Comments Add Comment

कैलालीका उम्मेदवारः कोही सत्तामा, कोही जेलमा, कोही भूमिगत !

भट्टविरुद्ध भण्डारी, थारुविरुद्ध थारु, राणाविरुद्ध राना

१४ मंसिर, टीकापुर(कैलाली) । अन्नको भण्डार कैलालीमा धान थन्क्याउने चटारो लगभग सकिँदैछ । साँझ-बिहान चिसो बढ्दै गर्दा चुनावी रौनकले माहोल गर्माउँदै लगेको छ ।

उम्मेदवारहरु बिहानदेखि साँझसम्म कोणसभा, आमसभा र घरदैलोमा व्यस्त छन् । बजारमा भन्दा बढी गाउँतिर चुनाव लागेको देखिन्छ । ठूलो भूगोलका कारण उम्मेदवारहरु घर-घर पुगेर मत माग्न नसक्दा हैरान छन् ।

कैलालीको चुनावी ‘कम्बिनेशन’ रोचक छ । यहाँ प्रधानमन्त्रीपत्नी, बहालवाला मन्त्री र पूर्वमन्त्री एवं पूर्वसांसदमात्रै होइन, कोही उम्मदेवार जेलमा छन् भने कोही भूमिगत बनेर भोट मागिरहेका छन् ।

कैलाली १ बाट कांग्रेसकी ईश्वरी न्यौपाने एमालेकी मदनकुमारी शाह (गरिमा शाह) सँग भिड्दै छिन् । वाम र लोकतान्त्रिक गठबन्धन दुवैले महिलालाई चुनावी मैदानमा उतारेका छन् । न्यौपाने कांग्रेसकी पूर्वसचेतक हुन् र कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली मानिन्छिन् । शाह ०७० सालकी समानुपातिक सांसद हुन् ।

उनीहरुलाई टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीले भूमिगत ढंगले उम्मेदवारी दिएर टक्कर दिएका छन् । उनको पक्षमा थारु समुदायको मत पर्याप्त खस्यो भने त्यसको जोखिममा दुवै नेतृ परेका छन् ।

०७० सालको निर्वाचनमा टीकापुर क्षेत्रबाट जनक चौधरीले जितेका थिए, फोरम लोकतान्त्रिकबाट । पार्टी एकतासँगै जनक पनि अहिले कांग्रेसमा गएका छन् । यो क्षेत्रको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार लोकतान्त्रिक गठबन्धन अगाडि छ ।

कैलाली २ मा कांग्रेसबाट मोहनसिंह राठौर उठेका छन् । उनले ०७० सालको निर्वाचनमा एमालेबाट जितेका थिए, यसपटक टिकट नपाउने भएपछि उनले कांग्रेस रोजेका हुन् । उनलाई कडा टक्कर दिँदैछन्, उनी सहायक मन्त्री बन्दाका स्वकीय सचिव तथा एमाले नेता झपट रावलले । कैलालीमा ०७० सालमा विजय हासिल गर्ने उनी एमालेका एकमात्र नेता थिए ।

कैलाली ३ कांग्रेसबाट पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी र माओवादीबाट गौरीशंकर चौधरीबीच कडा प्रतिस्पर्धा हुँदैछ । ०७० सालको निर्वाचनमा माओवादीबाट प्रदेश ७ का एक मात्र विजयी उम्मेदवार थिए, गौरीशंकर । तत्कालीन कैलाली-४ बाट उनले जितेका थिए ।

रामजनम तत्कालीन फोरम लोकतान्त्रिकमा छँदा थारु आन्दोलनको नेतृत्व गरेका थिए । तत्कालीन क्षेत्र नम्बर ३ बाट उनी ०७० सालमा निर्वाचित भएका थिए । यस क्षेत्रमा ५० प्रतिशतभन्दा बेसी मत थारु समुदायको छ ।

कैलाली ४ मा माओवादी नेता पूर्वश्रम तथा यातायात मन्त्री लेखराज भट्ट भिड्दैछन्, कांग्रेसका सुनिलकुमार भण्डारीसँग । भण्डारी प्रदेश-७ मा कांग्रेसको कोइराला सेन्टिमेन्टको प्रतिनिधित्व गर्ने एक मात्र उम्मेदवार हुन् । अरु सबै देउवा खेमाका उम्मेदवार छन् ।

यही क्षेत्रबाट शिक्षा व्यवसायी गीता राणाले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनी यसअघि फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद् बनेकी थिइन् ।
पार्टी एकतापछि उनले सोही क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारीको आकांक्षा गरेकी थिइन् । तर, नपाउने निश्चित भएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

कैलाली ५ कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा उठेकी छन् । उनलाई वाम गठबन्धनबाट एमालेका नारदमुनि रानाले टक्कर दिइरहेका छन् । जेलमा रहेका थारु नेता लक्ष्मण थारुले पनि राजपाबाट कैलाली-५ बाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment