Comments Add Comment

३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा केशव स्थापितको दावी

'म केपी ओलीको चेलो र प्रचण्डको मित हुँ,चमत्कारिक काम गर्छु'

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा काठमाडौं ६ बाट प्रदेशसभामा निर्वाचित सांसद केशव स्थापितले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा औपचारिक रुपमा दावी पेश गरेका छन् । उनले आफू पार्टी निर्णय वा संसदीय दलको चुनाव दुवै प्रक्रियाबाट मुख्यमन्त्रीको दाबेदार बन्ने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका शीर्षस्थ नेताहरुसँग भेट गरेपछि स्थापितले मुख्यमन्त्रीमा आफ्नो दावी रहेको सार्वजनिक गरेका हुन् । ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नाम आइरहेका बेला स्थापितले आफू मुख्यमन्त्री बन्ने दावी गरेका हुन् ।

बुधवार साँझ पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता स्थापितले भने- पार्टीमा मभन्दा सिनियर नेताहरु पनि यो प्रदेशबाट निर्वाचित हुनुभएको छ । तर केपी ओलीका देश विकासको स्पिरिटसँग मेरा योजनाहरु मिल्छन् । काम गरेर देखाउने चुनौति मोल्छु भनेरै म प्रतिनिधिसभाको उम्मेदवार नबनी प्रदेशमा आएको हुँ । मलाई आशा छ पार्टीले मलाई यो प्रदेश बनाउने जिम्मेवारी दिनेछ ।

स्थापितले आफूले राजधानीको मेयर हुँदा गरेका केही कामको उदाहरण दिँदै ५ वर्षभित्र ३ नम्बर प्रदेशको पूर्वाधार विकासमा चमत्कार गर्ने बताए । भावी प्रधानमन्त्री ओली र आफ्नो स्पिरिट मिल्ने र ओलीका योजना कार्यन्वयनका लागि आफू मुख्यमन्त्री हुनुपर्ने स्थापितको दावी छ ।

‘म र प्रचण्ड मित हौं, सदभाव छ’

स्थापितले आफूलाई मुख्यमन्त्री बन्न माओवादी अध्यक्ष प्रचण्डको पनि सदभाव रहेको बताए । उनले भने- म र प्रचण्ड कमरेड त मितमित नै हौं । देशको राजधानी रहेको यो प्रदेशलाई कसरी अन्तर्राष्ट्रिय मापदण्डको विकासमा लैजाने भन्ने भिजन लिखित रुपमा मैले शीर्ष नेतृत्वलाई दिँदैछु ।

केपी ओली युवा संघको संस्थापक अध्यक्ष हुँदा महासचिवको हैसियतले देशभरी संगठन सन्जाल फैलाएको भन्दै स्थापितले आफू ओलीको भिजन अनुसार काम गर्ने सच्चा चेलो भएको बताए । ओलीको समृद्धिको सपना पूरा गर्ने योजना आफूसँगमात्र रहेको उनको दावी छ ।

३ नम्बर प्रदेश कमिटी संयोजक समेत रहकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको लागि प्रदेश कमिटीले यसअघि नै निर्णय गरिसकेको छ । यद्यपी राजेन्द्र पाण्डे, सानुकुमार श्रेष्ठ लगायतका नेताले पनि मुख्यमन्त्रीको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment