News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को क्वालिफायरमा स्थान बनाएको छ ।
- आर्मीले १३ खेलबाट १२ जित्दै २५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र अन्तिम खेलमा पराजित भए पनि शीर्ष दुईमा रहने पक्का छ ।
- नेपाल बास्केटबल संघको आयोजनामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
२१ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लब हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को क्वालिफायरमा प्रवेश गरेको छ ।
आर्मीले शनिबार भएको खेलमा गोल्डेनगेट बास्केटबल क्लबलाई ९५-८८ ले पराजित गर्दै लिगमा एक खेल बाँकी छँदै शीर्ष दुईमा स्थान पक्का गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
यो जितपछि आर्मीले १३ खेल खेल्दा १२ खेल जित्दै २५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १२ जित र २ हारको नतिजापछि गोल्डेनगेट २४ अंकसहित दोस्रो स्थानमा छ ।
अब आर्मीले अन्तिम खेलमा केभीसी हाउण्ड्ससँग खेल्नेछ र उक्त खेलमा पराजित भएपनि आर्मी शीर्ष दुईमा रहने पक्का छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले राम्रो सुरुवात गरेको थियो । गोल्डेनगेटले पहिलो क्वाटरमा ३०-२० को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर आर्मीले पुनरागमन गर्दै २२-१७ ले आफ्नो पक्षमा पारेको थियो । यद्यपी हाफटाइमसम्म गोल्डेनगेटले ४७-४२ को अग्रता बनाएको थियो ।
तेस्रो क्वाटर पनि आर्मीले २२-२१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटको अग्रतालाई घटाउँदै ६८-६४ मा झारेको थियो । चौथो क्वाटरमा आर्मीले आक्रमक सुरुवात गर्दै अंक बराबरी गरेपछि गोल्डेनगेट विरुद्ध खेलमा अग्रता बनाएको थियो । चौथो क्वाटर आर्मीले ३१-२० ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
आर्मीका निश्चल महर्जन म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक २९ अंक स्कोर गरे ।
यस्तै शनिबार भएको पहिलो खेलमा केभिसी हाउण्ड्सले टाइम्स बास्केटबल क्लबललाई ७८-६८ ले पराजित गरेको हो । हाउण्ड्सको यो नवौं जित हो ।

हाउण्ड्सले पहिलो चरणमा टाइम्ससँग बेहोरेको हारको बदला लिएको छ । यसअघि पहिलो चरणमा टाइम्सले हाउण्ड्सलाई ७३-६८ ले पराजित गरेको थियो ।
पहिलो चरणमा ७ मध्ये ६ खेल जितेको टाइम्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमै पराजित भएको टाइम्सले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै लगातार दश खेल जितेपनि पछिल्लो दुई खेलमा टाइम्स पराजित भएको हो । यसअघि खेलमा टाइम्स त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
हारपछि १३ खेलबाट २३ अंक जोडेको टाइम्स तेस्रो स्थानमै यथावत छ । नवौँ जित हात पारेको हाउण्ड्स २२ अंक जोडेर चौथो स्थानमै यथावत छ ।
हाउण्ड्स र टाइम्स बीचको खेलमा हाउण्ड्सले पहिलो क्वाटरमा अग्रता लिएको थियो भने त्यसपछि तीनै क्वाटरमा टाइम्सले आफ्नो पक्षमा पारेको थियो ।
तर पहिलो क्वाटरमा लिएको १६ अंकको अग्रता नै हाउण्ड्सलाई जित निकाल्न निर्णायक बन्यो ।
टाइम्सले तीन क्वाटर आफ्नो पक्षमा पार्दा अंकदूरी कम पारेपनि हाउण्ड्सलाई जितबाट रोक्न सकेन ।
टाइम्स विरुद्ध पहिलो क्वाटर हाउण्ड्सले २३-७ को फराकिलो अग्रता बनाएको थियो । स्रो क्वाटर प्रतिस्पर्धात्मक बन्दा टाइम्सले २३-२२ को अग्रता लिएपनि हाफटाइमसम्म हाउण्ड्स ४५-३० ले अघि रह्यो ।
तेस्रो क्वाटर पनि टाइम्सले १५-१३ ले आफ्नो पक्षमा पारेको थियो तर चौथो क्वाटरअघि हाउण्ड्स नै ५८-४५ ले अघि थियो । चौथो क्वाटर पनि टाइम्सले २३-२० ले आफ्नो पक्षमा पार्यो तर जित हात पार्न सकेन ।
हाउण्ड्सका कप्तान विजय बुर्जा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक २८ अंक स्कोर गरे । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको एचजेएनबीएलमा ८ टिमले डबल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग चरणमा अब ४ खेल बाँकी छ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4