपेटीका फरक फरक स्थानमा राखिएको छ । क्षेत्र १ को मतपेटिका सदरमुकाम विदुरस्थित जिल्ला सहकारी डिभिजन कार्यालयमा र क्षेत्र २ को नजिकैको कोष तथा लेखा नियन्त्रणको कार्यालयमा राखिएको छ ।

मतपेटिकालाई जिल्ला सहकारी डिभिजन कार्यालयको कोठामा राखेर झ्यालढोका बन्द गरी सिलबन्दी गरिएको छ । त्यस अघिल्तिर हतियारधारी एक प्रहरी जवानले पालैपालो चौबिसै घण्टा पहरा दिइरहेका छन् भने अर्का घेरामा १५ सशस्त्र र ५ नेपाल प्रहरीका जवानको घेराले पहरा दिन थालेको छ । त्यसका साथै उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताहरुलेपनि मतपेटीलाई पहरा दिइरहेका छन् ।

मतपेटिका राखेको भवनको परिषरमा उम्मेदवार तथा प्रतिनिधिले २४ सैं घण्टा पहरा दिन थालेका छन् । उनीहरु रातीको समयमा पनि त्यहीँ बस्न थालेका छन् भने उनीहरुलाई बस्नका लागि मुख्य निर्वाचन अधिकृतले छुट्टै स्थानको व्यवस्था गरेको छ ।

सके आफू नै उपस्थिति हुने र नभएमा आफ्नो प्रतिनिधि मतपेटिका रखेको स्थानमा पठाउने गरेको गठबन्धनका तर्फबाट क्षेत्र १ का प्रतिनिधिसभा उम्मेदवार हितबहादुर तामाङले बताए । २ को प्रदेश सभा ‘क’का उम्मेदवार जगदीश्वरनरसिंह केसीले प्रहरी प्रशासनको सुरक्षा भरदर्पो रहेपनि सुरक्षाका दृष्टिले संवेदनशील रहेकोले निगरानी बढाएको बताए ।

उम्मेदवारहरुका अनुसार राजनीतिक दल र कार्यालकर्ताको दृष्टि मतपेटिका सुरक्षामै केन्दि्रत रहेको छ ।

सदरमुकाम विदुरमा आइतवार राती नै ल्याइएको मतपेटिकाको सुरक्षाका लागि सुरक्षा निकाय जत्तिकै उम्मेदवार र उनीहरुका प्रतिनिधि अग्रसर छन् । उनीहरुको मतपेटिका राखेको भवनको छेउछाउमा बाक्लो भिड लाग्ने गरेको छ । दलहरूले पालैपालो मतपेटिकाको निगरानी गर्नका लागि कम्तीमा डेढ सय कार्यकर्ताको सूची बनाएका छन् ।

मतपेटिका भने सकेसम्म बाहिर बाटै देख्न सक्ने गरी बन्द कोठामा सुरक्षित राखिएको छ । साथै थप सुरक्षाको लागि सीसी क्यामेरा जडानको लागि समेत छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले जानकारी दिए ।

श्रीनाथ गणका प्रमुख सेनानी रोहित गुरुङका अनुसार मतपेटिका राखेको सरकोको वरपरका घरको छतबाट सेनाले सेन्ट्री दिनेदेखि बाटामा दिनरातै गस्ती पनि निरन्तर गरिरहनेछ ।

मतदानको अघिल्लो दिन शनिबार जिल्ला निर्वाचन कार्यालय परिसरमा बेफ फेला परेकोले पनि नुवाकोट सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिएको छ । त्यस्तै मंसिर १० गते मतपेटिका ल्याइँदै गरेको गाडीलाई लक्षित गरेर तुप्चेमा बम प्रहार भएको थियो ।

निर्वाचन प्रचारमा क्रममा नुवाकोटमै कांग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी विद्युतीय धरापमा परेको थियो । बम विफोष्टनका श्रृङ्खलाको बीचमा जिल्लाबाट संकलन भएको मतपेटिकालाई प्रशासनले कसरी सुरक्षा दिन्छ भन्ने प्रश्न यहाँको मतदाताहरुमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?