Comments Add Comment

देउवाको नयाँ चालः भित्तामा गगन, प्रवक्तामा विश्वप्रकाश !

कांग्रेसको 'सात भाइ समूह' फुटाउन शेरबहादुर सफल

२७ पुस, काठमाडौं । पार्टी नेतृत्वलाई चुनौती दिँदै आएका ‘सात भाइ’ को समूहमा ब्रेक लगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सफल भएका छन् ।

आम चुनावमा कांग्रेसले हार व्यहोरेपछि युवा नेताहरु धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्माले एकै ठाउँमा उभिएर नेतृत्व परिर्वतनको पक्षमा लविङ सुरु गरेका थिए ।

तर, देउवाले एकाएक विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाएसँगै यो समूहमा खैलाबैला मच्चिएको छ ।

देउवाको यो निर्णयलाई नेतृत्व परिर्वतनको माग गर्ने युवाहरुलाई फुटाउने देउवाको रणनीतिका रुपमा लिइएको छ । युवा पुस्ताका विश्वप्रकाशलाई मोहोरा बनाएर युवालाई नै तह लगाउने देउवाको रणनीतिका रुपमा यसलाई हेर्न थालिएको छ ।

एक नेता भन्छन्, हामी जुन उमेर समूहकामा मानिसहरु अहिलेको नेतृत्व नफेरी हुँदैन भनिरहेका थियौं, उनीहरु गलत हुन् भन्न त्यही उमेर समूहका मानिस खडा गरे ।’

किनकि विद्यार्थी राजनीतिबाट आएका गगन थापा कांग्रेसीहरु माझ जति लोकपि्रय छन्, विश्वप्रकाश त्योभन्दा कम छैनन् । युवा नेताका रुपमा एउटाको नाम आउँदा अर्कोको छुट्दैनथ्यो । र, उनीहरु एक ठाउँमा उभिँदा नेतृत्वले थ्रेट फिल गरेका थिए ।

अब प्रवक्ता नियुक्तिसँगै गगनहरुको खण्डन देउवाले होइन, विश्वप्रकाशले गर्नेछन् ।

त्यसको सुरुवात उनले बुधबार पार्टी प्रवक्ताका रुपमा पहिलो पत्रकार सम्मेलनबारे गरिसके । शर्माले भनेका छन्, कि एजले होइन, एजेण्डा हुनेले कांग्रेसको नेतृत्व गर्छ ।

जब कि युवा समूहका नेताहरु आफूले उमेरका कारण नेतृत्व हस्तान्तरणको माग नगरेको बताउँछन् । आफूहरु कांग्रेको साधारण सदस्य मात्र बन्न तयार रहेको भन्दै एक नेता भन्छन्, ‘संविधान निर्माण भइसकेको अहिलेको अवस्थामा जति राम्रो एजेण्डा बनाए पनि यो लिडरसिपलाई जनताले स्वीकार नै गर्दैन भन्ने हो ।’

‘सात भाइ’ मा विश्वप्रकाशको भूमिका

आम चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि गगन थापाले अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा विशेष महाधिवेशन बोलाउन र नेतृत्व हस्तान्तरणको माग गरेका थिए ।

यो मागमा सहमत हुनेहरु बढे र पुस १६ सम्म आइपुग्दा कांग्रेसमा ‘सात भाइको समूह’ नै बन्यो । सात भाइ समूहमा धनराज गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी र र विश्वप्रकाश शर्मा थिए ।

एक नेताका अनुसार राष्ट्रिय मेलमिलाप दिवसको दिन विहानै सातभाइ समूहबाट वक्तव्य निकाल्ने योजना थियो र ड्राफ्ट तयार भइरहेको थियो । ‘विश्व दाइ राजधानी बाहिर रहेकाले मैले हेर्नुपर्छ भन्नुभयो र विहान वक्तव्य आएन’ एक नेताले अनलाइनखबरसँग भने ।

सुरुमा तयार पारेको ड्राफ्टको भाषा कडा थियो, जसमा विश्वप्रकाश सहमत भएनन् । साँझ उनकै उपस्थितिमा वक्तव्य तयार भयो, जसमा विशेष महाधिवेशनको सट्टा महासमिति बैठक माग गरियो । ‘विश्वदाइलाई टिममा राख्न वक्तव्यलाई केही कमजोर बनाउन पनि हामी तयार भयौं’ एक नेताले भने ।

तर, संयुक्त वक्तव्य आएपछि ‘सात भाइ’को टिमले गरेको छलफल तथा अन्तरक्रियामा विश्वप्रकाश अनुपस्थित रहे । उनी मंगलबार एकाएक पार्टी प्रवक्ता नियुक्त भए ।

प्रवक्ताको नियुक्ति लिनुअघि शर्माले आफ्नो समूहका नेताहरुलाई सुइँको समेत दिएका थिएनन् ।

नेविसंघको अध्यक्ष हुँदै कांग्रेसको राजनीतिमा आएका विश्वप्रकाश तार्किक युवा नेता हुन् । उनलाई जिल्ला सभापति र सांसदको चुनाव भने उनलाई फापेको छैन ।

उनी लामो समयसम्म शशांक कोइराला निकट मानिन्थे । तर, १३ औं महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य भए । कांग्रेस नेताहरुका अनुसार महाधिवेशनमा देउवा र शशांकको टिम बनाउने प्रयास गर्नेमध्ये उनी एक थिए ।

फरक गुटबाट आएको भए पनि पछिल्लो समय देउवा र शशांक नजिकिएका छन् । प्रवक्तामा विश्वप्रकाशको नियुक्तिलाई यसको पनि भूमिका मानिन्छ ।

गगन समाचारमा मात्र प्रवक्ता !

विश्वप्रकाश प्रवक्ता बन्नुभन्दा डेढ/दुई महिनाअघि गगन थापा कांग्रेसको प्रवक्तामा नियुक्त भएको खबर आएको थियो । यसको न कांग्रेस त्यसको खण्डन गर्‍यो, न गगनले नै ‘होइन’ भने । बरु उल्टै थुप्रै दिन उनले बधाइ खाए ।

नेताहरुका अनुसार प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले चुनाव अघि गगनलाई प्रवक्ता बनाउँछु भनेका थिए ।

गगनले पनि त्यसलाई स्वीकार गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, महेश आचार्य लगायतका नेताहरु सम्मिलित बैठकमा नै देउवाले गगनलाई प्रवक्ता बनाउने कुरा गरेका थिए ।

स्रोतका अनुसार प्रवक्ता नियुक्तिको पत्र पार्टी कार्यालयबाट बालुवाटार पुगेपछि यो खबर चुहिएको थियो । तर, देउवाको टिमले गगनलाई स्वीकार गरेन । प्रकाशशरण महत, बालकृष्ण खाँड र आरजु देउवाको टिम मिलेर पत्र नै गायब पारियो ।

प्रधानमन्त्री देउवाले गगनलाई बोलाएर ‘तपाईलाई (प्रवक्ता) बनाउन खोजेको मिलेन यार’ भनेका थिए । त्यसपछि थापालाई निर्वाचन प्रचार प्रसार समितिको प्रमुख आश्वासन दिइयो । तर, त्यो पनि पूरा भएन ।

देउवा टिमको अब्जेक्सनपछि गगनलाई बालकृष्ण खाँड संयोजक रहेको निर्वाचन परिचालन कमिटी मातहतको प्रचार समितिको संयोजक भनियो । तर, उनले न नियुक्तिको चिठी पाए, न त जिम्मेवारी नै ।

अन्ततः प्रचण्डलाई भित्ते राष्ट्रपति बनाएझै गगन थापा पनि समाचारमा मात्रै प्रवक्ता’ मात्र बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment