Comments Add Comment

सिरहामा प्रचण्डको उत्तराधिकारी हुँ, मेरा प्रतिस्पर्धी छैनन्- अजयशंकर नायक

'राजकिशोर प्रतिस्पर्धी नै होइनन् प्रदीप गिरी डराएर आएनन्'

१६ मंसिर, कर्जन्हा (सिरहा) । पहिलोपटक कानुनमन्त्री बन्दा अजयशंकर नायक राष्ट्रिय राजनीतिमा अपरिचित अनुहार थिए । तर, सिरहाको राजनीतिमा भने उनी अविनाशको नामबाट प्रसिद्ध रहेछन् । मिर्चैया, कर्जन्हा क्षेत्रमा अविनाश भनेपछि उनको आफ्नै व्यक्तित्व छ । जनयुद्धकालमा कमरेड अविनाशको नामबाट उनले गरेका क्रियाकलापले मान्छेहरुलाई दुई कित्तामा बाँडिदिएको रहेछ ।

अजयका बारेमा तटस्थ जनमत छैन । कि त उनको पक्षमा छन् मान्छेहरु, कि विपक्षमा । उनका बिरोधीहरुले चुनावी अभियानमा उनको विपक्षमा रहेको जनमतलाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् ।

यो रोचक संयोग हो कि यसअघि माओवादी अध्यक्ष प्रचण्डले चुनाव जितेको यो क्षेत्र (साविकको क्षेत्र नं ५) मा यसपटक प्रचण्डको उत्तराधिकारीका रुपमा अजयशंकर नायकले भोट मागिरहेका छन् । र, उनको प्रतिस्पर्धा हुँदैछ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य पूर्वमन्त्री राजकिशोर यादव र कांग्रेस उम्मेदवार मोख्तार अहमतसँग ।

स्थानीय चुनावको जनमत हेर्दा यहाँ एक नम्बरमा माओवादी र दोस्रो एमाले हुन् । पहिलो र दोस्रो मिलेर बनेको गठबन्धनसँग भिड्न राजपा अध्यक्षमण्डलका राजकिशोर यादव किन आए त ? यो आफैंमा अनुत्तरित प्रश्न छ । तर, पूर्वकानुनमन्त्री तथा माओवादी नेता नायक भने आफ्नो प्रतिस्पर्धा जातिवादीहरुसँग नहुने भन्दै राजकिशोरलाई प्रहार गरिरहेका छन् । हामीले माओवादी उम्मेदवार नायकसँग कुराकानी शुरु गर्‍यौं, जितको आधार के छ भन्ने प्रश्नबाट ।

राजपाका शीर्षनेता नै चुनावी मैदानमा छन्, तपाईले चुनाव जित्ने आधारचाहिँ के देख्नुभएको छ ?

को शीर्ष नेता हुन् भन्ने काठमाडौंमा थाहा होला, यहाँ त्यसको मतलब छैन । मिर्चैया, कर्जन्हा नगरपालिका, नराहा, र बिष्णुपुर गाउँपालिकासहितका उत्तर-दक्षिणी क्षेत्र समेटेर बनाएको यो निर्बाचन क्षेत्रको उत्तरी क्षेत्रमा बाम गठबन्धन बलियो छ । तत्कालीन जनयुद्धका समयमा सिरहामा जिल्लाको नेतृत्व गरेकाले दक्षिणी क्षेत्रमा पनि मलाई समर्थन गर्ने र सबैले मलाई राम्रो साथ दिएकाले मेरो जित्ने आधार भनेको स्थानीय मतदाताको समर्थन नै हो ।

प्रत्यक्षरुपमा पहिलो पटक चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, अर्कोतिर विपक्षी उम्मेदवार चुनावी अनुभवमा पोख्त खेलाडी छन्, होइन र ?

मसंग तीनवटा निर्वाचनको अनुभव छ । ०६४ र ०७० सालका संविधानसभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा मेरो प्रमुख भूमिका थियो । त्यसैले तीनवटा निर्वाचनमा प्रमुख भूमिका खेलेको अनुभवले यो निर्वाचन जित्न आफूलाई सहज भएको मैले ठानेको छु ।

तीनवटा निर्वाचनमा मैले खेलेको भूमिका र मैले गरेको परिचालनले पार्टीले सफलता प्राप्त गरेको छ । त्यसमा मेरो प्रमुख भूमिका छ । अरुले चुनाव लडेको समयमा त पार्टीलाई विजय गराउन सफल भएँ, अब आफैं चुनाब लडेपछि झन सहज हुने मैले ठानेको छु । अहिले म आफैं चुनाबमा भिडेको छु । सबैले मलाई स्वीकार गरेको पाउँछु ।

तर, तपाईको व्यक्तित्वलाई अलि बढी आतंकपूर्ण बनाउन खोजिएको रहेछ नि ? विशेष गरी जनयुद्धका बेला मानिसहरुलाई अलि बढी दुःख दिनुभयो रे ?

चुनावका बेला विपक्षीहरुले उचाल्ने कुराहरुलाई मैले ठूलो महत्व दिएको छैन । म को हुँ भन्ने कुरा यस क्षेत्रका हरेक जनताले चिनेका छन्, बुझेका छन् । त्यसैले मैले यसलाई ठूलो कुरा मानेको छैन ।

तर पनि प्रतिस्पर्धी त दह्रिलो नै छन् नि ?

मैले मेरो प्रतिस्पर्धी अरु कसैलाई देखेकै छैन । सिरहा क्षेत्र नंम्बर ४ मा प्रदीप गिरी चुनाब लड्न आउने कुरा थियो । उहाँ आइदिनुभएन । प्रदिप गिरी आइदिएको भएको एउटा प्रतिस्पर्धी हुनुहुने थियो । प्रदीप गिरी अलिअलि प्रतिस्पर्धी वहाँ हुनुहोला भन्ने थियो । त्यसैले मेरो प्रतिस्पर्धी नै कोही भएन । मैले प्रतिस्पर्धी कसैलाई देखेकै छैन । म त यो क्षेत्रमा कमरेड प्रचण्डको उत्तराधिकारी बनेर आएको हुँ । यहाँ लगातार माओवादीले जितेको छ । एमालेको मत थपिएको छ । मेरा लागि राजकिशोर प्रतिस्पर्धी नै होइनन् ।

यहाँ मधेसवादी दलका नेता चुनावमा आएपछि अलिअलि जातीय फ्याक्टरको पनि कुरा आएको रहेछ, तपाई दबावमा हुनुहुन्न ?

राजकिशोर यादवले जातको कुरा पनि उठाएका छन् । उता मधेसको कुरा पनि जोडिदिने भइरहेको छ । म जनतासमक्ष जाँदा मेरा प्रतिस्पर्धीको यादव समुदायमा नै उहाँको प्रोफाइल कमजोर भएको पाएको छु ।

उहाँले जातीय मत तान्न जातीय नारा दिए पनि आफ्नो जातभित्रै कमजोर हुनुहुन्छ । मधेसको धेरै कुरा उठाउने भनेर उहाँका समर्थकले व्याख्या गरे पनि यादव जातिभित्रै वहाँ कमजोर हुनुहुन्छ ।

त्यसैगरी कांग्रेसका मुख्तारजीले मुस्लिमको नारा दिनुभएको छ । तर, उहाँ पनि मुस्लिम समुदायमै कमजोर हुनुहुन्छ । उहाँलाई मुस्लिमले पत्याएको देखेको छैन । मेरा दुबै प्रतिस्पर्धीले जातीय सेन्टिमेन्ट दिनछन्, तर तिनीहरुको त्यही जातिभित्र प्रोफाइल अत्यन्त कमजोर छ ।

तपाई चुनावमा उम्मेदवार बनिरहँदा जनतामा के एजेण्डा लिएर जानुभएको छ ?

यो क्षेत्र आर्थिकरुपले कमजोर छ, तर सम्भावनाहरु धेरै छन् । यसलाई सवल बनाउन पुँजीगत खर्चको विकास गर्नुपर्ने अवस्था छ ।
बेरोजगारी र जनजीबिकाको समस्यामा लगानी हुनुपर्छ । हाइड्रोपावरका योजनादेखि उद्योग धन्दा स्थापना गर्नेदेखि सुनकोशी कमला डाइभर्सनका कुराहरुमा मेरो फोकस रहनेछ । मिर्चैयालाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्दैछौं । यो काम मैले गर्नुपर्छ ।

साथै स्थानीय स्तरमा खानेपानी ढल निकास , सडक निर्माण जस्ता विकासका एजेन्डा लिएर निर्वाचनमा गएका छांै । हामीले धेरै बजेट ल्यायौं तर खर्च हुन नसकेर धेरै काम अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment