२९ मंसिर, काठमाडौं । नेेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीले व्यहोरेको हारको जिम्मा लिँदै राजीनामा दिन सुझाएका हुन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री सिंहले चुनाव हारेपछि राजीनामा दिने प्रचलन रहेको बताए ।
‘फलानोले (राजीनामा) दिनै पर्छ भनेर मैले भन्ने होइन’, उनले भने, ‘डेमोक्र्याटिक पार्टीको नेतृत्व भएकाले आफूले सोचेअनुसारले काम जनताले अनुमोदन गरेर यो कारणले छोड्छु भन्ने राम्रो हो ।’
पार्टी सभापति देउवाले राजीनामा नदिए पार्टीको विधान अनुसार अघि बढ्ने उनले बताए । उनले अघि भने, ‘अधिवेशनबाट जितेको भनेर घमण्ड गर्न थाल्यौं भने के हुन्छ अहिले थाहा भइहाल्यो नि ।’
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेसको पक्षमा नतिजा नआएको भन्दै उनले अब पार्टीमा सुधार गर्नु पर्ने बताए । ‘मान्छे विरामी भयो भनेर आर्यघाटमा लगेर छाड्ने होइन, उपचार गर्नुपर्छ’ नेता सिंहले भने, ‘त्यसरी नै पार्टीमा कमजोरी छ भनेर त्यसै बसेर हुँदैन, सुधार गर्नुपर्छ ।’
उनले अघि भने, ‘पार्टी बिरामी परेको छ । अब उपचार गर्नुपर्छ ।’
प्रतिक्रिया 4