Comments Add Comment

तुइनमा माननीयज्यू नै तुन्द्रुङ्ग !

सडकका महानिर्देशक भन्छन्- देश यसै वर्ष तुइनमुक्त हुन्छ

६ पुस, दार्चुला । तल कलकल बगिरहेको कञ्चन महाकाली नदीले उद्दात्त छालसहित आफ्नो नीलो रंगलाई सेतो बनाउने प्रयास गरिरहेको छ । माथिपटि्ट टाँगिएको एउटा फलामे तारमा टिनको थोत्रो ड्रम झुण्ड्याइएको छ । त्यही ड्रमभित्र बसेर सकसपूर्ण तरिकाले भलाद्मी व्यक्ति नदी तरिरहेका छन् । मानौं उनी एउटा भवसागर पार गरिरहेका छन् ।

यसरी सकसपूर्ण तरिकाले तुइनमा झुण्डिएर महाकाली नदी तर्ने भलादमी व्यक्ति तुइन विस्थापन गर्ने पार्टीकै माननीय हुन् भन्ने सुन्दा अर्को रोचक सरकारी निर्णयको सम्झना हुन्छ तपाई हामी सबैलाई ।

तुइनमा झुण्डिएर महाकाली तरिरहेको यो दृश्य हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता गणेशप्रसाद ठगुन्ना लगायतका माननीयहरुको हो । निर्वाचनपछि मतदाताहरुलाई धन्यवाद दिन जाने क्रममा एमाले नेता ठगुन्नासहित प्रदेशसभा क बाट निर्वाचित एमालेका गेल्बुसिंह बोहोरा र ख बाट निर्वाचित नेकपा माअोवादी केन्द्रका मानबहादुर धामी त्यहाँ पुगेका हुन् ।

‘चुनाव जितेपछि व्यास गाउँपालिकाको सुनछेरामा कार्यक्रम गर्न गएका थियौं’ सांसद ठगुन्नाले अनलाइनखबरसँग भने, ‘त्यहीबेला महाकाली नदी गर्न तुइन प्रयोग गरिएको हो ।’

ठगुन्ना एमालेका नवनिर्वाचित सांसद हुन् । उनी अघिल्लो संविधानसभामा पनि दार्चुलाबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

नारा पक्की पुलको, सहारा तुइनको !

हरेक चुनावमा दलहरुले महाकाली नदीमा पक्की पुल बनाउने घोषणा नगरेका पनि होइनन् तर, अहिलेसम्म दुहूँबासी दुःख गएको छैन । सँगै माननीयहरु पनि अहिलेसम्म तुइनमै तुन्द्रुङ्ग झुण्डिएर नदी वारि-पारि गर्न बाध्य छन् ।

ठगुन्नाकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापित गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

दार्चुलाको सदरमुकाम खलंगा आउन व्यास र दुहू गाउँपालिकाका स्थानीयहरु तुईनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तुइन प्रयोग नगर्ने हो भने सदरमुकाम पुग्न एक दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ ।

सांसद गठन्ना भन्छन्, ‘पुल बनाउन नेपालले बजेट पनि छुट्याएर ठेक्कामा पनि लगाएको छ । तर, भन्सार, सुरक्षाका कारण देखाएर भारतीय पक्षले काम गरेको छैन ।’

व्याँस गाउँपालिका अन्तरगत महाकाली नदीमाथि अझैसम्म ८ वटा तुइन छन् । जिल्लाभरमा हालसम्म नेपाल भारत जोड्ने ४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् भने एउटा पुल निर्माणधीन छ ।

पुल नभएका ठाउँमा जोखिम मोलेरै तुइन तर्नुको विकल्प छैन । त्यही तुइन पनि बेलाबेला भारतीय सीमा सुरक्षा बलले काटिदिने गरेकाले समस्यामा परेको सम्पाल मावि सुन्सेराका शिक्षक देवसिंह धामी बताउँछन् ।

तुइनको प्रशंगमा कुराकानी गर्ने क्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नाले महाकाली करिडोर अन्तरगत दार्चुला-टिंकर सडकखण्डको निर्माणका लागि पहल गर्ने बताए ।

एमाले अध्यक्ष केपी ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा तुइन विस्थापनको निर्णय कार्यान्वयन भएन र माननीयज्यूहरु नै यसरी झण्डिएको देख्न बाध्य भइयो । तर, अब दोस्रो कार्यकालपछि चाहिँ एक्काइशौं शताब्दीका सांसदहरु यसरी धरोमा झुण्डिएको देख्नु नपर्ला कि ?

सडकका महानिर्देशक भन्छन्- देश यसै वर्ष तुइनमुक्त हुन्छ

तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै २ वर्षभित्र सबै तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । तर, उनले लगभग ९ महिनामै सरकार छाड्नुपर्‍यो ।

त्यतिबेला मुख्य स्थानका तुइन विस्थापन गर्न १४८ वटा झोलुङ्गे पुल निर्माण गर्न आवश्यक देखिएको थियो । त्यसमध्ये ६२ वटा पुल गत आर्थिक वर्षमा नै बनाएर तुइन हटाइएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार यो आर्थिक वर्ष लागेपछि थप १० वटा पुलको निर्माण सकिएका छन् । अब ७६ वटा पुल बन्न बाँकी रहेको र त्यसमध्ये ७४ वटा पुल यसै आर्थिक वर्षभित्र निर्माण भइसक्ने उनले बताए ।

‘दुईवटा ठूला पुल यो वर्षमा बनिसक्दैनन्, तर, देश यसै वर्ष तुइनमुक्त हुन्छ,’ श्रेष्ठले भने, ‘तर, एक ठाउँबाट झिकेको तुइन नजिकैको अर्को ठाउँमा लगेर हालिदिँदा समस्या भइरहेको छ ।’

श्रेष्ठले कुनै एक-दुई स्थानमा तुइन नहटेको भए त्यसलाई पनि आगामी वर्षमा विस्थापन गर्दै लागिने बताए । विभागले अहिलेसम्म देशभर ७ हजार ४८ वटा झोलुंगेपुल बनाइसकेको छ ।

विभागका अनुसार देशका १२ हजार स्थानमा यस्ता झोलुंगे पुलको आवश्यक्ता छ । तर, धेरै स्थानमा झोलुंगो पुल नहुँदा ट्युव, डुंगा, तुइन, फड्के लगायतको साहायतामा जोखिम मोलेर खोला तर्न नागरिकहरु बाध्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment