Comments Add Comment

देउखुरीका मतदाताको अनौठो सोचः जसले दाउरा दिन्छ, उसैलाई भोट !

दाउराको विकल्पको रुपमा प्रयोग गरिने गुइँठा बनाउन गोबर संकलन गरेकी स्थानीय एक महिला ।

१३ मंसिर, देउखुरी । देशभर चुनावको माहोल छ । उम्मेदवारहरु कहिल्यै नपुगेका ठाउँमा पनि भोट माग्दै पुगेका छन् र विकासका आश्वासन दिएका छन् । मतदाताहरुले पनि आफूहरुलाई परेको अप्ठ्यारा सुनाउँदै बिभिन्न माग राख्दै आएका छन् । धेरैजसो मतदाताहरु सडक, पुल, खानेपानी, अस्पताल, स्कुल-कलेज लगायत विकासका काम गर्नेहरुलाई भोट दिने बताउँछन् । तर, दाङ देउखुरीको एक गाउँका मतदाताले अनौठो माग राखे- हामीलाई दाउरा चाहियो ।

दाङको राजपुर गाउँपालिका-४ फोहोरा निवासी ६८ वर्षीया विद्यादेवी यादवले भनिन्- जसले दाउरा दिन्छ उसैलाई भोट ।

चुनावमा नेताहरुले बाँड्ने ठूला-ठूला आश्वासनले राजपुरका बासिन्दालाई छोएको छैन । उनीहरुलाई दैनिक पेट पाल्नै समस्या छ । जंगल टाढा छ । सामुदायीक बनमा जतिबेला आवश्यक पर्‍यो त्यतिबेला बेला दाउरा काट्न पनि पाइँदैन । बनमा जाँदा पनि नजिकमा दाउरा पाइँदैन । पाइहाले पनि बोकेर घरसम्म ल्याउनै समस्या हुन्छ । ग्यास बाल्ने हैसियत सबैको छैन । त्यसैले अधिकांश फोहोराबासी गोबर सुकाएर बनाइएको गुइँठा बालेर गुजारा चलाउँछन् ।

‘साँझ पर्‍यो भने भात पकाउनु पर्छ, दाउरा छैन, दाउरा पनि भेटिँदैन,’ भोट माग्न आएका वाम गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ (ख)को प्रदेशसभा सदस्य उम्मेदवार रेवतीरमण शर्मासँग विद्यादेवीले भनिन्, ‘कि दाउरा देऊ, कि सिलिण्डर ग्यास देऊ ।’

‘नेताले आश्वासनमात्रै बाँडे’

राजपुरको फोहोराबासीले भोट माग्न आउने सबै दलका नेताहरुलाई दाउराको समस्या राख्ने गरेका छन् । यहाँ यादव समुदायको बाहुल्य छ । धेरैको पशुपालन ब्यवसाय छ । एउटै घरमा २०-२५ वटा भैंसी पाल्ने चलन छ । दूध र पाडापाडी बेचेर २-४ हजार कमाउँछन् । घाँस दाउरा गर्नेदेखि घरधन्दाको चिन्ता महिलाले लिने गर्छन् । हप्तामा एक दिन जंगल खुल्छ । दाउरा संकलन गर्न जंगल जान शनिबार पर्खिएर बस्नुपर्छ ।

राजपुर गाउँपालिका वडा नं. ४ को फोहोरा, मनेतिपुर, रौनिया गाउँका बासिन्दालाई दाउरा लिन पाँच किलोमिटर टाढा जंगल जानुपर्ने बाध्यता छ । ‘जंगलमा पनि दाउरा पाउन छाड्यो, काँचो दाउरा काट्न पाइँदैन । सुकेको दाउरा भेटिँदैन । भेटिएको दाउरा धेरै बोक्न सकिँदैन । दाउरा टाउकोमा राखेर ल्याउँदा पनि धौ हुन्छ,’ जयकली यादवले भनिन्, ‘भात पकाउने चिन्ता हामीले लिनुपर्छ, दाउरा लिन पनि जंगल हामी नै जानुपर्छ ।’

हरेक चुनावमा गाउँ आउने नेताहरुले चुनाव जितेपछि सिलिण्डर ग्यास र गोबरग्यास जोडिदिने आश्वासन दिएर फर्किन्छन् । तर पूरा नभएको स्थानीयको गुनासो छ । त्यसैले यसपटकको चुनावमा पनि माग पूरा हुनेमा उनीहरुलाई शंका छ । ‘दाउराको सट्टा ग्यास जोडिदिने त भन्छन् तर, खै के गर्ने हुन्,’ यादवले भनिन् ।

विकासबाट पछाडि

यो यादव गाउँ विकासले पछाडि छ । कालाकाटे-सिक्टा हुलाकी सडकखण्डमा पर्दछ यो गाउँ । गाउँको बाटोमा ग्राबेल पनि गरिएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्छ । कतिपय भूमिहीन छन् । आफू बसिरहेको जग्गाको लालपूर्जा छैन । गाउँको नाम फोहोरा भए पनि पानीको अभाव छ । आकाशे पानीको भरमा खेतीकिसानी गर्नुपर्ने बाध्यता छ ।

नजिकै गढवा बजारमा चहलपहल छ । गाडीहरु गुडेको गुड्यै गर्छन् । बत्तीले झिलिमिली छ । तर राजपुर गाउँपालिकाको यो गाउँ बत्तीमुनिको अँध्यारो जस्तै छ । सडक किनारमा बिजुलीको पोल र तार टाँगिएको छ तर बत्ती बल्दैन । केहिले धेरै टाढाबाट आफैले जोखिमपूर्ण तरिकाले तार टाँगेर बिजुली बालेका छन् । तर, सबैको घरमा बिजुली छैन ।

स्थानीय भोदु रैदासको चाहाना छ, ‘नेताले आश्वासन होइन काम गरेर देखाउन् । चुनावपछि हाम्रो जीवन बदलिदिउन् ।

मतलव छैन चुनावको

यहाँका यादव समुदायका अधिकांस महिलाहरु चुलो चौकोमै सीमित छन् । उनीहरु घरधन्दा सम्हाल्छन् । पुरुषहरु खेतीपाती गर्छन् । महिलाहरुले खेतिपातीमा पुरुषहरुलाई सघाउँछन् । उनीहरुलाई चुनावले खासै छोएको छैन । अहिले केको चुनाव हुँदैछ, कुन पार्टीको सरकार छ मतलव छैन । चिन्ता छ त केबल दैनिक गुजाराको ।

‘अहिलेको चुनाव के गर्न हो थाहा छैन,’ विद्यादेवी यादवले भनिन्, ‘भोट हाल्नुपर्छ मात्रै भन्छन् तर कसरी हाल्ने, कति जनालाई हाल्ने थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment