Comments Add Comment

आफ्नो मानमर्दन नगर्न निर्वाचन आयोगको चेतावनी

१९ पुस, काठमाडौं । निर्वाचन आयोगले उत्तेजना फैलाउन तथा आफ्नो मानमर्दन गर्ने क्रियाकलाप नगर्न दलहरुलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको समानपातिक मत परीणाम सार्वजनिक नगरेको भन्दै वाम गठबन्धनसम्वद्ध युवा तथा विद्यार्थीले आन्दोलन थालेपछि आयोगले असन्तुष्टि जनाएको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचन नभएसम्म प्रतिनिधिसभाको समानुपातिकको परिणाम सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन रहेको बताएको छ ।

परीणाम छिटो सार्वजनिक गर्न आतुर रहेको भन्दै आयोगले भनेको छ, ‘संविधानको धारा ८४ को (८) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) को प्रावधानले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारहरुमध्ये विजयी हुने उम्मेदवारहरुको नामहरु सिफारिस गर्नका लागि दलहरुलाई पत्राचार गर्न आयोग असमर्थ छ ।’

आयोगले राष्ट्रियसभा निर्वाचन माघ २५ मा गर्न सरकारलाई सुझाएको छ । साथै प्रदेशसभाको अन्तिम मत परीणााम सार्वजनिक भएपछि सात दिनभित्र प्रदेश प्रमुखुलाई बुझाउनु पर्ने भएकाले छिटो प्रमुख प्रमुख नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि आयोगले स्मरण गरेको छ ।

आयोगले जनताले गोप्य मतदानबाट व्यक्त गरेको अभिमतलाई उच्च सम्मान एवं संविधान र कानुनको अक्षरशः पालना गर्दै अगाडि बढ्न प्रतिवद्ध रहेको बताएको छ ।

उसले भनेको छ, ‘निर्वाचनको परिणाम छिटो घोषणा होस् भनेर संविधान र कानुनले तोकेको विधि एवं प्रक्रियालाई नजरअन्दाज गरी उत्तेजना फैलाउन तथा संवैधानिक आयोगको मानमर्दन गरी आयोगलाई लाञ्छना लगाउने क्रियाकलाप नगर्न/नगराउन हार्दिक अपिल गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment