Comments Add Comment

प्रियंकाको गुनासो-‘हामी नकारात्मक न्यूजको शिकार भयौं’

भन्छिन्-'हामीले ११ करोड माग्ने दिन कहिले आउँला ?'

आइतबार चलचित्र ‘बटरफ्लाई’को पत्रकार सम्मेलनमा नायिका प्रियंका कार्कीले धेरै प्रश्नको सामाना गर्नुपर्‍यो । चलचित्र क्षेत्रमा लागेको आधा दशकमै नम्बर १ को स्थान कब्जा गरेकी नायिकाले सबै प्रश्नको जवाफ दिने कोशिश त गरिन् ।

‘चलचित्रको प्रमोशनमा किन नहिड्नु भएकोदेखि नयाँ बर्षमा प्रेमीसँग पोखरा किन जानुभएको’ सम्मका प्रश्नहरु प्रियंकाको लागि पत्रकारले सोधे । प्रियंकालाई पत्रकारले धेरै चलचित्रमा किन काम गर्नुभएको भन्दै प्रश्न पनि सोधे ।

प्रियंकाले धेरै चलचित्र खेलेको बिषयमा भनिन्-‘मैले धेरै चलचित्र खेलेकी छैनँ । मेरा चलचित्रहरुको रिलिजको समय मात्र नमिलेको हो । मैले पैसाका लागि काम पनि गरिरहेकी छैनँ । यदि, कसैले ११ करोड दिन्छ भने म बर्षमा एउटा मात्र चलचित्र खेल्न तयार छु । प्रचारमा पनि पूर्ण रुपमा हिड्नेछु । तर, एउटा कलाकारले ११ करोड पारिश्रमिक लिन धेरै बर्ष लाग्छ ।’

११ करोड पारिश्रमिक किन माग्नुभएको भन्ने अनलाइनखबरको प्रश्नमा प्रियंकाले भनिन्-‘बलिउडमा दीपिकाले ११ करोड पारिश्रमिक लिएर ‘पद्यमावती’मा काम गरेकी छिन् । जसकाकारण, उनले यो चलचित्रलाई एक बर्ष भन्दा बढी समय दिएकी छिन् । तर, हाम्रोमा त्यो अवस्था छैन । त्यहाँ पुग्न हामीलाई अझै धेरै समय लाग्छ ।’

प्रियंकाले चलचित्र बाहेक आफ्नो अर्को व्यवसाय पनि नभएकाले बाच्नका लागि पनि धेरै काम गर्नुपर्ने उल्लेख गरिन् । उनले, चलचित्र बाहेक अरु कुरा आफूले नसोचेको समेत बताइन् ।

नकारात्मक न्यूजको शिकार भयौं
यस्तै, पत्रकार सम्मेलनपछि अनलाइनखबरसँग कुरा गर्दै नायिका प्रियंका कार्कीले कलाकारहरु धेरै मात्रामा नकारात्मक समाचारको शिकार भएको बताएकी छिन् । उनले भनिन्-‘अहिले किन कलाकारका समाचार नकारात्मक रुपमा मात्र आइरहेका छन् । त्यसलाई सकारात्मक रुपमा सोच्न र लेख्न पनि सकिन्छ नी होइन र ?’
प्रियंकाले गुनासो गर्दै भनिन्-‘२ महिना घरमा आराम गर्दा काम नपाएर घरमै बसिन् भन्ने समाचार आउँछ । लगातार काम गर्दा पैसाका लागि धेरै काम गरिन् भनेर आउँछ । साच्चै, हामीले गर्ने चै के हो ?’

उनले भनिन्-‘हामीले दिने खबरले नै चलचित्र क्षेत्रलाई कुन बाटोमा लैजाने भन्ने बाटो देखाउँछ । चलचित्र क्षेत्रलाई सम्मानित तरिकाले लैजाने हो भने बाबु आमाले नी आफ्ना छोरा छोरीलाई यो क्षेत्रमा पठाउन अग्रसरता देखाउँछन् । हामी, नकारात्मक मात्र हुने हो भने त नयाँ पिढी यो क्षेत्रमा कसरि आउँछ र ?’

उनले, आफू ‘बटरफ्लाई’को प्रमोशनमा हिडेको दाबी गरिन् । नायिका भन्छिन्-‘बटरफ्लाइको कार्यक्रम नै भएको छैन त हामीहरु कहाँ हिड्नु ? बोलाएको ठाउँमा त पुगेकै छौ नी ।’

आफूहरुको पनि परिवार भएको भन्दै नकारात्मक समाचार धेरै पढ्दा आफ्ना बाबु आमाको पनि चित्त दुख्ने उनको भनाई थियो । ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका र नायक आर्यन अधिकारीको मुख्य भूमिका छ ।

चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । पौष २८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । नायक आर्यन अधिकारीले एउटा फरक प्रेम कथामा काम गरेको बताए । प्रियंकाले पनि एउटा फरक र रोचक प्रेम कथाको चलचित्रमा काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment