Comments Add Comment

बत्तीमुनिकाे अँध्याराे राजविराजकाे पर्साही गाउँ

सप्तरीकाे दलित वस्तीका वासिन्दाका दुःख

१० पुस,  सप्तरी । सप्तरीको साबिक कोइलाडी मधेपुरा गाविसस्थित पर्साही टोलका गोसाई रामको बस्नलाई न त घर छ, न त खानलाई अन्न । एक दिन अरुको काम नगरे पेट उनलाई पाल्न पनि मुस्किल पर्छ। उमेरले डाँडा काट्दै गएपनि बुढेसकालमा सहारा दिने कोही छैनन् ।

अहिले यो गाविसको वडा नं. ४, ५ र ६ राजविराज नगरपालिकामा गाभिएको छ । तर, यो टोलका वासिन्दाको जीवनस्तर भने उदेकलाग्दो छ ।

सप्तरी सदरमुकाम राजविराजदेखि करिब १० किलोमिटर पूर्व दक्षिणतिरको गाउँका राम त प्रतिनिधि पात्र मात्र हुन् । उनको भत्किएको झुपडीभित्र गुन्द्री बिछ्याइएको छ । जहाँ पातलो कम्बलको साहराले राम पुसको कठ्याङ्ग्रिँदो जाडो काट्दै छन् ।

झुपडीभित्रै दाउरादेखि खाना पकाउने वर्तन र थोरै चामल अनि तरकारीसहित केही दैनिक उपभोग्य सामान पनि राखिएको छ । अनुहार हेर्दै ख्वाउटे र रोगी देखिने गोसाईं ५५ वर्षका भइसकेका छन् ।

यहीँ गाउँका अर्का व्यक्ति हुन्, दुःखी सदा । यिनको नाम र कर्म मिल्दोजुल्दो छ । नामझैं वास्तविक जीवनमा दुःखी नै छन्, उनी । अर्काको काम गरेर गुजारा चलाउनुपर्ने बाध्यता उनको पनि छ ।

मुसहर जातिको बसोबास रहको यस गाउँका अधिकांश बासिन्दा अरुकै काम गरेर जीवन धानिरहेका छन् । कपडा धुन, भाँडा माझ्नदेखि नुहाउनका लागि हालसम्म पोखरीकै प्रयोग गर्ने गर्छन्, यहाँका बासिन्दा ।

विजुलीबत्ति कहिलेकाहीँ मात्रै आउँछ । सडक सञ्जालको दुर्दशा उस्तै छ । गाउँका अधिकांशको फुसकै घर छ । बालबच्चाहरु धूलोमैलोमै खेलिरहेका भटिन्छन् । जताततै खुल्ला दिशा र पिसाब गरेको पाइन्छ यस गाउँमा ।

नेपालकै पहिलो टाउन प्लानिङ् शहरको परिचय बनाएको राजविराजको छेऊमा रहेको यो गाउँ बत्ती मुनिको अध्यारो झैँ छ । राजविराजदेखि झण्डै १० किलोमिटरको दूरीमा रहेको यो वस्ती सुविधाबिहीन वस्ती हो ।

पूर्वाधारविनै नगरपालिकामा गाभियाे गाउँ 

साविकको कोइलाडी मधेपुरा गाविसको वडा नम्बर ४, ५ र ६ लाई राजविराज नगरपालिकामा जोडिएको छ । यी वडाहरुलाई नगरपालिकाको वडा नम्बर १३ सँग गाभिएको छ ।

लगातार २७ बर्षसम्म यस वस्तीका वडाध्यक्ष बनेका हजारी रामले अत्यन्तै पिछडिएका वस्तीलाई समेत नगरपालिकामा समावेश गर्नु जनतासँग बेइमानी गर्नु सरह भएको बताउँछन् ।

‘के छ र यहाँ ?’, प्रश्न गर्दै उनी भन्छन्, ‘न त सडक छ, नत कसैको घर राम्रो छ । खानेपानीको समस्यासँग बर्षाैदेखि लडिरहेका छन् यहाँका बासिन्दा । कसरी नगरपालिकामा जोडियो त्यो थाहा भएन ।’

कुनै सुविधा नभएको गाउँलाई नगरपालिकामा गाभिएपछिको आक्रोश व्यक्त गर्दै उनले आफ्नै भाषामा भने, ‘जतेकके साडी नही, ततेकके लहठी’ झैं भएको छ ।’

मैथिली समाजको विवाहमा लगाइने साडीभन्दा लाहीको चुरालाई प्राथमिकता दिने सन्दर्भमा बनाइएको टुक्का प्रयोग गर्दै उनले भने, ‘यस्तो ठाउँलाई नगरपालिकासँग जोडेर कर असुल्ने योजना मात्रै बनाएको छ ।’

चिन्दैनन् मेयर, उपमेयरलार्इ 

यस वस्तीकी लडुबतीदेवी राम आफ्ना बच्चाहरुसँग बसिरहेकी थिइन् । उनलाई सोधियो, ‘तपाईंको गाउँको नाम के हो ?’

उनले साविककै ठाउँ कोइलाडी मधेपुरा भनिन् । यो ठाउँलाई राजविराज नगरपालिकामा मिसाइसकिएको भनेर लडुबती जस्तै अधिकांश महिलालाई थाहा छैन ।

स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भइसकेपनि यहाँका महिलाहरुलाई आफ्नो स्थानीय तहको नामबारे थाहा छैन । तर, पुरुषहरु भने यसबारे जानकार छन् ।

यद्यपि, मेयर को हुन् भन्ने प्रश्न गर्दा सोही गाउँका राम गोसाई अनुत्तरित हुन्छन् । भन्छन्, ‘नाम नै त थाहा भएन ।’

पराल मिलाउँदै गरेका दुःखी सदाले पनि मेयर, उप–मेयरको नाम थाहा नभएको सुनाए । उनले भने, ‘पञ्चायतको अफिस यही छ भन्ने कुरा थाहा छ । अरु थाहा छैन् ।’

न घरमा शाैचालय छ, न त शुद्ध पानी 

ट्युववेलको पानी देखाउँदै पूर्व वडाध्यक्ष हजारी रामले भने, ‘हेर्नुस् यस्तो रातो पानी निस्किरहेको छ । कसरी पानी खाने ?’

उनका छोरा वैदेशिक रोजगारीमा रहेका कारण फिल्टर राखेर शुद्धिकरण गरी पानीको प्रयोग उनको परिवारमा भइरहेको छ । तर, धेरै ट्यूववेलबाट निस्किने दूषित पानी पिउन बाध्य रहेको उनले बताए ।

ट्युववेलबाट निस्किने पानीले कपडा धुँदा रंगिन बनिरहेकाले यहाँका बासिन्दा पोखरीमै लुगा धुने काम गर्दै आएका छन् । ‘एउटै पोखरीमा कपडा धुनेदेखि, भाँडा माझ्ने, गाईवस्तु धुने काम पनि स्थानीयहरुले गरिरहेका छन्’, उनले भने ।

यो वस्ती छिर्ने वित्तिकै दुर्गन्ध शुरु हुन्छ खुल्ला दिशा र पिसाबको । ठूला मान्छेहरु बाँसको झाडीमा गएर दिशा, पिासब गरिरहेपनि बालबालिकाहरु सडकमै दिशा, पिसाव गरिरहेका छन् । शौचालय बनाउने बहस यहाँ नचलेको होइन । तर, कुरामै सीमित छ । काम हुन सकेको छैन ।

‘यस्तो ठाउँलाई कसरी नगरपालिकामा गाभियो त ?’, पुनः प्रश्न गर्दै हजारी रामले भने, ‘नगरपालिकाजस्तो नबनाइदिए त हामी कर तिर्देनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment