Comments Add Comment

चुनावको गर्मीमा सोनामायाको तात्तातो चिया !

२० मंसिर, सिमरा । अहिलेको चिसो मौसम चुनावी माहोलले गर्माएको छ । यहि गर्माहटले सोनामाया गुरुङलाई कम्ता फुर्तिलो बनाएको छैन । जसै चुनावको चहलपहल बढ्दो छ, उनको चियाको माग पनि ।

‘अहिले त भ्याइ नभ्याई छ, अहिले मनग्ये चिया बेचिरहेकी छु,’६३ वर्षीया सोनमायाले हतारमै सुनाइन्, ‘अरुबेला १० लिटर दूधको चिया बेच्न मुस्किल हुन्थ्यो । अहिले त दोब्बर जस्तै बिक्री छ ।’

बाराको जितपुरसिमरा, रजघट्टा चोकमै छ सोनामायाको सानो चिया पसल । अहिले नेतादेखि उम्मेदवारसम्मको गफ गर्ने थलो बनेको छ त्यो । यतिबेला त मौन अवधी । प्रचार प्रसारमा हिँडेर केहि समयका लागि भएपनि विश्राम लिइरहेका नेता-कार्यकर्ताको उनको चिया पसलमा मेला लागेको छ ।

उनीहरु तात्तातो चिया घुट्काउँछन् । र, चुनावी अड्कलबाजी गर्छन् ।

सोनामायालाई चुनावी गणितप्रति उस्तो ज्ञान छैन । यद्यपि चुनावी माहोल राम्रैसँग गर्माएको उनले महसुस गरेकी छन् । किनभने उनको चिया पसलमा चिया जत्तिकै तात्तातो बहस हुने भनेकै चुनावी हिसाब-किताबको हो ।

२० वर्षकै उमेरमै धादिङबाट बसाइँ सरेर बारा आइपुगेकी उनको जीवन त्यही चियाले धानेको छ । उनको अहिले जेठो नाती २० वर्षको पुग्न लागे । तर, सोनामायाको दैनिकी फेरिएको छैन । हिजो जस्तै आज पनि उनका पाका हातहरु चिया बनाउन चलायमान छन् ।

निकै फुर्तिली छिन् उनी, नजिकैको दूध डेरीका कर्मचारीले दूध घरैमा ल्याइदिन्छन् । अरुबेला १० लिटर जति दूधको चिया बिक्ने गर्दथ्यो । तर अहिले चुनावी अभियान सुरु भएयता दोब्ब्ार बिक्री भइरहेको उनको अड्कल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment