Comments Add Comment

चुनावको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आयोगको अपील

परिचय खुल्ने सरकारी प्रमाणपत्रका अाधारमा भोट हाल्न पाइने

२० मंसिर, काठमाडौं । दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ ।

४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क भएर मतदान गर्न जान आयोगले अपील गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने-”एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ ।”

यो निर्वाचनबाट नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने भएकोले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्ने प्रमुख आयुक्त यादवले बताए ।

४४ सय ८२ उम्मेदवारवीच प्रतिस्पर्धा हुँदै

दोस्रो चरण अन्तर्गत भोलि हुने चुनावमा जम्मा चार हजार ४८२ जना उम्मेदवारहरुवीच प्रतिस्पर्धा हुने छ ।

प्रतिनिधिसभाका १२८ सिटका लागि एक हजार ६६६ र प्रदेशसभाका २५६ सिटका लागि विभिन्न दल र स्वतन्त्र गरी दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि पाँच हजार ८ सय ३८ जना रहेका छन् ।

दोस्रो चरण अन्तर्गत बिहीबार हुने ४५ जिल्लामा जम्मा मतदाता एक करोड २२ लाख ३९ हजार ९९३ जना रहेका छन् ।

परिचय खुल्ने सरकारी प्रमाणपत्रका अाधारमा भोट हाल्न पाइने

निर्वाचन आयोगले मतदान गर्ने अधिबारबाट बञ्चित नहुन भनी परिचय खुल्ने सरकारी प्रमाणपत्रहरुबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।

कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा नागरिकताको प्रमाणपत्र वा ०७० को मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्ने व्यवस्था गरिएको प्रमुख आयुक्त यादवले जानकारी दिए ।

यस्तै राहदानी वा सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य कुनै परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको प्रमुख आयुक्त यादवले बताए ।

अपाङ्गता र जेष्ठ नागरिकलाई प्राथमिकता

भोलि हुने चुनावका लागि अपाङगता भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिन आयोगले आग्रह गरेको छ ।

कुनै पनि मतदान केन्द्रमा अशक्त भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिएर सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको हो आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment