Comments Add Comment

खाद्य संस्थानले सुरु गर्‍यो धान खरिद

चार स्थानमा धान खरिद हुँदै, पूर्वमा पुस अन्तिमतिर


१८ मंसिर, काठमाडौं । नेपाल खाद्य संस्थानले चालू आर्थिक वर्षका लागि धान खरिद सुरु गरेको छ । संस्थानका विभागीय प्रमुख श्रीमणी खनालका अनुसार सदूरपश्चिम र मध्यपश्चिमका विभिन्न स्थानमा धान खरिद सुरु भइसकेको छ ।

संस्थानका अनुसार हाल कैलाली, बाँकेको महेन्द्रनगर, नेपालगञ्ज र बर्दियाको राजापूरमा यसमा धान खरिद सुरु भएको छ ।आपूर्ति मन्त्रालयले करीव एक महिनाअघि धानको न्यूनतम मूल्य तोकी खरिद गर्न दिएको निर्देशनबमोजिम खरिद प्रक्रिया अघि बढाइएको संस्थानले जनाएको छ ।

संस्थानका विभागीय प्रमुख खनालका अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिले तोकिएका जिल्लाबाट धान खरिद गर्छ ।

प्रमुख जिल्ला अधिकारकिो अध्यक्षतामा प्राथमिक खरिद समिति बन्नेछ । जिल्ला कृषि विकास कार्यालय, खाद्य संस्थानको जिल्लास्थित डिपोका प्रतिनिधि, उद्योग वाणिज्य संघ, कृषक प्रतिनिधि लगायत सम्मिलित उक्त समितिले खरिद गरिने धानको मूल्य तोक्छ ।

खनाल पूर्वी तराइका जिल्लामा भने पुसको अन्त्यदेखिमात्र धान खरिद हुने बताउँछन् । पहिलो चरणका उल्लेखित जिल्लाबाट धान खरिद भएपछि भैरहवा, वीरगञ्ज, लाहान, जनकपुर, विराटनगर, झापा लगायतका जिल्लाबाट पनि धान खरिद गरिनेछ । पूर्वी जिल्लामा ढिलोगरी धान थन्क्याइने भएकाले पनि खरिद पनि सो अनुसार हुने संस्थानको दावी छ ।

संस्थानले न्यूनतम आधार मूल्य तोकि सोझै किसानबाट धान खरिद गर्छ । संस्थानका विभागीय प्रमुख खनालका अनुसार चालू आवमा २ लाख ७० हजार क्विन्टिल धान खरिद गरिनेछ । गत वर्ष भने संस्थानले झण्डै दोब्बर करीव चार लाख क्विन्टिल धान खरिद गरेको थियो ।

खरिद गरिएको खाद्यान्न संस्थानले कम उत्पादन हुने तथा दूर्गम जिल्लामा वितरण गर्छ । त्यस्तै, ३३ हजार मेटि्रक टन भने संस्थानले मौज्दातका लागि राख्ने गर्छ । हाल करीव २२ हजार मेट्रिक टन धान यस्तो मौज्दातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment