Comments Add Comment

पहाडमा कांग्रेसलाई हराउने वामपन्थी मधेसमा सोत्तर !

प्रदेश नम्बर २ मा राजपा र फोरमको सानदार जित

२४ मंसिर, काठमाडौं । एमाले-माओवादीको वाम गठबन्धनले हिमाली र पहाडी क्षेत्रमा एकपछि अर्को सफलताको झण्डा फहराइरहेका छन् । कांग्रेस धेरै ठाउँमा हारेको छ । तर, प्रदेश नम्बर २ को अवस्था चाहिँ ठीक उल्टो छ । पहाडमा वाम गठबन्धनले बाजी मारेजस्तै मधेसमा राजपा-फोरमको गठबन्धनले बाजी मारेका छन् ।

पहाडमा वामपन्थीहरुको लहर आएको छ । कांग्रेस नेता रामचन्द्र पौडेलसहितका थुप्रै हस्तीहरु बामपन्थीको लहरमा बडारिएका छन् । रसुवा मात्रै एउटा यस्तो जिल्ला हो, जहाँ वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा गुमाएका छन् ।

पहाडमा जस्तै तराई मधेसमा मधेसकेन्द्रित दलको लहर आएको छ । मधेसको यो बाढीमा कांग्रेस मात्रै होइन, वामपन्थीहरु पनि बगेका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्लामा प्रतिनिधिसभाका ३२ सिट छन् । अहिलेसम्म १५ सिटको अन्तिम परिणाम पनि आइसकेको छ । तर, वाम गठबन्धनले दुई सिट मात्रै जितेको छ । माओवादीका प्रभु साह रौतहट ३ बाट जितेका छन् भने एमालेका लीलानाथ श्रेष्ठले सिरहा ३ बाट जितेका छन् ।

जारी मत गणनामा पनि मात्र ४ सिटमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । केही सिटमा दोस्रो स्थानमा रहे पनि तीव्र प्रतिस्पर्धामा छन् । तर, उनीहरु जिते पनि यो परिणाम वाम गठबन्धनले सोचेभन्दा प्रतिकुल नै हुनेछ ।

मधेसकेन्दि्रत राजपा र फोरमसँग चुनावी तालमेल गर्ने कांग्रेसको प्रयास असफल भएपछि एमाले र माओवादी नेताहरुले मधेसमा कम्तिमा १३/१४ सिट जित्ने विश्लेषण गरेका थिए । त्यसको मुख्य आधार आफ्नाविरुद्ध कांग्रेस र मधेसवादी एक नुहुनु अनि असोजमा भएको स्थानीय तहमा दुई पार्टीले ल्याएको मत थियो ।

तर, प्रतिनिधि र प्रदेशसभा चुनावमा वामपन्थी गठबन्धन मधेसमा निकै कमजोर देखिएका छन् । धेरै ठाउँमा त वाम गठबन्धन निकै कम मतका साथ तेस्रो स्थानमा रहेका छन् । केही जिल्लामा प्रतिनिधिसभा सिट नै नजित्ने अवस्था देखिन्छ ।

तराई मधेसमा कांग्रेसको अवस्था वामपन्थी गठबन्धनको भन्दा धेरै फरक छैन । कांग्रेसले तीन सिटमात्रै जितेको छ भने तीन सिटमा मात्रै अग्रता लिएको छ ।

पहाडमा वामपन्थीले पाएजस्तै मधेसको भोट किन मधेसी गठबन्धनमा खनियो त ? यसका केही कारण छन् ।

पहिलो कारण हो राजपा र फोरमवीचको चुनावी तालमेल । दशैंको बीचमा जसरी एमाले र माओवादीले चुनावी तालमेल गरे, त्यसरी नै फोरम र राजपा पनि मिले । स्थानीय चुनावमा उनीहरु एक्लाएक्लै लडेका थिए ।

स्थानीय तहको चुनावमा सहभागितालाई लिएर फोरम र तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दलबीच दुरी बढेको थियो । मधेसी मोर्चामा आवद्ध ६ दलले राजपा गठन गरेपछि पनि यो दुरी मेटिएन, बरु बढ्यो । प्रदेश २ को स्थानीय तहको चुनावमा पनि फोरम र राजपा एक्लाएक्लै लडे ।

यसको लाभ कांग्रेस, एमाले र माओवादीले लिए । तर, प्रदेश र प्रतिनिधि सभाको पूर्वसंख्यामा दुई दलले चुनावी तालमेल मा गरेनन्, सहजरुपमै सिट बाँडफाँड गरे । टिकट नपाएको झोकमा राजपाका केही नेताहरुले पार्टी छाडेर बागी उम्मेदवारी समेत दिए । तर, चुनावमा उनीहरु टिक्न सकेनन् ।

मधेसी गठबन्धनको पक्षमा हलर नै चलेको देखिए । उसका सबै शीर्ष नेता सहजै जिते । त्यतिमात्रै होइन, कांग्रेस वा वाम गठबन्धन बलियो रहेको भनिएका क्षेत्रमा पनि मधेसी गठबन्धन नै हावी भएको छ । ‘जसरी पुरै पहाडमा वाम एकताले पार्टीहरुको बीचमा मात्र होइन, मनोवैज्ञानिक रुपमा नै गठबन्धन भयो । मधेसमा पनि त्यही भएको छ’ विश्लेषक तुलानारायण साहले भने ।

दोस्रो कारणः कांग्रेस र फोरम-तमलोपाबीच चुनावी तालमेल हुन नसकेपछि लागेको थियो, मधेसमा त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ । तर, यो गलत सावित भयो । मुद्दाका हिसावले मधेसमा दुई पक्षीय प्रतिस्पर्धा नै भयो ।

राजपा-फोरमले यो चुनावलाई आन्दोलनकै रुपमा व्याख्या गरे, संविधान संशोधनको नारा दिए । कतिसम्म भने दिनभर घरदैलो गर्ने र राति मधेस आन्दोलनमा क्रममा भएको दमनको भिडियो/अडियो टोलटोलमा देखाए । यसले यो चुनाव संविधान पक्षधर र विरोधीको जनमत संग्रहको रुपमा रहृयो ।

यसले आफू अझै संविधान संशोधन पक्षपाती रहेको भन्ने कांग्रेसको नारा पनि मधेसमा बिकेन । कांग्रेस कहाँ चुक्यो भने उसले न त यो संविधानको विरोध गर्‍यो, न समर्थन नै गरेर चुनावमा गयो । दिल्ली जाँदा संविधान संशोधन गर्नुपर्छ भनेको उसले अमेरिका जाँदा संशोधन गर्नुपर्दैन भन्यो । फलस्वरुप कांग्रेसलाई मधेसीले पनि भोट दिएनन् र पहाडेले पनि दिएनन् ।

चुनावमा मधेसी दल संविधानको विरोध गर्ने र कांग्रेस, एमाले माओवादी संविधान जारी गर्ने शक्ति बने । उम्मेदवारहरुले पाएको भोट हेर्दा जसले पनि देखिन्छ कि संविधानको विरोध गर्‍यो, उसले भोट पायो । माओवादीका प्रभु साह र कांग्रेसका प्रदीप गिरीले पाएको भेटले पनि यही संकेत गर्छ ।

‘यो प्रतिरोधको मत हो, मधेस जमेर प्रतिरोधको मुडमा छ’ मधेसको चुनावी परिणामलाई नजिकबाट हेरिरहेका राजनीतिक विश्लेषक तुलानारायण भन्छन्, कांग्रेसलाई एमाले र माओवादी भन्दा फरक मतले हेर्दै हेरेको छैन ।’

मधेसी गठबन्धनका उम्मेदवारहरुले पाएको मत हेर्दा मधेसमा कांग्रेसी र वामपन्थी मध्यमार्गी भोटरले मधेसी दललाई भोट दिएको सहजै अनुमान गर्न सकिन्छ ।

मधेसको पूर्ण चुनावी परिणाम आउन अझै केही दिन कुर्नुपर्छ ।

यो समाचार तयार पार्दासम्म मधेसी गठबन्धनमा रहेको संघीय फोरमले ५ र राजपाले ५ सिट जितेका छन् । गणना जारी रहेका १० सिटमा दुई दलको अग्रता छ ।

यसरी हेर्दा प्रदेश २ का ३२ मध्ये २० भन्दा बढी सिटमा मधेसी गठबन्धन जित्ने देखिन्छ । प्रदेशसभामा पनि मधेसी गठबन्धनको बहुमतको सम्भावना छ ।

यो चुनावी परीणामसँगै संविधान संशोधनको मुद्दा फेरि जोडतोडले उठ्ने देखिन्छ । यसले राष्ट्रिय राजनीतिमा आगामी दिन मधेस भर्सेस काठमाडौं नै बनाउनेछ । यो संविधान संशोधन मात्र होइन, प्रदेशहरुको अधिकारको सवालमा पनि देखिनसक्छ ।

यो चुनावी परीणामलाई भू राजनीतिक कोणबाट पनि हेरौं । यसरी हेर्दा भारतले खेल्न सक्ने ठाउँ अब मधेस मात्र रहृयो भन्दा फरक नपर्ला । काठमाडौंलाई लगाम कस्न सक्न पहिला कांग्रेस हुन्थ्यो । अब पनि कांग्रेस र मधेस केन्दि्रत दल मिलाउने प्रयास हुनेछ । तर, त्यसको टेक्ने जमिन मधेस नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment