+
+
Shares

रानीपोखरी पुनर्निर्माणः कंंक्रिट निकालेर फालौं, इँटा र कालोमाटोको डिल लगाऔं

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते १५:२५

१३ पुस, काठमाडौं । सम्पदाविद र स्थानीयबासीको चर्को विरोधपछि काठमाडौं महानगरपालिकाले विवादास्पद रानीपोखरी पुनर्निर्माण स्थगित गरेको छ ।

साथै, रानीपोखरीलाई अब प्रताप मल्लकालीन शैली र स्वरुपमा मात्र होइन, त्यसबेलाको जस्तै निर्माण सामाग्री प्रयोग गरेर बनाउने निर्णय लिएको छ ।

यसले रानीपोखरी फेरि पुरानै स्वरुपमा देख्न पाउने आशा जगाएको छ ।

रानीपोखरीमा कंक्रिट हालेको विरोध गर्दै आएका सम्पदाविदहरु मध्येका अगुवा प्रा. सुदर्शनराज तिवारी भन्छन्, ‘हतारमा बिगारिसक्यौं । अब बनाउन पनि हतार गर्नु हुँदैन ।’

महानगरले रानीपोखरीबारे अध्ययन गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको नेतृत्वमा समिति नै बनाएको छ ।

यो समितिमा पूर्वप्रशासक, जनप्रतिनिधिका साथै संकृति र पुरातत्वका विज्ञहरु पनि छन् । उनीहरु मध्येका एक समेत रहेका तिवारी भन्छन्, ‘यसलाई सुस्त गतिमा पनि हैन, तीव्र गतिमा पनि हैन । पुरातत्वको मर्म र प्राचीन स्वरुपको सम्पदा नमासिने गरी तथ्यमा आधारित पुनर्निर्माण गर्नुपर्छ ।’

महानगरले अहिले पुनर्निर्माणको काम रोखेको छ । तर, त्यहाँ बनिसकेका कंक्रिटका संरचना के गर्ने भन्ने निर्णय भएको छैन । अध्ययन समितिको रिपोर्टका आधारमा थप निर्णय लिइने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

तर, सम्पदाविदहरु भने त्यसलाई निकालेर फाल्नु पर्ने बताउँछन् । ‘अब त्यो झिकेर फाल्नुपर्छ र इँटा र माटोको डिल लगाउनुपर्छ’ तिवारीले अनलाइनखबरसँग भने, ‘अब फेरि कुनै पनि बाहनामा कंक्रिट प्रयोगको अर्को गल्ति दोहोर्‍याउनु हुँदैन ।’

पुनर्निर्माण थाल्नुअघि पानीको स्रोत तथा रानीपोखखरीको प्राचीन बनोटबारे थप अध्ययन आवश्यक देख्छन् तिवारी ।

‘पोखरीको पिँध र डिलमा पानी अड्याउन काठमाडौंकै कालीमाटी प्रयोग गर्नुपर्छ । काठमाडौंको कालोमाटो नै रानीपोखरीका पानी अड्याउन सक्षम छ,’ उनी भन्छन्,‘ गरिएको गल्ती सच्याउन केही समय लाग्ला । तर, अब गल्ती नदोहोर्‍याउने प्रतिवद्धताका साथ काम हुनुपर्छ ।’

उनले आफूलाई रानीपोखरी पुनर्निर्माणका लागि अध्धयन गर्ने कार्यदलमा राखिएकोमा खुसी पनि व्यक्त गरे । ‘मलाई विहानै फोनमा सोध्नुभएको थियो, मैले राम्रो काम हुन लाग्दा किन नाइँ भन्नु ? हुन्छ राखिदिनू भनेँ,’ तिवारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?