Comments Add Comment

कञ्चनपुर-२ मा पूर्वमन्त्री साउद र एमालेका धामीबीच जितको होडबाजी

नरबहादुर धामी (वायाँ) र एनपी साउद

१८ मंसिर, महेन्द्रनगर । झलारीको चुनावी अभियानमा भेटिएका पूर्वमन्त्री एनपी साउद ढुक्कझैं देखिन्थे । चुनावी माहोल कस्तो छ ? उनको जवाफ थियो, ‘प्रतिस्पर्धा छ, तर चुनाव जित्छु ।’

उनको बुझाइमा उक्त क्षेत्र पहिलेदेखि नै कांग्रेसको आधारभूमि हो । स्थानीय तह र त्यसअघिका चुनावको मत विश्लेषण गर्दा पनि कांग्रेस बलियो रहेको उनको भनाइ छ ।

उनले जे दाबी गरे पनि स्थानीय तह निर्वाचनमा कांग्रेसको प्रस्तुती बलियो थिएन । टिकट वितरणका कारण व्यापक असन्तुष्टी थियो । र, कांग्रेसले यस क्षेत्रमा पर्ने तीन वटै नगरपालिकाका अधिकांश सिटमा पराजय बेहोरेको थियो ।

‘तर, अहिले असन्तुष्टि शुन्यमा झारेका छौं । पर्याप्त समय पाएका छौं, प्रचार प्रसारलाई पनि,’ साउद भन्छन्, ‘स्थानीय तह निर्वाचनमा कांग्रेस जुन अप्ठ्यारोमा थियो, अहिले वाम गठबन्धन त्यही अप्ठ्यारोमा छ । उम्मेदवार छनोटमै चुनाव र हारजित भएको छ । उम्मेदवारी नपाएका मानिस गम्भीर रुपमा असन्तुष्ट छन् ।’

माओवादी र एमालेबीच तालमेलको अभाव पनि आफूले चुनाव जित्ने एक आधार रहेको साउदको भनाइ छ । भन्छन्, ‘कतिपय ठाउँमा माओवादीलाई प्रतिनिधित्व गर्न एमालेले दिएको छैन । त्यसकारण माओवादीले एमालेलाई सहयोग गर्ने ठाउँ साँघुरिएको छ ।’

यस क्षेत्रमा आदिवासी जनजातिको २६ प्रतिशत जनसंख्या छ । थारु समुदायका राना र चौधरीहरुको मत पनि निणर्ायक छ ।

कांग्रेसले प्रदेशसभाको समानुपातिकतर्फ श्यामलाल राना र गीता चौधरीलाई उम्मेदवार बनाएको छ । राना र चौधरी दुवै समुदायको मत तान्ने रणनीति हो त्यो ।

प्रदेशसभा ‘क’ मा पुष्करराज ओझा र ‘ख’मा बहादुरसिंह थापा प्रत्यक्षतर्फबाट उम्मेदवार छन् । देवराज पाठक प्रदेशसभातर्फका अर्का समानुपातिक उम्मेदवार हुन् ।

‘राना र चौधरी गरी दुवै थारु समुदायबाट प्रदेशतर्फ समानुपातिकमा प्रतिनिधित्व गरेका छौं, हामीले । वाम गठबन्धनले त्यस्तो प्रतिनिधित्व गराएको छैन,’ साउद भन्छन्, ‘दलितका बलिया नेता हुँदा हुँदै पनि उनलाई उम्मेदवारीबाट वञ्चित गराएका छन् ।’

उनका अनुसार कञ्चनपुर-२ मा दलितको जनसंख्या करिब १६ प्रतिशत छ ।

उक्त क्षेत्रमा राप्रपाको पनि राम्रो भोट रहेको मानिन्छ, जसले साउदलाई समर्थन गरेको छ । झिनो मत रहेको नयाँशक्ति पार्टीसँग पनि कांग्रेसको चुनावी तालमेल छ ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरका तत्कालीन चार वटै क्षेत्र कांग्रेसले जितेको थियो । अहिलेको क्षेत्र नम्बर २ मा परेका साविकका तीन गाविस साउदको क्षेत्रमा पर्छन् ।

बाढी पीडित र आरक्षका कारण विस्थापित भएको जनसंख्या बढी छ, यस क्षेत्रमा । र, पीडितमध्ये राना र चौधरी समुदायको संख्या बढी छ ।

०७० सालमा हाल कांग्रेसको प्रत्यक्षतर्फका उम्मेदवार बहादुरसिंह थापासँग पराजित भएका थिए, अहिले वाम गठबन्धनका उम्मेदवार बनेका नरबहादुर धामी ।

धामी एमाले भातृ संगठन अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष रहिसकेका नेता हुन् ।

पूर्वसांसद टेकेन्द्र भट्टलगायतले प्रतिनिधिसभामा माओवादीबाट टिकटको आकांक्षा गरेका थिए । एमालेले टिकट पायो । त्यो असन्तुष्टि कायमै देखिन्छ ।

पूर्वसांसद दुर्गा खुना कांग्रेस प्रवेश गर्दै थिइन् । तर, माओवादीले बीचमै कब्जामा लिएर उनलाई कांग्रेस प्रवेश गर्न दिएन । अर्का प्रभावशाली नेता घाँसीराम राना कांग्रेस प्रवेश गरिसकेका छन् । त्यसले राना थारु समुदायको मत आकषिर्त् हुने कांग्रेस नेताहरुको विश्वास देखिन्छ ।

झलारी र कृष्णपुर पहिलेदेखि नै कांग्रेसको राम्रो पकड भएका नगरपालिका हुन् । बजार क्षेत्रमा डडेलधुरा सेन्टिमेन्टको राम्रो बसोबास छ । वेदकोटमा एमालेको पकड राम्रो मानिन्छ । र, माओवादीको कृष्णपुरको उत्तरी भेगमा पकड देखिन्छ ।

स्थानीय मतदाता अर्जुन सिंहको भनाइमा स्थानीय तहमा वाम गठबन्धनको ११ हजार मत थियो । शुक्लाफाँटाका तीन वटा वडाबाहेक सबै गठबन्धनले नै जितेको छ ।

धामी बैतडीमा जन्मेर सुडामा बसोबास गरिरहेका नेता हुन् । साविकको पिपलाडी गाविसमा करिब ७० प्रतिशत बैतडी सन्टिमेन्टको बसोबास छ । धामीकै गाउँका मानिस हुन् उनीहरु ।

कांग्रेस प्रदेशसभाका उम्मेदवार थापाको भनाइमा सबै दलको सैद्धान्तिक मत २५ देखि ३० प्रतिशत मात्र हुन्छ । ‘एजेन्डा र व्यक्तित्वका कारण आउने हो अरु भोट । सेन्टिमेन्टल मत सीमित हुन्छन्,’ उनी भन्छन्, ‘त्यसैले कांग्रेसका तीनै जनाले जित्छौं ।’

यस्ता छन् एजेन्डा

विकास र समृद्धिलाई साउदले चुनावी नारा बनाएका छन् ।

स्थानीय रुपमा चुरे संरक्षण, धार्मिक पर्यटन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिडोर र मध्यवर्ती क्षेत्रमा सडक निर्माण उनका स्थानीय एजेन्डा हुन् ।

एक वर्षभित्र अव्यवस्थित बसोबासको समस्या समाधानमा ठोस काम गर्ने साउदले मतदातालाई बताउने गरेका छन् ।

आफू मन्त्री भएपछि कञ्चनपुरको समग्र बजेट तीन सय प्रतिशतले वृद्धि गरेको कुरामा जोड दिने गरेका छन् । ‘त्यसयता कञ्चनपुरमा अभूतपूर्व विकास भएको छ र पाँच वर्षभित्र विकासको परिणाम देखिनेछ,’ साउद भन्छन् ।

एक परिवार एक रोजगारको नारा दिएका छन्, युवाका लागि ।

एमाले उम्मेदवार धामी भने यसपटक मतदाताले परिवर्तन चाहेकाले आफ्नो विजय सुनिश्चित रहेको बताउँछन् । भन्छन्, ‘साउदले दुई-दुई जितेर आफूहरुलाई ढाँटेको मनोविज्ञान मतदातामा पाएको छु, त्यसैले यसपटक मेरो पालो ।’

एकाध मानिसलाई पार्टी प्रवेश गराउनु एक प्रकारको सन्देश दिने रणनीति मात्र भएको धामीको भनाइ छ । भन्छन्, ‘प्रचारबाजी मात्र हो यो । भित्री रुपमा मतदाता कांग्रेस प्रवेश गरेका छैनन् ।’

अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने वाम गठबन्धनको चुनावी एजेन्डा हो । नापी आयोग गठन गरेर दुई वर्षभित्रमा जग्गा सम्बन्धि समस्या पूरै समाधान गर्ने योजना रहेको धामी बताउँछन् ।

नदी कटानबाट प्रभावित जनसंख्या, सुकुम्बासीहरुको व्यवस्थापन, आरक्षण पीडितको मुद्दा सुनुवाइ र मुक्त कमैयाको व्यवस्थापन उनका चुनावी एजेन्डा छन् ।

कांग्रेसले मतदाता किन्ने चलखेल गरिरहेको धामीको आरोप छ । साउद भने यस क्षेत्रमा कांग्रेसलाई मत खरिद गर्नुपर्ने कुनै आवश्यकता नभएको र आफ्नै जनाधार चुनाव जित्न पर्याप्त रहेको दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment