Comments Add Comment

काठमाडौंमा पानी पर्‍यो, मनाङमा हिमपात

चुनावको दिन बादल लाग्छ, पानी पर्दैनः मौसमविद श्रेष्ठ

बुधबार बिहान पानी परेपछि काठमाडौं बबरमहल क्षेत्रको दृष्य । तस्वीर: सञ्चु ब्लोन ।

२० मंसिर, काठमाडौं । मौसम बदलीका कारण काठमाडौं उपत्यकामा हल्का पानी परेको छ । मनाङ लगायतका हिमाली जिल्लामा भने हिमपात भएको छ ।

मौसमविद समीर श्रेष्ठले काठमाडौं र ललितपुरमा हल्का पानी परेको जानकारी दिए । उनका अनुसार भक्तपुरमा भने पानी परेको छैन ।

यस्तै पश्चिम नेपालका धेरैजसो हिमाली बस्तीमा हिउँ परेको श्रेष्ठले बताए । उनले भने, ‘हिउँ कहाँ-कहाँ कति पर्‍यो भनेर नाप्ने कण्डिसन हामीसँग छैन तर पश्चिमका धेरैजसो हिमाली जिल्लाहरुमा हिउँ परेको अहिलेको मौसमको अवस्थाले देखाउँछ ।’

मनाङ जिल्लामा पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको बेला माथिल्लो क्षेत्रमा हिउँ परे पनि तल्ला बस्तीहरुमा हिउँ परेको भने यस वर्षकै पहिलो हो । मनाङका भ्राका, टंकी लगायत बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् । नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिउँ परेको छ । सुक्खा जमिनमा हिउँ परेपछि स्थानीयबासी बाली सप्रिने आशले खुसी भएका छन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार सदरमुकाम चामेमा हिउँ नपरे पनि मंगलबारदेखि नै पानी परिरहेको छ । चिसो पनि अत्यधिक बढेको छ । पन्तले अनलाइनखबरसँग भने, ‘चामेमा अहिले पनि सिमसिमे पानी परिरहेको छ ।’

मौसमविद श्रेष्ठका अनुसार अरब सागरको चक्रवातको असरका कारण नेपालमा हिउँ र पानी परेको हो । यसको प्रभाव आजबाट बिस्तारै कम हुँदै गए पनि असर भने अझै केही दिनसम्म कायम रहने श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले भने, ‘निर्वाचनको दिन अधिकांश जिल्लामा बादल लागे पनि पानी भने नपर्ने अनुमान गरिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment