Comments Add Comment

क्यानडा र स्पेन पठाइदिने भन्दै बेराेजगार नेपाली युवालार्इ ठग्ने भारतीय नागरिक पक्राउ

२८ मंसिर, काठमाडाैं । क्यानडा र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको मुजफ्फरनगर निवासी २१ वर्षीय रेहान खान भनिने मोहम्मद इकवाल छन् ।

उनी नेपाली वेरोजगार युवालाई क्यान्डा र स्पेन पठाएर आकर्षक तलब सुविधा दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

उनले राष्ट्रिय दैनिकमा विज्ञापन नै दिएर क्यानडा र स्पेनको जेग्रासा ग्रुफ अफ होटलमा जागिर लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले कालोपुलस्थित एक घरमा कोठा भाडामा लिएर २ सय ८१ युवाको अन्तरवार्ता समेत लिएका थिए । र, जेग्रेसा ग्रुप अफ होटलको नाममा आफ्नो नक्कली नाम राखेर भिजिटिङ कार्ड, छाप र लेटरप्याड समेत तयार गरी वितरण गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

उनले युवाहरुलाई विश्वासमा पार्न झुठा अफर लेटर र अन्य कागजात समेत तयार पारेका थिए । र, उनीहरुलाई ईमेलमार्फत त्यो कागजात पठाएका थिए ।

अफर लेटर इमेलमा पठाएपछि उनले प्रतिव्यक्ति ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म युवाहरुसँग माग गरेका थिए । रकम लिइसकेपछि फरार हुने मनसायमा उनी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीमाथि मुलुकी ऐनको ठगी महल अन्तगत अनुसन्धान भइरहेको छ । कानुनतः ठगीमा संलग्नलाई कसुर अनुसार बिगो तिराएर सोही बमोजित जरिवाना र ५ वर्षसम्म कैदन हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment