Comments Add Comment

प्रदेश ७ को राजधानी माग्दै दिपायलमा संघर्षका कार्यक्रम घोषणा

१२ पुस, डोटी । प्रदेश नं. ७ को राजधानी डोटीको दिपायलमा कायम हुनुपर्ने माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।

बुधबार दिपायलमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमबाट संघर्षका कार्यक्रम तय गरी सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएका कार्यक्रम अनुसार बिहीवार दिउँसो १ बजे सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा दिपायल राजधानीका लागि ध्यानाकर्षण पत्र बुझाउने, पुस १४ गते दिउँसो १ बजे पिपल्ला, राजपुर लगायत बजार क्षेत्रमा मौन जुलुस प्रदर्शन, पुस १५ गते दिउँसो १ बजे कुलपाते क्षेत्रमा २ घण्टा चक्काजाम गरी कोण सभा आयोजना गरिने भएको छ ।

त्यस्तै पुस १६ गते दिउँसो १ बजे पिपल्ला बजार क्षेत्रमा कोण सभा, पुष १७ गते पिपल्ला बजारदेखि राजपुरसम्म शान्तिपूर्ण र्‍याली र पुस १८ गते दिउँसो १ बजे क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि दवावमूलक साहित्यिक कार्यक्रमको आयोजना गर्ने आयोजकहरुले जानकारी दिएका छन् ।

कार्यक्रममा आवश्यकता अनुसार संघर्षका थप कार्यक्रमहरु गर्ने र आन्दोलनको स्वरुप परिवर्तन गर्नेमा सहमति भएको छ ।

राणाकालमा देशका चार गौणामध्ये पश्चिम गौण डोटीमा रहेको र साविकको सुदूरपश्चिमाञ्जल बिकास क्षेत्रको सदरमुकाम डोटीमै रहेका कारण प्रदेश राजधानी पनि डोटीमै हुनु पर्ने स्थानीयको माग छ ।

डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का भन्छन्, ‘पर्याप्त सरकारी जग्गाजमिन र भौतिक पूर्वाधारहरु रहेको, सामरिक महत्वका दृष्टिकोणले उपयुक्त भएको र भौगोलिक रुपमा अन्य जिल्लाहरुको तुलनामा समदुरी रहेका कारण दिपायलमै राजधानी हुनु पर्छ ।’

नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने बताउँदै भने ‘डोटीका जनताले अधिकार खोजेका छन, आफ्नो अधिकार प्राप्तीका लागि जनता जस्तो सुकै मुल्य चुकाउन पनि तयार हुनेछन, यो अस्तित्वको लडाईसँग जोडिएको बिषय हो ।’

उच्च अदालत, प्रदेश स्तरीय प्रहरी मुख्यालय, रेडियो नेपाल प्रदेश प्रशारण केन्ऽ र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय लगायतका निकायहरु स्थापना भइसकेकोले प्रदेश नं. ७ को राजधानी दिपायल कायम हुनुपर्ने डोटीका वासिन्दाहरुको माग रहेको छ ।

प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्नका लागि दवावमुलक कार्यक्रम सञ्चालन गर्न यस अघिनै डोटी उद्योग वाणिज्य संघको संयोजकत्वमा सर्वपक्षीय संघर्ष समिति गठन भई बिभिन्न दवावमुलक कार्यक्रमहरु सञ्चालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment