Comments Add Comment

रामेछापका स्वास्थ्य संस्थामा औषधि अभाव

 

४ मंसिर, रामेछाप । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिहरुको अभाव भएको छ । जिल्लामा समयमा नै औषधि खरिद नहुँदा स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिहरुको अभाव भएको हो ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले खरिद गरी स्वास्थ्य संस्थाहरुमा पुर्‍याउने औषधिहरु यस आर्थिक वर्षबाट स्थानीय तहले नै खरिद गरी स्वास्थ्य संस्था मार्फत वितरण गर्ने नीति बनेको छ । स्थानीय तहलाई मन्त्रालयबाट ढिलो गरी जानकारी आएको कारण कतिपय गाउँपालिका तथा नगरपालिकाले स्वास्थ क्षेत्रको बजेट समेत विनियोजन गर्न भ्याएनन् । रकम विनियोजन गरेका स्थानीय तहले पनि औषधि खरिद गर्ने प्रक्रियामा ढिलाई हँुदा जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ ।

स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा उपाचारमा आएका विरामीहरुलाई सामान्य औषधि पनि दिन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र गेलुका डा. राजेन्द्र भण्डारी बताउँछन् । साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका विरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको उनले बताए । ‘बिरामीहरु औषधि खोज्छन्, दिन सकिएको छैन, उनीहरुलाई सम्झाएर पठाउनै गाह्रो भयो,’ उनले भने ।

गेलुमा मात्र हैन रामेछाप जिल्लाभरिकै स्वास्थ्य संस्थाहरुमा सरकारले निःशुल्क उपब्ध गराउने भनिएका औषधिहरु उपलब्ध छैन । सरकारले जिल्ला अस्पतालमा ७० थरि, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीमा ३५ थरि औषधि निःशुल्क उपलब्ध गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment