+
+

करुणा कुँवरको जवाफः यसरी हटाउनुस् श्रीमतीको शंका गर्ने बानी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते ९:३६

डा. करुणा नमस्कार,

मेरो विवाह भएको पाँच वर्ष भयो । हाम्रो १७ महिने एउटा छोरा छ । म हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छु । बिदामा घर-आउने जाने भइरहेको हुन्छ । हाम्रो वैवाहिक जीवनमा अरु कुनै समस्या छैन । तर, एउटा समस्या छ । म अरु स्त्रीसँग लसपस गर्छु कि भनेर मेरी पत्नी धेरै शंका गर्छिन । कतिसम्म भने नयाँ-नयाँ नम्बर लिएर, फेसबुकमा फेक आईडी बनाएर मेरो जासुसी गर्छिन् ।

विवाहअघि जे जस्तो भए पनि, विवाहपछि कुनै परस्त्रीसँग मैले शारीरिक-मानसिक सम्बन्ध राखेको छैन । महिला मित्रचाहीँ बाल्यकाल देखिका छन्, २/३ जना । उनीहरुसँग कहिलेकाहीँ सामाजिक सञ्जालमा कुराकानी हुन्छ ।

म आफ्नो वैवाहिक जीवन सुखी र खुशी बनाउन हरदम प्रयास गरिरहेको हुन्छु । तैपनि सधैं उनको शंका गर्ने बानीले हैरान परेको छ । अरु कुनै कारणले हाम्रो झगडा हुँदैन । बस, शंकाले सधैं झगडाको बीउ रोप्छ ।

उनको चाहनाअनुरुप मैले आफ्ना सबै महिला मित्रहरुसँग दूरी बनाएको छु । तैपनि उनको शंका गर्ने बानी हटाउन सकिएन । कृपया उनको शंका गर्ने बानीलाई कसरी ठीक पार्ने होला ?
एस...

मानिसमा सामान्यतया दुई वटा कारणले शंका गर्ने बानीको विकास हुन्छ । पहिलो, आफ्नो मान्छेलाई धेरै माया गर्दा त्यो मानिसबिनाको जीव्ान कल्पना गर्न सकिँदैन । ‘यो मानिसबिना मेरो जीवन समस्यामा पर्छ’ भनेर कसैको मनमा गम्भीरतापूर्वक कल्पना गर्ने बानी पर्‍यो भने उसका बारेमा बढी सोधीखोजी शुरु हुन्छ । यो शंकाभन्दा बढी मायाको संकेत हो । माया नै भए पनि यस्तो खालको मायाले जीवनमा समस्या निम्त्याउने गर्छ । यसका लागि भिन्न किसिमको व्यवहार गर्नुपर्ने हुन्छ ।


अर्को शंका वास्तविकतासँग धेरै नजिक हुन्छ । यसअघि कुनै व्यक्तिले पटक-पटक एकै खालको गलत काम गरेपछि त्यो मानिस शंकाको घेरामा आउँछ । फलस्वरुप उसले गल्ती नगर्दा पनि उसले शंकाको घेरामा पर्नुपर्ने बाध्यता सिर्जना हुन्छ ।

तपाईंको प्रश्न केही अपूरो भए पनि तपाईंका कुराले ती दुवैतर्फ संकेत गर्छ । यही कारण मैले यहाँ दुवै किसिमका लक्षणलाई समाधान गर्ने प्रयास गरेकी छु ।

प्रेमका कारण उब्जने शंका

प्रेम अन्धो हुन्छ । प्रेमले मानिसलाई केही स्वार्थी बनाउँछ । आफूले प्रेम गरेको मानिसले अरु कसैसँग सम्बन्ध नबढाओस्, मेरैअघि मात्र बसिदेओस्, जीवनभर मेरै लागि काम गरोस् र मेरैबारेमा सोचिदेओस् भन्ने सोच्छ । यस्ता व्यक्तिहरुलाई कसैले ‘तिमी गलत गरिरहेकी छौ’ भनेर सम्झाउन खोज्यो भने उनीहरु यसलाई गलत मान्न तयार हुँदैनन् । उनीहरु यसलाई प्रेम ठान्छन् र ‘मैले हाम्रो भलाइका लागि यी काम गरिरहेको’ भन्ने ठान्छन् ।

यस्ता व्यक्तिहरुलाई ‘प्रेममा स्वार्थ हुनुहुँदैन, प्रेमले एक-अर्कालाई बाँध्ने होइन, स्वतन्त्रतामा रमाउनु दिनुपर्छ’ भन्ने कुरा थाहा हुँदैन । अपरिपक्व प्रेममा यस्ता समस्या आउने गर्छन् । तर, यस्ता मानिसलाई ‘समाजमा सबैसँग घुलमिल गर्नु हाम्रो बाध्यता भए पनि म तिमीसँगै प्रेम गर्छु र बाहिर जति मानिससँग संगत गरिरहेको छु, त्यो हाम्रो भविष्यकै लागि हो’ भन्ने बुझाउनुपर्छ । यस्ता व्यक्तिहरुलाई सम्झाएर मात्र पनि पुग्दैन । उनीहरुलाई ती कुराहरुको प्रमाण पनि चाहिन्छ । यसका लागि केही घटनाबाट बुझाउनुपर्छ ।

यसका लागि महिलालाई सम्झाउन माइती पक्षका सम्बन्धहरुलाई उदाहरण दिएर कुरा बुझाउन सकिन्छ भने पुरुषहरुलाई सम्झाउन उसका निकट मित्रहरुसँगको सम्बन्ध कति महत्वपूर्ण छ भनेर बुझाउनुपर्ने हुन्छ । विस्तारै प्रेमको ज्वरो पनि कम भएपछि यस्ता अनावश्यक शंका आफैं हटेर जान्छन् ।

गल्तीका कारण उब्जने शंका

कुनै व्यक्तिले एकै खालका काम गर्‍यो भने ऊ त्यस्तै खालको मान्छे हो भन्ने धारणा उब्जन्छ । यस्तो धारणा कसैमा बलियो भएर गएको अवस्थामा उसले ती काम नगर्दा पनि मानिसले विश्वास गर्दैनन् । मानौं कुनै व्यक्ति रक्सी खान बद्नाम छ भने उसले रक्सी छाडे पनि मानिसले तुरुन्तै विश्वास गर्दैनन् ।

कतिपयले ‘तत्काल उसले रक्सी छाडे पनि भविष्यमा फेरि खान्छ’ भन्ने धारणा पाल्छन् । यस्ता व्यक्तिले रक्सी छाडेको विश्वास दिलाउन वषौर्ं विभिन्न खालको परीक्षाबाट गुज्रनुपर्छ ।

तपाईंको प्रश्नले माथिका दुवै कुराको संकेत गरेको छ । तपाईंले विवाहअघि आफ्नै बालसखीहरुसँग कुनै न कुनै खालको नजिकको सम्बन्ध बढाएको हुनसक्छ । तपाईंको प्रश्नमा पनि यस किसिमका संकेत देखिएका छन् । यो कुरा तपाईंकी श्रीमतीलाई थाहा भएको र उनको खुशीका लागि ती महिला मित्रसँग दूरी बढाएको कुरा पनि तपाईंको प्रश्नमा देखिन्छ ।

शायद तपाईंले आफ्नो सम्बन्ध अरुसँग नभएको कुरा बुझाइरहनु भएको छ । तर, तपाईंकी श्रीमतीलाई अझै तपाईंमाथि पूर्ण विश्वास नभएका कारण फेक आईडी र अर्कै फोनमार्फत् तपाईंको कुरा परीक्षण गरिरहनु भएको छ ।

आजभोलि तपाईंले बाहिर सम्बन्ध राख्नु भएको छैन र बाहिर सम्बन्ध विस्तार गर्न चाहनुहुन्न भने तपाईं यस्ता कुराबाट डराउनु पर्दैन । तपाईंकी श्रीमतीले विस्तारै तपाईंको दृढ निश्चय बुझेपछि विश्वास गरिहाल्नु हुन्छ ।

पहिले तपाईंबाट केही गलत कृयाकलाप भए पनि अहिले सही बाटोमा हिँड्ने निश्चय गर्नु भएको हो भने श्रीमतीको शंका विस्तारै दूर हुन्छ । बरु, अझै बढी माया पाउनु हुन्छ । कोही ठीक बाटोमा आउँछ भने उसको परिवारमा खुस्शीको सञ्चार शुरु हुन्छ र त्यसले घरको मूली बढी फाइदामा रहन्छ ।

मानौं तपाईं पहिले कुनै पनि गलत सम्बन्धमा हुनुहुन्नथ्यो । तपाईंका बालसखीहरु केवल तपाईंका साथी मात्र हुन् । विवाहपछि श्रीमतीको अत्यधिक शंका गर्ने बानीका कारण सबै साथीहरुसँग टाढा हुनु परेको हो भनेचाहिँ यो दुःखद् कुरा हो ।

यो बुँदा नम्बर एकमा भनिएजस्तो तपाईंकी श्रीमतीले तपाईंलाई गरेको अन्धो प्रेमको नतिजा हो । यसले तपाईंलाई केही पीडा दिइरहेको छ भन्ने बुझिन्छ । यसका लागि तपाईंले केही बढी मिहिनेत गर्नुपर्छ ।

कुनै पनि व्यक्ति समाजमा एक्लिएर बस्न सक्दैन । अन्धो मायाले समाजबाट एक्ल्याइदिन्छ । यस्तो वैवाहिक जीवनमा श्रीमान्ले आफ्नो घरपरिवारका मानिससँग टाढा बनाउने र श्रीमतीलाई माइतीबाट टाढा बनाइदिने अवस्था आउँछ ।

त्यसैले यो खतरनाक मायालाई भने चाँडोभन्दा चाँडो व्यावहारिक मायामा परिणत गर्नुपर्छ । यसका लागि बढीभन्दा बढी स्नेह गर्ने, उनलाई पनि सबैसँग घुलमिल गराएर हाम्रो मायाको कोही पनि दुश्मन नभएको बरु सहयोगी रहेको बुझाउने, कुनै गलत मानिस छ भने उनलाई देखाएरै ऊसँग सम्बन्ध तोड्ने र समाजमा मानिस कसरी मिलेर बसेका छन्, त्यो प्रमाणसहित देखाउने गर्नुपर्छ । यसका लागि भने तपाईंले मनोवैज्ञानिकको सहयोग लिने गर्नुपर्छ ।

सत्य कुरा के हो त्यो तपाईंलाई नै बढी थाहा छ, श्रीमतीको शंका अर्थात् ‘ओथेलो सिन्ड्रोम’ दूर गर्न तपाईंले नै केही बढी मिहिनेत गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?