१८ पुस, वीरगञ्ज । सम्झौता अनुसार गहुँ बालीका लागि डिसेम्बर २५ देखि मार्च २५ तारिखसम्म नहरमा ८५० क्युसेक पानी छोड्नुपर्ने हो । तर आज जनवरी २ तारिख भइसक्दा पनि गण्डक नहरमा कमिला हिँडिरहेका छन् ।
नेपाल र भारतबीच सन् १९७३ जुन ३ मा गण्डक सम्झौता भएको थियो । बाँध बाँधिएको स्थल भैसालोटलनबाट १ सय किलोमिटर डोन ब्रान्च केनल हुँदै नेपाली नहरसम्म पानी आउने गरेको छ ।
धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म पानी दिने सम्झौतामा उल्लेख छ । तर यसपाली केहि दिन नहरमा पानी आएपछि बाढी आएर नहर भत्काइदिएको थियो । नहर मर्मत गरेर केहि पानी दिएको भए पनि त्यसपछि अहिलेसम्म नहरमा पानी नआएको गुनासो किसानहरुको छ ।
नहरमा पानी नआएको खण्डमा पर्सा, बाराको झण्डै २० हजार हेक्टर जमिनमा सिँचाईको समस्या हुने अनुमान किसान अगुवाहरुको छ । २०४३ सालमा आएको बाढीले नहर विगारिदिएका कारण नहरको पानी रौतहटसम्म भने पुग्न सकेको छैन् । रौतहटका किसानका लागि जमुनी खोलामा बाँध बाँधेर सिँचाईको व्यवस्था मिलाउने तयारी भइरहेको छ ।
नारायणी सिँचाई व्यवस्थापन कार्यालय गण्डक बहुअरीका प्रमुख इञ्जिनियर राजेन्द्र साहले भारतीय पक्षले नहर मर्मतका लागि ठेक्का लगाएको र काम चलिरहेकोले यसपाली गहुँबालीका लागि पानी आउने संभावना कम भएको बताए ।
‘साउनमा आएको बाढीले नेपालतर्फ भन्दा भारतर्फ बढी क्षति गरेको छ, उनीहरुले नहर मर्मत सम्भारका लागि ठेक्का लगाएका छन् । त्यही नहरमा पानी छोड्दा काम गर्न समस्या हुने भारतले बताइरहेको छ ।’ उनले थपे ‘तै पनि नेपाली किसानको हितका लागि केहि दिनका लागि मात्रै भएपनि पानी दिन हामीले माग गरेका छौं ।’
भारतमा भन्दा केहि कम क्षति भएपनि नेपालतर्फ पनि नहर पूर्ण रुपमा मर्मत भइनसकेको उनले बताए । ‘हामीले जसोतसो मर्मत गरेर धानबालीका लागि केहि दिन पानी दिलाउन सफल भयौं । तर पूर्ण मर्मत सम्भार भइसकेको छैन । त्यसका लागि हामीसँग बजेट पनि छैन् । माथिल्लो निकायमा जानकारी गराएका छौं ।’
‘मसिहानी, जानकीटोलामा नहर मर्मतका काम भएका छन्, जानकीटोलामा पुल नै भत्किएको छ । पुल नै बनाउनुपर्छ, त्यसका २ करोड जति खर्च लाग्छ, पत्राचार गरेका छौं । अहिलेसम्म बजेट निकासा हुन सकेको छैन् ।’
नेपालको पानी, भारतको मनोमानी
पानी नेपालको भए पनि गण्डकको सवालमा सँधै भारतको मनोमानी चल्दै आएको छ । यसपाली गत साउनमा आएको बाढीका कारण केहि समस्या देखिएको भए पनि विगतका वर्षहरुमा पनि भारतीय पक्षले विभिन्न बहानमा नेपालतर्फ पानी छोड्न ढिलाई गर्दै आएको छ ।
गण्डक नहरको पानीले नेपालको पर्सा, बारा, रौतहटको ३७ हजार हेक्टर जमिनमा सिँचाई गर्ने लक्ष्य राखिएको छ । तर नहरमा पानी राम्रोसँग नआउने र नहरको व्यवस्थापन राम्रो नहुँदा त्यो पूरा हुन सकेको छैन ।
नहरमा समयमा पानी आएको खण्डमा किसानलाई धान, गहुँ, उखु, मकै, तरकारी खेतीका लागि सिँचाई गर्न सहज हुने भए पनि भारतीय पक्षको मनोमानी र समय समयमा नहरमा देखिने समस्याका कारण कहिल्यै समयमा पानी आउँदैन ।
नहरमा पानी समयमा नआउँदा बर्षेनी खेती गर्न समस्या हुने गरेको पोखरीया नगरपालिका-२ लहमरीयाका किसान लालबाबु यादवले बताए । ‘नहरमा बेलामा पानी आउँदैन, खेती गर्ने बेलामा जहिल्यै समस्या हुन्छ ।’ उनले भने, ‘हार गुहार गरेपछि मात्रै बल्ल पानी छोड्छन्, त्यो पनि प्रयाप्त हुँदैन ।’
भारतीय पक्षले पानी दिन नसक्ने भए दुई महिना अगाडी नै जानकारी गराउनुपर्ने भए पनि त्यसो नगरेको नेपाली अधिकारीहरुको गुनासो छ । नारायणी सिँचाई डिभिजन कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले भारतीय पक्षको हेपाहा प्रवृत्तिले सँधै नेपाली किसानहरु मर्कामा पर्ने गरेको गुनासो गरे । ‘हामीले भारतीय अधिकारीहरुलाई भेटेरै समस्याको बारेमा कुरा राखेका छौं, सामान्य मर्मत गरेर केहिदिनका लागि भएपनि पानी दिन सकिन्छ कि भनेर कुरा राख्यौं ।’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘माथिबाटै पानी नछोड्ने निर्देशन आएको छ भनेर टार्छन् ।’
उनका अनुसार विगतका वर्षहरुमा पनि भारतीय पक्षले पानी दिने समयमा विभिन्न बहाना गरेर आलटाल गर्ने गरेका थिए, उनीहरु सम्झौताअनुसार कहिल्यै पानी दिँदैनन् ।
१० दिनका लागि मात्रै भएपनि पानी छोडिदिनुस भनेर आग्रह गर्दा समेत भारतीय पक्षले काम गर्न समस्या हुन्छ भनेर टारेको उनको भनाई छ ।
बैकल्पिक उपाय लगाउँदै किसान
गण्डक नहरको पानीको भर परेर नहुने भएपछि किसानहरुले विभिन्न विकल्पको प्रयोग गरिरहेका छन् । गाउँमा रहेका पोखरी, तलाउ, नदिको पानी मोटरबाट तानेर खेतमा पठाउने, बारिङ मार्फत सिँचाई गर्ने लगायतका विकल्प किसानहरुले प्रायोग गरिरहेका छन् ।
नारायणी सिँचाई व्यवस्थापन कार्यालय गण्डक बहुअरीका प्रमुख इन्जिनियर राजेन्द्र साहले किसानहरुले बैकल्पिक व्यवस्था मिलाएर सिँचाई गरिरहेको दावी गर्छन् । ‘ब्लक नं ५ र ६ अन्तर्गत ६ हजार हेक्टरमा तिलावेको पानीले सिँचाई भइरहेको छ ।’ उनले भने, ‘त्यहि पानी मुल नहरमा पनि छोडेर केहि किसानले पम्पसेटबाट तानेर भए पनि सिँचाई गरिरहेका छन् । पोखरी, नदीबाट पनि काम चलिरहेको छ, ठाउँ ठाउँमा बोरिङ पनि छ ।
बिहार सरकारको ध्यानाकर्षण गराएर भएपनि तत्काल नहरमा पानी दिनुपर्ने माग किसानहरुले गरेका छन् । नहरमा पानी नआउँदा पर्सा, बाराको हजारौं हेक्टर जमिनमा लगाइएको गहुँखेती प्रभावित हुने भएकोले देखिएका समस्या छिटोभन्दा छिटो समाधान गरेर पानी दिन किसानहरुको माग छ ।
किसान अगुवा सहरुम राउत गद्दीले नहरमा पानी नआउँदा किसानहरु समस्यामा परेकोले तत्काल पानी आउने व्यवस्था मिलाउन माग गरे ।
प्रतिक्रिया 4