२४ पुस, काठमाडौं । सडक निर्माणमा सस्तो मानिएको ‘ओटासिल’ प्रविधि नेपालबाट विस्थापनको संघारमा पुगेको छ । विश्व बैंकले करिब १२ वर्षअघि सडक निर्माणका लागि भित्र्याएको उक्त प्रविधि नेपालका लागि उपयुक्त नभएको निष्कर्षमा विकासे अड्डाहरु पुगेका हुन् ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले समेत ओटासिल नयाँ सडक परियोजनामा नअपनाउने भएको छ । अर्बौं खर्च गर्दा पनि सडकको अवस्था सुधार हुन नसकेपछि सडक विभागले यो प्रविधि परित्याग गरिसकेको छ ।
विभागले ओटासिल प्रविधिको ठेक्का लगाउनै छाडेको छ । डोलिडार पनि अब नयाँ परियोजनामा यसलाई प्रयोग नगर्ने निश्कर्षमा पुगिसकेको छ ।
डोलिडार ग्रामीण सडक निर्माण तथा मर्मत सुधारमा सक्रिय निकाय हो । विभागले भने राजमार्ग, सहायक मार्ग, शहरी तथा जिल्लास्तरीय सहित रणनीतिक महत्वका सडक निर्माण र व्यवस्थापनको काम गर्छ ।
दुवै निकायले सस्तो भएकाले धेरै सडकमा काम गर्न सकिने बताउँदै यसलाई अंगालेका थिए । ओटासिल सडकमा ग्राभेललाई बग्न नदिने गरी हुने पातलो किसिमको कालोपत्रे प्रविधि हो यो । सडक सम्याएर त्यसमा बिटुमिन (अलकत्रा) छर्किंदै त्यसमाथि गिट्टी हाली रोल लगाउने प्रविधि हो, ओटासिल ।
अस्फाल्टभन्दा झण्डै ६० प्रतिशत सस्तो मानिने यो प्रविधिमार्फत् एक किलोमिटर सडक बनाउन ५५ लाख रुपैयाँसम्म लाग्छ । तर, अस्फाल्टमा डेढदेखि दुई करोडसम्म खर्चिनुपर्छ ।
सस्तो र ग्रामीण सडकहरुमा वर्षायाममा पनि प्रयोग गर्न सकिने बताउँदै विश्व बैंकले यसलाई नेपालमा भित्र्याएको थियो । तर, नेपाली सडकको गुणस्तर कमजोर रहने अवस्था देखिएपछि ‘फेज-आउट’ गर्ने तयारी गरिएको हो ।
अर्बौं लगानी खेर
थोरै लगानीमा सडकलाई स्थायी स्वरुप दिने प्रविधिको रुपमा बुझिएको थियो, यसलाई । नर्वेबाट शुरु भएको प्रविधिलाई पहिलोपटक सडक विभागले गोरुसिंगे-सन्धिखर्क र तानसेन-तम्घास सडकमा प्रयोग गरेको थियो ।
२०६१ सालमा भित्रिएको प्रविधिमा १० वर्षसम्म ग्रामीण रुटका धेरै सडक बने । प्युठान, सुर्खेत, जुम्ला, जाजरकोट, दार्चुला, बझाङ, सल्यान, तेह्रथुम, बाग्लुङ, उदयपुरलगायत धेरै जिल्लामा यो प्रविधिमा दर्जनौं सडक तयार भए ।
यसबीचमा सडक विभागले ६ सय किलोमिटरभन्दा बढी सडकमा यो प्रविधि प्रयोग गरेको थियो । डोलिडारले पनि धेरै ग्रामीण सडकमा यही प्रविधि अपनायो । डोलिडारले त अहिले पनि करिब सात किलोमिटर सडकमा यसैमा आधारित रहेर काम गरिरहेको छ ।
सडक निर्माणसँगै भत्किन थाल्ने समस्याका कारण ओटासिलको देशव्यापी आलोचना भइरहेको छ । सोही कारण हालसम्म लगानी भएको अर्बौं रुपैयाँ खेर गएको छ ।
यसकारण टिकेन
विशेषगरी, नेपालका ग्राभेलिङ सडकलाई स्थिर बनाइराख्न यो प्रविधि अब्बल सावित हुने दाबी विश्व बैंकको थियो । तर, नेपालको माटो, हावापानी र बाटोको अवस्था, भू-बनोटलगायत कारण यसले अपेक्षाअनुरुप गुणस्तर दिन सकेन ।
आलोचनाकै बीचमा विश्व बैंकको लगानी रहेका धेरै सडकमा यही प्रविधि अपनाइयो । तर, एक वर्ष पनि नटिक्ने अवस्था जति प्रयास गर्दा पनि हटाउन नसकिएको सडक विभागका अधिकारीहरु बताउँछन् ।
त्यसैले यसलाई प्रयोग नगर्ने निश्कर्ष निकालेर महँगो नै भए पनि स्तरीय र उपयुक्त प्रविधिमै फर्किने विभागका उपमहानिर्देशक तथा सम्भार महाशाखा प्रमुख शिवप्रसाद नेपाल बताउँछन् ।
‘ओटासिल गरिएका सडकको पर्फमेन्स राम्रो भएन । पब्लिकबाट पनि यसको गुणस्तरमा धेरै प्रश्न उठ्यो,’ नेपाल भन्छन्, ‘ओटासिल गरिएको सडक अपेक्षाअनुरुप टिक्न पनि सकेनन् । त्यसैले यसलाई अपनाइरहनु पर्ने कारण पनि देखिएन ।’
ठेकेदारले गिट्टीका रुपमा ‘डस्ट’ प्रयोग गरिदिँदा पनि समस्या भएको उनको भनाइ छ । डस्टले राम्रोसँग बिटुमिनलाई नसमात्ने भएकाले सडकहरु अपेक्षाअनुरुप बलियो बन्न नसकेको विभागका अधिकारीहरुको तर्क छ ।
पछिल्ला वर्षमा देखिन थालेको मुसलधारे वर्षा पनि उक्त प्रविधिका सडकले थेग्न नसकेको उपमहानिर्देशक नेपालको दाबी छ ।
डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ पनि स्थानीय रुपमा ओटासिल सडक धेरै आलोचित बनेको स्वीकार्छन् । सोही कारण अब नयाँ सडक आयोजनाहरुमा यो प्रविधि नअपनाउने मनस्थिति बनाइएको उनी बताउँछन् ।
‘हामीले औपचारिक निर्णय गरेका छैनौं । तर, एडीबीसँगको नयाँ सडक परियोजनामा ओटासिल नगर्ने निर्णय भने गर्यौं,’ श्रेष्ठ भन्छन्, ‘अब कंक्रिट अस्फाल्ट सडक नै बनाउँछौं ।’
‘अस्फाल्ट कंक्रिटलाई नै निरन्तरता’
एडीबीले डोलिडरसँग अहिले नयाँ परियोजनामा काम गर्न लागेको छ । ग्रामीण कनेक्टिभिटी सुधार परियोजनामार्फत् तीन सय ८८ किलोमिटर सडकमा ‘कंक्रिट अस्फाल्ट’ प्रविधिको कालोपत्रे गर्दैछ ।
‘ओटासिललाई पनि मान्छेले अस्फाल्टकै रुपमा बुझे । सोहीअनुरुपको गुणस्तरको अपेक्षा राखे । तर, धेरै ठाउँमा त्यसको टिकाउपन कमजोर देखियो,’ श्रेष्ठ भन्छन्, ‘कति ठाउँमा अनियमितताको आरोप पनि लाग्यो । यो सस्तो प्रविधि हो भन्ने नबुझ्दा पनि समस्या आयो ।’
सडक विभागले ओटासिलको साटो अब ‘डबल बिटुमिनल सर्फेस ट्रिटमेन्ट’ प्रविधिसहित अस्फाल्ट कंक्रिटलाई नै निरन्तरता दिन लागेको छ ।
‘हामीले थुप्रै सडकमा यसको प्रयोग गर्यौं । विदेशमा सफल भए पनि यहाँको वातावरण, मौसम, काम गर्ने प्रवृत्ति, निर्माण सामग्रीको गुणस्तरलगायत धेरै कारण ओटासिल प्रभावकारी देखिएन,’ उपमहानिर्देशक नेपाल भन्छन् ।
डोलिडारका महानिर्देशक श्रेष्ठका अनुसार ओरालो, घुम्ति र बढी सवारी चाप हुने सडकमा भने यो प्रविधि प्रयोग गर्न नहुने अवस्था देखिएको छ । सवारी चाप कम हुने सडकमा यो प्रविधि ठीक देखिएको उनको भनाइ छ ।
पोखराबाट सराङकोट जोड्ने सडकमा समस्या नरहेको तर काठमाडौं-हेटौंडा सडकमा असफल भएको श्रेष्ठ बताउँछन् ।
यो पनि पढ्नुस्