Comments Add Comment

अनमोलको ‘एङ्ग्री र रोमान्टिक’ अवतार, यस्तो बन्यो ‘कृ’को ट्रेलर


बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो बर्षकै प्रतिक्षाको रुपमा रहेको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको दोहोरो चरित्र देखिएको छ । अनमोल लामो कपाल पालेर एङ्ग्री अवतारमा देखिएका छन् भने उनको चकलेटी रोमान्टिक अवतार पनि चलचित्रको ट्रेलरमा देख्न सकिन्छ ।

३ मिनेट लामो ट्रेलरमा नायिका अदिती बुढाथोकी अनमोलसँग रोमान्टिक अवतारमा देखिएकी छिन् । चलचित्रको ट्रेलरले चलचित्रप्रतिको उत्सकुता निक्कै बढाएको छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्र माघ २६ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन छ । चन्द्रले नायक केसीलाई एक्सन अवतारमा गज्जबले ढालेका छन् ।

कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्माता श्री पराजुली हुन् । सुवास इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा बनेको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भूवन केसी चलचित्रका निर्माता हुन् ।

नायक अनमोल केसीका फ्यान, आम दर्शकदेखि चलचित्रकर्मीले समेत यो चलचित्रको ट्रेलरलाई प्रतिक्षा गरिरहेका थिए । अघिल्ला ४ चलचित्रमा चकलेटी अवतारमा देखिएका अनमोलले पाँचौ चलचित्र ‘कृ’मा भने आफूलाई पूर्ण रुपमा बदलेका छन् । यो चलचित्रसँगै अनमोल अब रोमान्टिकसँगै एक्सन हिरोको रुपमा पनि जम्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment