Comments Add Comment

यी नेता, जसलाई जन्मभूमिले गुन लगाएर सिंहदरबार पठायो

कर्मभूमिमा हारेका नेताले गृहजिल्लाबाट बिजयको माला पहिरिए

२६ मंसिर, काठमाडौं । अनलाइनखबर टिम चुनावको चार दिनअघि महोत्तरीको मटिहानी पुग्दा राजपा अध्यक्ष महन्थ ठाकुर आफू जन्मिएको माटोले बोलाएर आएको भन्दै मत माग्दै थिए ।

‘मेरी मिट्टी ने मुझे यहाँपर बुलाई’ जलेश्वरदेखि महिटानीसम्मको घरदैलोमा उनले आफू महोत्तरीकै माटोमा जन्मिएको प्रमाणित गर्न पटक-पटक यो डाइलग दोहोर्‍याएका थिए ।

सर्लाहीबाट लगातार दुई चुनावमा पराजय भोगेपछि महोत्तरीबाट उम्मेदवार बनेका ठाकुरलाई अन्ततः उनको माटोले कहिल्यै नबिर्सने गुन लगाएर पठाइदिएको छ । कर्मभूमिमा पराजयको डरले जन्मभूमि पुगेका नेतामध्ये महन्थ ठाकुरमात्र होइन, अरुले पनि बिजयको माला पहिरने शौभाग्य पाएका छन् ।

मान्छेले बाहिर बसेर जति उन्नति प्रगति गरे पनि आफू जन्मिएको र हुर्किएको ठाउँमा अपनत्व महसुस गर्छ । त्यसैले त आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भनिएको होला । अझ अन्यत्र पराजित भइरहेका राजनीतिकर्मी जन्मभूमि फर्किएर बिजयी हुँदा त्याभन्दा ठूलो गुन जन्मभूमिले अरु के लगाउन सक्छ ?

यो चुनावमा यस्तै केही चर्चित नेताहरु छन्,जसलाई जन्मभूमिले गुन लगाइदिएको छ ।

महन्थ ठाकुरः अध्यक्ष राजपा नेपाल

नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष र पटक पटक मन्त्री बनेका महन्थ ठाकुरले २०४८,२०५१ र २०५६ का तीन चुनाव लगातार सर्लाहीबाट जितेका थिए । तर कांग्रेस छाडेर मधेसवादी राजनीतिमा लागेपछि भएका ०६४ र ०७० का दुवै चुनावमा उनी आफ्नो परम्परागत क्षेत्रमा पराजित भए ।

यसपटकको मधेस आन्दोलनको उभारले महोत्तरीमा राजपाको स्थिति निकै सुदृढ भयो । संयोगले महन्थ ठाकुरको जन्मथलो एकडारा गाउँपालिकासहित जलेश्वर मटिहानी नगरपालिकामा राजपाले जित्यो । यपटक उनी सुरक्षित क्षेत्र खोज्दै आफ्नो जन्मभूमि फर्किए । जन्मभूमिले उनलाई गुन लगाएर दोब्बर मतान्तरले चुनाव जिताएर सिंहदरवार पठाइदिएको छ ।

उपेन्द्र यादव, अध्यक्ष संघीय समाजवादी फोरम

उपेन्द्र यादव यसपटक कर्मभूमि सुनसरी र मोरङ छाडेर जन्मभूमि सप्तरी फर्किए । निर्वाचन क्षेत्र निर्धारण गर्दा कांग्रेसले आफू जित्ने गरी बनाएको भन्दै उनले सुनसरी र मोरङ दुवै क्षेत्रमा असुरक्षित महशुस गरे । त्यसैले मधेस आन्दोलनको रापताप बोकेको राजविराजसहित सप्तरीको क्षेत्र नम्बर २ रोजे ।

उपेन्द्रलाई बाहिरिया भनेपछि उनले आफू सप्तरीकै भएको नागरिकता समेत सार्वजनिक गरे । उनको जन्मभूमि सप्तरीले राजपाका सहमहामन्त्री बागी उम्मेवार हुँदा हुँदै पनि भारी मतले जिताएर गुन लगाइदियो ।

२०४८ सालमा एमालेबाट सुनसरी ४ मा उम्मेवार बनेका यादव २०६४ र २०७० मा सुनसरी ५ बाट जितेका थिए । उनले मोरङ ५ बाट भने २०७० मा पराजय भोगे । यसपटक सुनसरी ४ उनले जित्दै आएको क्षेत्रमा असुरक्षित देखेरै यादव जन्मभूमि फर्किएका थिए ।

योगेश भट्टराई, सचिव नेकपा एमाले

नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जन्मभूमिले कहिल्यै नबिर्सने गुन लगाइदियो । अनेरास्ववियुको अध्यक्षसम्म भएका र त्यसपछि पनि काठमाडौंलाई नै कर्मथलो बनाएर राजनीति गरेका योगेशको साइनो ताप्लेजुङमा पारिवारिकमात्र थियो ।

२०६४ मा पहिलो पटक संसदीय चुनाव लडेका भट्टराई काठमाडौं ६ मा तेस्रो भएर हारे । २०७० मा पनि उनी दोस्रो भए । संसदीय राजनीतिमा चुनाव नजितेपछि जतिसुकै ठूलो नेता भए पनि उसको हैसियत कमजोर हुन्छ ।

काठमाडौंले २ पटक हराएपछि योगेशले यसपालि स्थानीय चुनावपछि सुटुक्कै आफ्नो मतदाता नामावली जन्मथलो ताप्लेजुङ सारेछन् । काठमाडौं छाडेर ताप्लेजुङ पुगेका भट्टराईले विपक्षीलाई भारी मतान्तरले पराजित गर्दै पहिलो पटक सिंहदरवारको यात्रा तय गरे ।

वर्षमान पुनःनेता माओवादी केन्द्र

माओवादी संसदीय राजनीतिमा आएपछि वर्षमान पुन पहिलो चुनाव २०६४ मा ललितपुर १ बाट जिते । दोस्रो पटक उनी मोरङ ९ मा चुनाव लड्न गए । तर, मोरङमा उनी तेस्रो स्थानमा रहेर पराजित भए ।

चुनाव जित्नका लागि पुन अन्ततः आफ्नै जन्मथलो रोल्पा फर्किए । आफूभन्दा सिनियर नेता कृष्णवहादुर महरालाई रोल्पाबाट दाङ पठाएर उम्मेवार बनेकार वर्षमान पुन रोल्पाबाट भारी मतान्तरमा बिजयी भए ।

देवेन्द्र पौडेल, नेता माओवादी केन्द्र

युद्धकालमा भोजपुरा र गण्डक क्षेत्रको नेतृत्व गरेका माओवादी नेता देवेन्द्र पौडेलको निधारमा बिजयश्री लेखिदिने पनि उनको जन्मभूमीनै भयो । २०७० सालको निर्वाचनमा काठमाडौं ९ बाट पराजित भएका पौडेल यसबीचमा नयाँ शक्तितिर डुलेर पुनः माओवादी फर्किएका थिए । चुनावको मुखैमा माओवादी प्रवेश गरेका पौडेल जन्मस्थल बाग्लुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

र अन्त्यमा,माओवादी अध्यक्ष प्रचण्डले यसपटक आफू हुर्किएको र खाइखेली गरेको जिल्ला चितवनबाट चुनाव जिते । पहिलो संविधानसभा निर्वाचन काठमाडौं र रोल्पाबाट जितेका प्रचण्ड दोस्रो संविधानसभामा काठमाडौंमा पराजित भए । उनी सिरहाबाट चुनाव जितेर प्रधानमन्त्री भए ।

यसपटक प्रचण्डले आफ्नो गृहजिल्ला चितवन रोजे । एक प्रकारको उनको यो रिस्क निर्णय थियो । तर, चितवनले प्रचण्डलाई गुन लगायो र भारी मतान्तरसहित बिजयको माला पहिराइदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment