Comments Add Comment

दाङमा वामको बर्चस्व, प्रदेशसभामा चौधरीले कांग्रेसको साख जोगाए

प्रदेश र प्रतिनिधिसभामा कसले हारे ? कसले जिते ?

२४ मंसिर, घोराही । दाङमा प्रतिनिधिसभा सदस्यका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभामा भने कांग्रेसले एक सिट जित्दै साख जोगाउन सफल भएको छ ।

दाङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार मेटमणि चौधरी निर्वाचित भएका छन् । पहिलो पटक आम चुनाव लडेका मेटमणिले पूर्वसांसद एवम् नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराए ।

कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्रनम्बर १ मा जित निकाल्ने क्रममा मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गरे । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी छन् ।

यसैगरी दाङ क्षेत्रनम्बर २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी भएका छन् । महराले कांग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराए ।

महराले ४० हजार ४२ मत पाए भने खनालले २५ हजार ८९७ मत पाएका छन् । महरा पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्रनम्बर ३ बाट विजयी भएका थिए ।

दाङ क्षेत्रनम्बर ३ मा पनि वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी निर्वाचित भएका छन् । एमाले दाङ जिल्ला सचिव समेत रहेका युवा नेता केसीले कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व सिचाइँ मन्त्री दीपक गिरीलाई पराजित गरे ।

केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाए । उनीहरुबीचको मतान्तर ६ हजार ५५७ छ ।

इन्द्रजितले इतिहास दोहोर्‍याए, रेवतीरमणले तेस्रो प्रयासमा बाजी मारे

दाङ क्षेत्रनम्बर १ मा निर्वाचित उम्मेदवारहरु रेवतीरमण शर्मा, इन्द्रजित चौधरी र मेटमणि चौधरी (वायाँबाट क्रमशः) ।

दाङ क्षेत्र नम्बर १ मा प्रदेशसभा तर्फ पनि वाम गठबन्धनका दुबै उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्रनम्बर १ ‘क’मा पूर्वसभासद एवम् माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित चौधरी विजयी भए । उनले कांग्रेसका प्रदीप थापालाई ५ हजार ८९३ मतान्तरले हराए ।

इन्द्रजितले १७ हजार २८५ र प्रदीप थापाले ११ हजार ३९२ मत पाएका छन् ।

इन्द्रजितले पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्रनम्बर १ मा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई पराजित गरेका थिए ।

क्षेत्रनम्बर १ ‘ख’मा पनि वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्मा निर्वाचित भएका छन् । संविधानसभाका दुबै निर्वाचनमा हार व्यहोरेका शर्माले तेस्रो लडाइँ जिते र प्रदेशसभा सदस्य बने ।

उनले कांग्रेसका जानकीलाल बस्नेतलाई ६ हजार ६०१ मत अन्तरले हराए । शर्माले १९ हजार ३५४ र बस्नेतले १२ हजार ७५३ मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्रीका दावेदार शंकर पोखरेल पनि निर्वाचित

प्रदेशसभा तर्फ क्षेत्रनम्बर २ ‘क’मा पाँच नम्बर प्रदेशको सम्भावित मुख्य मन्त्री एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । उनले कांग्रेसका कमल किशोर घिमिरेलाई ९ हजार ५५१ मतान्तरले पराजित गरे । पोखरेल २० हजार ७२३ मत पाएर निर्वाचित हुँदा घिमिरे ११ हजार १७२ मतमा रोकिए ।

पोखरेल दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार वुद्धिराम भण्डारीसँग पराजित भएका थिए । अहिले पोखरेल निर्वाचित हुँदा भण्डारी प्रदेशसभाको क्षेत्रनम्बर ३ ‘ख’मा पराजित भएका छन् ।

प्रदेशसभा तर्फकै क्षेत्रनम्बर २ ‘ख’मा एमालेका अमरबहादुर डाँगी विजयी भए । घोराही नगरपालिकाको पूर्वमेयर समेत रहेका डाँगी २१ हजार ४५० मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १९० मत पाएका छन् ।

डिल्लीबहादुर चौधरी

प्रदेशसभा तर्फ क्षेत्रनम्बर ३ ‘क’मा कांग्रेसका डिल्लीबहादुर चौधरीले पार्टीको साख जोगाएका छन् । दाङमा वाम गठबन्धनले बर्चस्व जमाइरहेका बेला चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’लाई २ हजार ३३६ मत अन्तरले हराउँदै कांग्रेसलाई क्लिनस्वीप हुनबाट जाेगाउन  सफल भए ।

श्रम तथा रोजगार राज्यमन्त्री समेत रहेका चौधरी १७ हजार ३६ मतसहित निर्वाचित हुँदा शर्मा १४ हजार ७०० मतमा रोकिए ।

रुकुम घर भएका शर्मालाई दाङबाट उम्मेदवार बनाइएको भन्दै माओवादीभित्र चुलिएको असन्तुष्टिको फाइदा चौधरीले लिएको बताइन्छ । शर्माविरुद्ध माओवादी केन्द्रका पुराना नेता कुबेर ओलीले वागी उम्मेदवारी दिए पनि पछि फिर्ता लिन लगाइएको थियो ।

प्रदेशसभा तर्फ क्षेत्रनम्बर ३ ‘ख’मा भने वाम गठबन्धनबाट एमाले उम्मेदवार उत्तरकुमार ओली निर्वाचित भएका छन् । ओलीले कांग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारीलाई ६ हजार ४३५ मतान्तरले हराएका छन् ।

ओलीको पक्षमा २३ हजार ९७० मत परेको छ भने भण्डारीले १७ हजार ५३५ मत पाएका छन् । दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले एमाले नेता शंकर पोखरेललाई हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment