Comments Add Comment

पर्यटनमा वर्षौंको सपना पूरा, भित्रिए १० लाख पर्यटक

अबको लक्ष्य २५ लाख बनाइनुपर्ने व्यवसायीको सुझाव

२५ पुस, काठमाडौं । १९ वर्षअघि नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा सरकारी लक्ष्य थियो, १० लाख पर्यटक भित्र्याउने । सन् १९९८ को सपना २०१७ मा आएर मात्र पूरा भएको छ । अर्थात्, सन् २०१७ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या १० लाख नाघेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरी-डिसेम्बर २०१७ मा १० लाख ६० हजार विदेशी नागरिकले नेपाल भ्रमण गरेको प्रारम्भिक तथ्यांक छ ।

सन् १९९८ मा चार लाख ६३ हजार पर्यटक मात्रै आएका थिए । १० लाख विदेशीलाई नेपाल घुमाउने कुरा त्यतिबेलाका लागि सपना मात्र थियो ।

सन् २०१६ मा पनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सन् २०१८ मा मात्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सन् २०१८ लाई ‘भिजिट नेपाल इयर’का रुपमा मनाउने घोषणा सोही सरकारले गरेको थियो ।

पर्यटन व्यवसायीहरुले उक्त संख्या अपुग भएको बताउँदै आपत्ति जनाएका थिए । सोही कारण सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई ‘भिजिट नेपाल इयर’का रुपमा मनाउने घोषणा गरेको छ ।

तथापि, सन् २०१८ को लक्ष्य वर्षदिनअघि नै पूरा भइसकेको छ ।

पर्यटक आगमनमा अहिलेसम्मको रेकर्ड तोडिएको छ । त्यस्तो रेकर्ड यसअघि सन् २०१२ ले बनाएको थियो, जतिबेला आठ लाख तीन हजार पर्यटक आएका थिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीका अनुसार त्रिभुवन विमानस्थल हुँदै आठ लाख ७० हजार पर्यटक भित्रिएका छन् । भैरहवा नाकाबाट डेढ लाख र रसुवागढीबाट ३२ हजार पर्यटक आएको तथ्यांक छ । यस्तै, झापाको काँकडभिट्टाबाट सात हजार पर्यटक नेपाल प्रवेश गरेका छन् ।

‘वषर्ाैंअघि देखेको सपना पूरा भएको छ,’ सीईओ जोशी भन्छन्, ‘आगामी दिनमा पर्यटक अझ बढाउन पहल गर्नेछौं ।’

अन्य कुनै अवरोध नभए सन् २०१८ मा १२ लाख २४ हजार पर्यटकले नेपाल भ्रमण गर्ने व्यवसायीहरुको आकलन छ ।

अहिले १६ लाख पर्यटक धान्ने अक्युपेन्सी क्षमता तयार भइसकेको होटेल एसोसिएसन नेपाल (हान)का महासचिव विनायक शाह बताउँछन् । त्यसबाहेक मुलुकभर खुलेका होमस्टेमा पनि पर्यटकलाई राख्न सकिन्छ ।

शाहका अनुसार देशभरमा १० वटा पाँचतारे होटल सञ्चालनमा छन् । चारतारे दुई, तीनतारे १२, दुईतारे २२, एकतारे १८ र तारारहित एक सय ६५ वटा छन् ।

पर्यटकस्तरका अन्य होटेल भने ६ सय २५ वटा छन् । र, दुई सय २६ वटा होमस्टे सञ्चालनमा छन् । सबैमा गरी २२ हजार ६ सय ६१ वटा कोठा छन् ।

अहिले भित्रिएको संख्या नेपाली पर्यटनका लागि अपुग रहेको शाह बताउँछन् । ‘१० लाख आएकामा खुशी त हुनुपर्‍यो तर यसले मात्रै पुग्दैन,’ उनी भन्छन्, ‘यो संख्या पनि हाम्रा लागि थोरै हो । र, गुणस्तरीय पर्यटकको आगमन बढाउनु मुख्य कुरा हो ।’

जस्तो- भुटानमा बर्सेनि डेढ लाख पर्यटक भित्रिए पनि त्यसबाट हुने आम्दानी नेपालको भन्दा ठूलो हुने गर्छ । ‘संख्या बढाउने मात्रै होइन, अब हामीले गुणस्तरीय पर्यटक भित्र्याउनेतिर पनि ध्यान दिनु पर्‍यो,’ शाह भन्छन् ।

१२ वैशाख ०७२ को विनासकारी भूकम्पले थला परेको एक मुख्य क्षेत्र थियो, पर्यटन । विदेशी नागरिकको नेपाल भ्रमण यही गतिमा रहे भूकम्पको पीडाबाट छिट्टै बाहिरिने लक्षण भने देखिएको छ ।

तर, त्यसका लागि अझै पनि पूर्वाधार विकासको नाजुक अवस्थामा सुधार ल्याउन जरुरी देखिएको छ । मुलुकभरका सडक लथालिंग छन् । एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार परियोजनाले उल्लेख्य प्रगति हासिल गरेको छैन ।

राजधानी काठमाडौंकै लाइफ लाइन मानिएको नारायणगढ-मुग्लिन सडक विस्तार अझै पूरा भएको छैन ।

पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अपेक्षाकृत द्रुत गतिमा छैन । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण त एकादेशको कथाझैं बनेको छ ।

‘तथापि, १० लाखको सीमामा खुम्चेर बस्नु हुँदैन,’ नेपाल ट्राभल एन्ड टुरका अध्यक्ष मधुसुदन आचार्य भन्छन्, ‘२५ लाख भित्र्याउने अबको लक्ष्य हुनु पर्छ ।’

पर्यटक आगमनको संख्या

वर्ष पर्यटकको संख्या
१९९४ ३,२६,५३१
१९९५ ३,६३,३९५
१९९६ ३,९३,६१३
१९९७ ४,२१,८५७
१९९८ ४,६३,६८४
१९९९ ४,९१,५०४
२००० ४,६३,६४६
२००१ ३,६१,२३७
२००२ २,७७,६४५
२००३ २,६५,३६०
२००४ २,८८,३५६
२००५ २,७७,१२९
२००६ २,८३,५१६
२००७ ३,६०,३५०
२००८ ३,७४,६६१
२००९ ३,७८,७१२
२०१० ६,०२,८६७
२०११ ७,३६,२१५
२०१२ ८,०३,०९२
२०१३ ७,९८,०००
२०१४ ५,८५,९८१
२०१५ ५,३१,०००
२०१६ ७,४१,०००
२०१७ १०,६०,००० (प्रारम्भिक तथ्यांक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment