Comments Add Comment

हुलाकी राजमार्ग: वीरगञ्ज ठोरी खण्डको शिलान्यास

३ पुस, वीरगञ्ज । तराईको लाईफ लाइनको रुपमा परिचित हुलाकी राजमार्ग अयोजनाको वीरगञ्ज ठोरी सडकखण्डको सोमबार शिलान्यास गरिएको छ ।

सदरमुकाम वीरगञ्जदेखि पर्सा जिल्लाको सुदुर पश्चिममा रहेको पर्यटकीय गन्तव्य ठोरी जोड्ने ३० किलोमिटर सडकखण्डको शिलान्यास गरिएको हो ।

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको आयोजनामा वीरगञ्जको पावरहाउस चोकमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रतिनीधि सभा सदस्यद्वय प्रदीप यादव र हरिनारायण रौनियारले संयुक्त रुपमा सडकखण्डको शिलान्यास गरेका हुन् ।

हुलाकी राजमार्ग आयोजना योजना कार्यालय वीरगञ्जका अनुसार सडकखण्डको स्तरोन्नतीका साथै कालोपत्रे गर्ने कार्यको ठेक्का एमएआर-पप्पु-कनटेक जेभीले पाएको छ ।

नेशनल हाईवे ईन्फास्ट्रक्चर डेभलपमेन्ट कोअपरेसन लिमिटेड कन्सल्ट्यान्ट रहेको छ ।

भारत सरकारको सहयोगमा भ्याटसहित एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार ७ सय २९ रुपैयाँ ९० पैसामा ठेक्का लागेको सडक निर्माणको काम ३० महिनामा सक्नुपर्ने छ ।

१७ नोभेम्बर २०१७ मा भएको सम्झौता अनुसार २ जुन २०१७ मा काम सम्पन्न गर्नुपर्ने समय तोकिएको निर्माण कम्पनीले जनाएको छ ।

कस्तो बन्छ सडक ?

३० किलोमिटरको दुईलेन सडक खण्डमा २.५ मिटरको ग्राभल हुनेछ । कल्र्भटहरु, फुटपाथ र सहरी क्षेत्रमा दुवै तर्फ नाला बन्नेछन् । सम्झौता अनुसार सडकको बीच भागबाट १५/१५ मिटरसम्म कालोपत्रे हुनेछ ।

निर्माणकार्य समयमै सम्पन्न भएको खण्डमा ठोरी देखिका वासिन्दालाई वीरगञ्ज आउन जान सहज हुनेछ भने स्थानीय स्तरमा उत्पादित कृषि उपजले बजार पाउँछ ।

यो सडक खण्डले पर्साको जिल्लाका धेरै गाउँपालिका र नगरपालिकालाई वीरगञ्जसँग जोड्ने छ । वीरगञ्ज, रामगढवा, सिर्सिया, विन्धवासीनी, रामनगरी, लखनपुर, औराहा, निचुटा, सुपौली, जीतपुर, सेढवा, महादेवपट्टी, सुवर्णपुर निर्मलबस्ती हुँदै ठोरीसम्म कालोपत्रे सडक निर्माण हुनेछ । हुलाकी राजमार्ग सडक आयोजनाको यो सडक रौतहटको गरुडा, भारतको रक्सौल र वीरगञ्ज पथलैया सडकखण्डसँग जोडिने भएकोले अझै महत्व राख्छ ।

सडक निर्माणका चुनौती

कम्पनी पप्पु कन्ष्ट्रक्सनले आयोजना समयमै सम्पन्न गर्न केहि चुनौति रहेको बताएको छ । चुनौतिको समाधान समयमै हुने हो भने मात्रै तोकिएकै समयमै काम सम्पन्न गर्न सकिने तर्क उनीहरुको छ ।

निर्माण कम्पनीका प्रमुख ईन्जिनियर जसु ईब्राहिमले निर्माण कार्य सुरु भईसक्दा पनि राज्यका निकाय काम गर्ने वातावरण निर्माणका लागि गम्भिर नभएको बताए ।

समयमै बजेटको निकासा नहुने समस्याले गर्दा पनि तोकिएका कामहरु समयमा सम्पन्न हुन नसकेको पप्पु कन्स्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर समेत रहेका पर्सा क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्य हरिनारायण रौनियारले बताए ।

आफू अब प्रतिनीधि सभा सदस्य भईसकेकोले सरोकारवालासँग सहकार्य गरेर आईपरेका समस्या समाधान गर्दै समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाए ।

समयमै काम सम्पन्न गर्न जोड

सरोकारवालाहरुले भने पर्सावासीको जनजीविकासँग जोडिएको सडकखण्ड निर्माण तोकिएकै समयभित्र सम्पन्न गर्न आग्रह गरेका छन् ।

उनीहरुले सडक सञ्जाल निर्माणमा हुने लापरबाहीले जिल्ला विकासमा पछाडि परेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए ।
फोरम नेपालका पर्सा अध्यक्ष एवं पर्सा क्षेत्र नं १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले मधेसको लाईफ लाईनको रुपमा रहेको हुलाकी राजमार्ग अब जसरी भएपनि निर्माण हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जराले शिलान्यास गर्ने तर काम सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment