Comments Add Comment

धुर्मुसले भने: हामीलाई राजनीतिक विबादमा फसाइयो

अहिले सर्बत्र राजनीतिको मात चढेको छ । यस्तोमा मौकामा चौका हान्नेहरु तिब्र रुपमा सलबलाउन थालेका छन् । यस्तै धूर्तहरुको चपेटामा परे, धुर्मुस-सुन्तली ।

‘हामीलाई जोडेर सर्वसाधरणमा अन्यौल र हामीलाई बिवादित बनाउने प्रयास भएको छ’ धुर्मुसले अनलाइनखबरसँग भने, ‘यसरी झुटको खेती गर्नेहरुको हावा कुरा नसुन्न सवैमा आग्रह गर्छु ।’ भएको के रहेछ त ? हामीले बुझ्न खोज्यौं ।

एकथरी मिडियाले लेखेछन्, ‘धुर्मुस-सुन्तलीले बाम गठबन्धनका लागि भोट मागे ।’ अर्काथरीले थपेछन्, ‘धुर्मुस-सुन्तली कांग्रेसको पक्षमा उभिए ।’ यसरी आपसमा बाझिने झुटो खबर फैलाएर धुर्मुस-सुन्तली नाममा नानाभाँती गरिएको रहेछ । आफ्नो अनलाइनको ‘भ्यूज’ बढाउने वा अन्य स्वार्थले यस्तो कपोलकल्पित खबर फैलाउनेहरुप्रति धुर्मुसले रोष प्रकट गरेका हुन् ।

हास्य कलाकारिताको आलोकमा उभिएर समाजसेवामा खटिएका छन् धुर्मुस सुन्तली । अहिले उनीहरु रौतहटको सन्तपुरमा बाढी पीडितका लागि एकिकृत नमुना बस्ती बनाउन खटिएका छन् ।

कलाकारिताबाट प्राप्त नेम र फेमलाई समाजसेवामा जोडेपछि उनीहरुले देशबिदेशमा लाखौं शुभचिन्तक कमाएका छन् । यस्तो पृष्टभूमीमा धुर्मुस-सुन्तलीको नामलाई ‘दुरुपयोग’ गर्नेहरु पनि सक्रिय छन् ।

त्यसो त ‘अनलाइन’ सञ्चालनको नाममा भ्रमित, कपोलकल्पित कुरा राख्ने, अश्लिल एवं हिंस्रक तस्वीर र खबर लेख्नेहरुको अहिले बिगबिगी छ । खासमा यस्ता कृत्य गर्नेलाई साइबर क्राइम अन्र्तगत कारबाही गरिन्छ । यद्यपी नेपालमा साइबर अपराध नियन्त्रणका लागि फितलो संयन्त्र भएकाले अहिले ‘मौकामा चौका’ हान्नेहरु सक्रिय भएका हुन् । यस्ता ‘हावा खबरहरुको’ पछाडि नलाग्न धुर्मुसले आफ्ना शुभचिन्तकप्रति आग्रह गरेको छ ।

‘हामीलाई बिवादित बनाउनेगरी भ्रामक समाचार सम्प्रेषण गरेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीहरुले कुनै राजनीतिक दल, समुह वा व्यक्तिलाई भोट हाल्न कहि, कतै, कहिल्यै र कसैलाई पनि आह्वान गरेका छैनौं’ भन्दै धुर्मुसले फेसबुकमा लेखेका छन् ।

स्वतन्त्र नागरिक भएर विशुद्ध रुपमा सामाजिक काममा अघि बढिरहेको बेला यस प्रकारका समाचाले दु:खी बनाएको उनले जनाएका छन् । यस्ता नियोजित समाचारप्रति आपत्ती जनाउँदै माघ २४ गते वस्ती निर्माण पुरा गर्ने अठोटलाई सफल पार्न सधै साथ र सहयोगको अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment