Comments Add Comment

निर्माण सुरु भएको १० वर्षपछि चमेलियामा ‘वेट टेस्ट’


८ पुस, काठमाडौं । ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले शनिबार देखि वेट टेस्ट थालेको छ । पूर्व निर्धारित समय अनुसार एक महिनाअघि नै यसले वेट टेस्ट सुरु गर्नुपर्ने थियो । तर ड्याम साइटको गेट नम्बर १ मा रहेको कंक्रिटमा समस्या देखिएपछि ‘वेट टेस्ट’ एक महिनापछि धकेलिएको थियो ।

आयोजना प्रमुख अजय दाहालका अनुसार यसको गेटको मर्मतको काम बिहीबार नै सकिएको थियो । गेट मर्मतको काम सकिएपछि यसले बिहीबार बेलुकाबाट नै यसले पानी सञ्चय गर्न थालेको हो ।

आयोजनाले एक महिनाअघि नै वेट टेस्ट गर्ने तयारी थालेको थियो । तर वेट टेस्ट गर्नका लागि आयोजनाको गेट चेकजाँच गर्दा कंक्रिटमा समस्या देखिएको थियो । गेट नं. वानको कंक्रिटमा समस्या देखिएपछि यसले तत्काल मर्मतको काम अघि बढाएको थियो । किनकी गेटको कंक्रिट टमा समस्या देखिए पानी सञ्चय हुन सक्दैन ।

आयोजनाले वेट टेस्ट गरेको करिब १५ दिनपछि यसले परिक्षण उत्पादन थाल्ने योजना बनाएको छ । ‘वेट टेस्ट गरेर सबै ठिक रहेको पार्याै भने जनवरीको सुरुवात देखि परिक्षण उत्पादन थाल्छौं,’ आयोजना प्रमुख दाहालले भने । र, जनवरीदेखि एउटा एकाइमा भए पनि विद्युत उत्पादन थाल्नेे उनीहरुको तयारी छ ।

यसले यसअघि नै ड्राइटेस्ट सम्पन्न गरिसकेको थियो । सुरुङ, हेडवर्क्स परिक्षणका बेलामा पनि कुनै समस्या देखिएको थिएन । त्यस्तै आयोजनाले उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन पनि तयार पारिसकेको छ । प्रसारण लाइनमा देखिएका समस्या गत असोजमै मर्मत गरिसकेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाँचमा निर्माणाधीन चमेलिया सन् २००७देखि निर्माण शुरु भएको हो । एक दशक बितिसक्दा पनि उत्पादन शुरु हुन सकेको छैन । वेट टेस्ट सुरु भएसँगै भने अब विद्युत उत्पादन हुने निश्चीत भएको छ ।

यस आयोजनामा १५/ १५ मेगावाटका दुई युनिट छन् । ३० मेगावाटको यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ ।

संसदको सार्वजनिक लेखा समितिले भेरिएसन मूल्यांकनमा भ्रष्टाचार भएको बताउँदै बीचमा काम रोक्न निर्देशन दिएको थियो । जसका कारण पनि आयोजनाको लागत बढ्न गएको छ । कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा दुई सय ३२ मिटर भने खुम्चिएको थियो । २७ माघ ०७१ देखि बन्द भएको सुरुङ मर्मत १२ असोज ०७३ मा मात्र शुरु भएको थियो ।

ऊर्जा मन्त्रालयले गत ६ असोजमा नयाँ कार्यसूची दिँदै पुसभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन बमोजिम नै आयोजनाले पुसको अन्त्य सम्ममा भएपनि उत्पादन थाल्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment