Comments Add Comment

प्रहरी हाकिम भन्छन्– म्यादीलाई माला लगाइएको हो, गोली हानेको छैन


८ पुस, काठमाडौं । कालीकोटमा शुक्रबार गोली लागेर म्यादी प्रहरी विवेक एडीको मृत्यु भयो । म्यादी प्रहरीले चुनाव सफल पार्न अहोरात्र योगदान गरेका थिए, तर अहिले उनीहरुले सेवा सुविधामा चित्त नबुझेर आन्दोलन गर्दा गोली खानुपरेको छ ।

कालीकोटमा यस्तो दुःखद घटना कसरी भयो ? यसबारे सरकारले छानविन गरिने बताएको छ ।

यसैवीच, नेपाल प्रहरीका उच्च अधिकारीले भने उक्त घटनामा प्रहरीको हात नरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

प्रहरीले म्यादीहरुलाई फूलमाला लगाएर विदाइ गरेको तर गोली नहानेको दाबी उच्च प्रहरी अधिकारीको छ ।

नेपाल प्रहरीका एआर्इजी रणबहादुर चन्दले प्रहरीले गोली नहानेको दाबी गरेका हुन् । एआइजी चन्दका अनुसार म्यादी र प्रहरीवीच तलव सुविधाबारे कुनै विवाद थिएन ।

चन्दका अनुसार शुक्रबार दिउँसो साढे ११ बजे अबिर लगाएर म्यादीलाई विदाई गर्ने कार्यक्रम थियो । म्यादीको तलव भत्ता सिधै उनीहरुको बैंक खातामा जाने भएकाले कुनै विवाद नभएको एआइजी चन्दको भनाइ छ ।

तर, शान्नीत्रिवेणी गाउँपालिका वडा नं ४, हाल रास्कोट नगरपालिका वडा नं २ वस्दै आएका बिवेक ऐडीको गोली लागेर मृत्यु भएको छ । यस घटनाबारे दलका स्थानीय नेताहरुसँग छलफल भएको र छानविनपछि यथार्थ रिपोर्ट बाहिर आउने एआइजी चन्दले बताए ।

स्थानीयको बेग्लै दाबी

स्थानीयले भने म्यादी प्रहरीले गरेको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले एक्कासी गोली चलाउँदा ऐडीको मृत्यु भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार डीएसपी सुवासचन्द्र वोहोराले सरकारको १५ लाख गएर केही फरक पर्दैन, गोली ठोक भन्दै प्रहरीलाई आदेश दिएको स्थानीयको आरोप छ । त्यसपछि प्रहरीले टाउकोमै ताकेर गोली हानेको प्रत्यक्षदर्शीको दाबी छ ।

गोली लागेपछि भूइँमा ढलेका ऐडीलाई अन्य म्यादी प्रहरीले उठाउन जाँदा अश्रु ग्यास हानेर तितरबितर पारेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment