शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com

पक्राउ परेको तीन घण्टामै छुटे गुण्डानाइके सेक्सी मिलन

अनलाइनखबर

२० मंसिर, काठमाडौं । चुनावका बेला शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै प्रहरीले पक्राउ गरेका बानेश्वर क्षेत्रका गुण्डा नाइके सेक्सी मिलन भनिने मिलन श्रेष्ठ तीनघण्टामै छुटेका छन् । कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारको दबावमा उनलाई छाडिएको प्रहरी स्रोतले जनाएको छ ।

बानेश्वरलाई आधार क्षेत्र बनाएर लामो समयदेखि गुण्डागर्दी, अबैध असुली जस्ता गतिविधि गर्दै आएका मिलनलाई सो क्षेत्रमा ‘सेक्सी’ उपनामले चिनिन्छन् । उनका नातेदार काठमाडौं क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा उम्मेदवार छन् ।

मतदानको अघिल्लो दिन दाजु पक्राउ परेपछि उम्मेदवारले प्रकाशमान सिंहलाई सेक्सी मिलन छुटाउन आग्रह गरेका थिए । सिंहको दबावमा उनलाई कुनै पनि गलत हर्कत नगर्ने बचनपछि छाडिएको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता रामदत्त जोशीले मिलन सेक्सी पक्राउ परेको स्वीकार गरे । तर, उसले कुनै गलत गतिविधि नगर्ने र त्यस्तो गतिविधिको आधार पनि नभेटिएकाले रिहा गरिएको जोशीले बताए ।

प्रहरीले अन्य क्षेत्रमा पनि गुण्डागर्दीमा संलग्न व्यक्तिलाई निगरानीमा राखेको बताएको छ । यसअघि स्थानीय चुनावमा पनि प्रहरीले गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले विशेष निगरानी राख्ने गरेका गुण्डा नाइकेहरु दीपक मनाङ्गे, गणेश लामा र मीनकृष्ण महर्जन तीनैजना आफैं उम्मेदवार भएका कारण पनि काठमाडौंमा गुण्डाहरुको चहल पहल खासै देखिएको छैन ।

२०७४ मंसिर २० गते १७:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this