Comments Add Comment

निरुता भन्छिन्-‘नेपाली फिल्मको याद आउँछ, कमब्याकको प्रतिक्षा गर्दैछु’


नायिका निरुता सिंह नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडिसम्म निकै सक्रिय थिइन् । निरुताले अभिनय गरेका हरेक चलचित्रले बक्स अफिसमा कमालको व्यापार गर्थे । निरुता आफ्नो समयमा नायक बराबरको पारिश्रमिक लिन्थिन् ।

तर, समयको परिवर्तनसँगै निरुताको करिअर पनि कमजोर बन्दै गयो । पछिल्ला केही चलचित्र असफल भएपछि निरुता मुम्बई हानिइन् । तर, नेपाल बाहिर आयोजना हुने गरेका विभिन्न अवार्डले निरुतालाई पुराना यादहरु ताजा बनाउने बाटो बनाइदिएको छ । गतबर्ष सिक्किममा आयोजना भएको ‘इनास अवार्ड’मा सहभागी हुन पुगेकी निरुता यो बर्ष यूएइको अवुधाबीमा आयोजना भएको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा सहभागी हुन पुगिन् ।

यूएइमा आयोजित अवार्डमा आकर्षणको केन्द्रमा रहेकी निरुतालाई दर्शकले स्टेजमा गीत गाउँदै गर्दा ‘वान्स मोर’ भने । नायिका निरुता अवार्ड समारोहमा गायिका बनिन् ।

उनै, निरुताले चलचित्र क्षेत्रमा फर्कने चाहना व्यक्त गरेकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै निरुताले भनिन्-‘नेपाली चलचित्रमा आएको परिवर्तनले निकै खुशी लागेको छ । मलाई चलचित्र क्षेत्रमा फर्किन मन छ । तर, गतिलो कमब्याकको प्रतिक्षामा छु ।’

निरुताले अब, सामान्य चलचित्रबाट कमब्याक गर्न नहुने सोच राखेकी छिन् । तर, उनलाई अहिले त्यस्तो विशेष चलचित्रको कथा बोकेर कुनै पनि निर्माता अफर गर्न पुगेका छैनन् । यसैले, उनी विशेष कथाको प्रतिक्षामा छिन् । निरुताले भनिन्-‘म कमब्याक गर्न चाहन्छु । तर, सामान्य कथा र फितलो प्रस्तुतीमा कमब्याक गर्नुको अर्थ छैन । यसैले, राम्रो कथा खोजिरहेको छु ।’

निरुताले चलचित्र क्षेत्रको खुबै याद आउने सुनाइन् । यूएइमा नेपाली चलचित्रका कलाकार, पत्रकारसँग भेट गर्न पाउँदा निकै हौसिएकी निरुताले पुराना दिनहरुको याद आएको सुनाइन् ।

निरुता अवार्डपछि आयोजना भएको रात्रीकालिन भोजमा सहभागी हुँदा झनै खुशी देखिएकी थिइन् । उनी, कलाकारका प्रस्तुतीमा हौसला दिइरहेकी थिइन् ।
एक सफल नायिकालाई नेपाली चलचित्र क्षेत्रले ‘मिस’ गरिरहेको छ । दर्शक पनि निरुताको कमब्याको प्रतिक्षामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment