Comments Add Comment

काठमाडौंका ‘भित्री शहर’ मा चार पांग्रे सवारीलाई निषेध

१९ पुस, काठमाडौं । काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) पनि चार पांग्रे सावारी निषेध गरिने भएको छ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गर्न लागिएको हो ।

भित्री शहर पर्ने वडाका वडाध्यक्षहरुले महत्वपूर्ण मानिएका क्षेत्रमा दुईपांग्रे सवारीलाई मात्रै प्रवेश दिने निर्णय गरेका हुन् ।

अब भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्द्रबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका क्षेत्रमा चारपांग्रे सवारी प्रवेश गर्न पाउँदैनन् ।

यसका लागि आजै वडा नम्बर १८, २४, १७, २५ लगायतका वडाध्यक्षहरु स्थलगत अवलोकनमा निस्कन लागेका छन् । २५ नम्बर वडाका अध्यक्ष निलकाजी शाक्यका अनुसार माघ २ गतेदेखि यी क्षेत्रहरुमा चार पांग्रे सवारीको प्रवेश रोकिनेछ ।

‘भित्री शहरका सडक साँघुरा छन् । यी साँघुरा शहरको आफ्नै जीवन्तता छ । त्यसैले यसलाई बचाउन यस्तो तयारी गरेका हौं,’ शाक्यले भने, ‘सडकमा हुने जामलाई घटाउने हाम्रो प्रयास हो ।’

वडानम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन पनि भित्री शहरका सम्पदा र जीवनशैलीलाई जोगाउन चारपांग्रे सवारी रोक्ने निर्णयमा पुगेका बताउँछन् । उनले अझै पनि ट्राफिक प्रहरीसँग छलफल भइरहेको भन्दै उचित किसिमबाट यसलाई कार्यान्वयन गर्ने बताए ।

निषेधित क्षेत्रभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष पासको व्यवस्था गर्ने योजना छ । बेलुका ७ बजदेखि विहान ७ बजेसम्म भने सबै किसिमका सवा।रीलाई प्रवेश दिइने वडाध्यक्ष महर्जनले बताए ।

यसले वर्षौंदेखि कोर एरियामा व्यवसाय गरिरहेका स्थानीय बासिन्दालाई पनि लाभ मिल्ने अपेक्षा गरिएको छ । अहिले कोर एरियाहरुमा सवारीको चाप उच्च हुँदा विभिन्न समस्याहरु बढ्दै गएको छ ।

आकस्मिक सेवाका एम्बुलेन्स, शवबाहन, पानी ट्यांकर, दूध बोकेका सवारीलगायतलाई भने जुनसुकै समयमा यी क्षेत्रमा जान दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment