Comments Add Comment

प्रचण्डको जितसँगै चितवनमा वाम गठबन्धनको क्लिन स्वीप

२५, मंसिर, चितवन । २०७० सालको निर्वाचनमा कांग्रेसको सवैभन्दा सुरक्षित क्षेत्र खोज्दै चितवन आएका थिए, तत्कालीन कांग्रेस सभापति शुशील कोइराला ।

साविक चितवनको ४ नम्वर निर्वाचन क्षेत्र कांग्रेसको बलियो क्षेत्र थियो । जहाँबाट कोइराला उम्मेदवार भएर विजयी भए ।

सोही क्षेत्रसमेत समेटिएको हालको चितवन निर्वाचन क्षेत्र नः ३ मा उठन आइपुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।

प्रचण्डलाई पार्टी संगठन बलियो नभएको, अर्को पार्टीले दिने मतमा जित भरपर्ने गरी उठ्न मन लाग्यो । कारण उनी यही नै हुर्किएका थिए । उनको बाल्यकाल र बालसखाहरु यहि भेटिन्थे ।

एमालेसँग भरतपुर महानगरपालिकाको निर्वाचन बढेको तिक्तता मेटाउँदै बढी भन्दा बढी जनतालाई आफ्नो पक्षमा पार्नु चानेचुने कुरा थिएन ।

माओवादीले चलाएको दश वर्षे जनयुद्धमा धेरै नागरिकहरु शिकार भएको ठाँउ बाँदरमुढेसमेत प्रचण्डकै क्षेत्रमा परेको कारण उनी दवावमा थिए ।

अर्कोतिर कांग्रेसकै बलियो प्रभाव क्षेत्रमा प्रभावशाली मानिएका राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे प्रचण्डका प्रतिस्पर्धी थिए ।

यस्ता धेरै आशंका र संसयहरुकावीच अन्नतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन निर्वाचन क्षेत्र नः ३ बाट जित हात पारेका छन् । ”चितवन किन जाने सबै मिलेर हराउँछन्’ भनेर पार्टीकै साथीहरुले भन्दाभन्दै चितवन आएका प्रचण्डलाई यहाँका जनताले जिताएर पठाएका छन् ।

निर्वाचनअघि प्रचण्डले चितवन ३ का जनतालाई दवाव पुग्ने गरी भनेका थिए,”यहाँका जनताले हराएपनि स्वीकार्छु ।’ एमालेसँगको तिक्तता तीव्र गतिमा मेटिएर सबै नेता कार्यकर्ता चुनावी माहौलमा उर्जावान भएर खट्नु प्रचण्डको जीतमा बदलियो ।

उनले प्रतिस्पर्धी उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरे । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा कांग्रेसको सर्मथनमा उठेका पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्रीको जिम्मेवारी पाएका पाण्डे अब ५ वर्ष कुनैपनि संसदीय जिम्मेवारीमा रहने छैनन् ।

चितवन १ मा सुरेन्द्र पाण्डेको दोस्रो ‘इनिङ’

चितवन निर्वाचन क्षेत्र नः १ बाट एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे दोस्रोपटक निर्वाचित बने ।

पाण्डेले चिरपरिचित प्रतिद्धन्द्धी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतको फराकिलो अन्तरले पराजित गरे ।
पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए । पाण्डे र बुर्लाकोटीको यो दोस्रो चुनावी जम्काभेट थियो ।

यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए ।
साविक चितवन निर्वाचन क्षेत्र नः १ मा रत्ननगर नगरपालिकासमेत गाँभिएर बनेको नयाँ क्षेत्रमा प्रतिस्पर्धी दोहोरिएका थिए ।

कांग्रेसको महासमिती सदस्य रहेका बुर्लाकोटी चुनावका बेला चर्चामा आउने गर्दछन् । विजयी भएका पाण्डेले चितवन निर्वाचन क्षेत्र नः १ का लागि १० वटा महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेको बताए । मलेखु भण्डारा चेपाङ मार्ग निर्माणको कामलाई ‘डि्रम प्रोजेक्ट’को रुपमा राखेको उनको भनाई छ ।

शेषनाथको ढोका बन्द गर्दै, चितवन २ मा कृष्णभक्त विजयी

शिक्षा राज्यमन्त्रीसमेत रहेका कांग्रेसका नेता शेषनाथ अधिकारीको सिंहदरवार प्रवेशको ढोका बन्द गराउँदै, एमाले अध्यक्ष कृष्णभक्त पोखरेल चितवन २ बाट निर्वाचित भए ।

पोखरेलले कांग्रेसका उम्मेदवार अधिकारीलाई १७ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले हराए ।

पोखरेलले जितका लागि ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे ।

पोखरेलले यसअघि २०७० सालमा चितवन निर्वाचन क्षेत्र नः ३ बाट जितेका थिए । अधिकारी भने, चितवन २ बाट विजयी भएका थिए ।

चितवनका साविक ५ क्षेत्र ३ वटा बनेपछि पोखरेल र अधिकारी एउटै क्षेत्रमा आइपुगेका हुन् ।

चितवनका पहाडी भूभाग र भरतपुर महानगरको धेरै मतदाता भएका वडाहरु समेटिएको छ यो निर्वाचन क्षेत्रमा ।

निर्वाचित पोखरेलले पहिलोपटक विजयी भएर संविधान निर्माणमा केन्दि्रत हुनु परेकोले यसपटक विकास निर्माणमा जोड दिने बताए ।

प्रदेशसभा सदस्यमा पनि गठबन्धनकै जित

प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र रहेको चितवनको ६ वटा प्रदेशसभा क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारहरु नै विजयी भएका छन् ।

धेरैले अपेक्षा गरेभन्दा फरक नतिजा निकाल्दै वाम गठवन्धनका सवै उम्मेदवारहरु विजयी भएका हुन् ।

चितवन निर्वाचन क्षेत्र नः ३ को (क) र निर्वाचन क्षेत्र नः २ को (क) लाई कांग्रेस उम्मेदवारहरुले जित्न सक्ने लख काटिएको थियो । यद्यपी, यी क्षेत्रबाट समेत वाम गठवन्धनका उम्मेदवारहरु फराकिलो मतसहित विजयी भए ।

निर्वाचन क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) बाट एमाले प्रदेश नः ३ का सदस्य रहेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी भए ।

उनी ७ हजार १ सय ९ मतको अन्तरले विजयी भएका हुन् । लामाले २३ हजार २३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धनवहादुर गुरुङले १५ हजार ९ सय १४ मत प्राप्त ल्याए ।

क्षेत्र नः १ को प्रदेश क्षेत्र (ख) मा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रहेका कृष्ण खनाल विजयी भए । उनी ८ हजार ७ सय २१ मतको अन्तरले विजयी भएका हुन् ।

खनालले २७ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उत्तम आचार्यले १८ हजार ५ सय ११ मत प्राप्त गरे ।

निर्वाचन क्षेत्र नः २ को प्रदेश क्षेत्र (क) मा वामगठवन्धनका उम्मेदवार माओवादी नेता घनश्याम दाहाल विजयी भए ।

दाहालले कांग्रेस चितवनका उपसभापति जितनारायण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतले पराजित गरे । दाहालले २० हजार ८ सय ३१ मत ल्याई जीत हात पार्दा पराजित जीतनारायणले १५ हजार ६ सय ६३ मत ल्याए । दाहाल माओवादी चितवनका जिल्ला सहइन्र्चाज हुन ।

चितवन क्षेत्र नं. २ (ख) मा बाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका एमाले नेता विजय सुवेदी अत्याधिक मतका साथ विजयी भए । उनी ८ हजार ९ सय २ मतको अन्तरले विजयी हुन सफल भए ।

सुवेदीले २१ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरे । सुवेदी एमाले प्रदेश नः ३ का सदस्य हुन् ।

चितवन क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका कृष्ण भुर्तेल विजयी भएका छन् । भुर्तेल १७ सय ४० मतको अन्तरले विजयी भएका हुन् ।

उनले २४ हजार ७ सय ८५ मत प्राप्त गरे भने नेपाली कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत ल्याए ।

क्षेत्र नं. ३ (ख) मा वाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका माओवादी केन्ऽका नेता रामलाल महतो विजयी भए । उनी ९ हजार १ सय ६१ मतको फराकिलो अन्तरले विजयी भएका हुन् ।

रामलाल महतोले २५ हजार ६१ मत प्राप्त गर्दा पराजित उम्मेदवार नेपाली काँग्रेसका साजन महतोले १५ हजार ९ सय ४५ मत प्राप्त गरे । नाताले रामलाल मामा हुन भने साजन भाञ्जा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment