Comments Add Comment

मोबाइल चोरीको पोल खुलेपछि हत्या

२० पुस, काठमाडौं । पोखरामा मोबाइल चोरलाई गाली गलौज गर्दा दुई जना व्यक्तिको हत्या भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पाेखरा लेखनाथ महानगरपालिका–१८ स्थित निर्माणाधिन साराङ्कोट माउन्टेन रिसोर्टमा आफ्नो मोबाइल चोरी गर्ने व्यक्तिलाई गाली गर्दा १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङ्लाक्पा शेर्पाले ज्यान गुमाउनु परेको हो ।

अर्का व्यक्ति गम्भीर घाइते छन् । घाइते हुनेमा २७ वर्षीय आङ्दावा शेर्पा छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुले ढुंगा फुटाउने घन टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

यस्तो छ विवाद

घटना हुनु ५ दिनअघि मात्र अभियुक्त लिम्बुले मृतक आङ्लाक्पा र घाइते आङ्दावाको मोबाइल चोरी गरेका थिए । तर, केही दिनमै लिम्बुले मोबाइल चोरी गरेको खुल्यो । र, लिम्बुले सबै साथीहरु समक्ष मोबाइल फिर्ता गरे ।

त्यसपछि निमा, आङ्लाक्पा र आङ्दावाले लिम्बुलाई गालीगलौज गरे । तर, लिम्बुले आफ्नो गल्ती स्वीकार गर्नुको साटो उल्टै हत्याको बाटो रोजे ।

आफूलाई गाली गलौज गरेपछि रिस थेग्न नसकेर आक्रमण गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् ।

हत्यापछि लिम्बुले मृतक र घाइतेको मोबाइल लिएर हिँडेका थिए । अनुसन्धानको क्रममा प्रहरीले ती मोबाइलहरुको आइएमइआई नम्बर पत्ता लगायो । जसकाे मद्दतबाट प्रहरीले उनलार्इ पक्राउ गर्‍याे

मोबाइलकै मद्दतबाट पक्राउ परे लिम्बु

प्रहरीका अनुसार हत्यापछि लिम्बुले मृतक र घाइतेको मोबाइल लिएर हिँडेका थिए । अनुसन्धानको क्रममा प्रहरीले ती मोबाइलहरुको आइएमइआई नम्बर पत्ता लगायो ।

मोबाइल ट्रेस गर्दा हेटौंडाबाट नयाँ सिम प्रयोग भएको खुल्यो । र, अन्तिम लोकेसन धनकु्टाको छतरजोरपाटीमा देखियो ।

प्रहरीले कल डिटेल (सीडीआर) चेक गर्दा नयाँ सिमबाट पटकपटक एउटै नम्बरमा सम्पर्क गरिएको खुल्यो । र, सम्पर्क गरिएको व्यक्ति हत्या गर्ने लिम्बुकी श्रीमति भएको प्रहरीले चाल पायाे ।

श्रीमतिको ठेगाना धनकुटा भएको अनुसन्धानको क्रममा खुलेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीसहितको ४ जनाको टोली धनकुटातर्फ लाग्यो । अन्ततः १ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनकुटाको समन्वयमा घरैबाट लिम्बु पक्राउ परे ।

उनीमाथि बिहीबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment