Comments Add Comment

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पुस १ देखि बाघ गणना

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बाघ । तस्वीरः सागर गिरी

२८ मंसिर, काठमाडौं । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघको गणना सुरु हुने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार १ गतेदेखि बाघको गणना सुरु गर्ने गरी गणना गर्नेहरुका लागि तालिम बिहीबारदेखि सञ्चालन भइरहेको छ ।

उनका अनुसार चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत मंसिर १४ बाटै बाघको गणना सुरु भइसकेको छ । बाँके र बर्दियाको गणना सकिए लगत्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गर्ने विभागको तयारी छ ।

हरेक २ देखि ४ वर्षको अवधिमा विभागले बाघ गणना गर्ने गरेको छ । यसअघि सन् २०१३ मा भएको बाघको गणनाबाट बर्दियामा ५० र बाँकेमा २ वटा वयस्क बाघ भेटिएको थियो ।

क्यामेरा ट्यापिङ प्रविधिबाट गणना

विभागका अनुसार क्यामेरा ट्यापिङ प्रविधिबाट बाघको गणना गरिनेछ । निकुञ्जभित्रको दुई किलोमिटर लम्बाई र चौडाइको क्षेत्रलाई एउटा ग्रिड मानिनेछ । र, हरेक ग्रिडमा दुई वटा क्यामेरा राखिनेछ ।

बाघ गणना गर्ने तालिममा सहभागी टाेली ।

त्यहाँ कुनै पनि वन्यजस्तुको आवतजावत हुँदा क्यामेराले तस्वीर लिन्छ । एक ठाउँमा १५ दिनसम्म क्यामेरा राखेर तस्वीर खिचिन्छ । र, १५ दिनमा उठाएर अर्को ग्रिडमा ती क्यामेराहरुलाई राखिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ९ सय वटा ग्रिड हुन्छ । त्यसैले एकैपटकमा सबै ग्रिडमा क्यामेरा राख्न सम्भवन नुहुने हुँदा १५ दिनपछि स्थान परिवर्तन गरेर क्यामेरा राख्ने गरिएको हो ।

एक पटकमा ४ सय ८० वटा क्यामेरा २ सय ८० ग्रिडमा राख्ने विभागको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment