Comments Add Comment

‘म त सानोमा आमाको पुच्छरै हो’

नेपाली सांगीतिक क्षेत्रमा गायिका दुर्गा खरेलको नाम पुरानो भैसक्यो । चर्चित गीतकी गायिका दुर्गाले आफ्नो बाल्यकाल संझिएकी छिन् । आउनुहोस् जानौ, कस्तो थियो उनको बाल्यकाल ।

घरमा बाबाले कहिले ‘कान्छी’ भन्नु हुन्थ्यो कहिले ‘माको’ भन्नुहुन्थ्यो । माकोको अर्थ मैले अहिलेसम्म थाहा पाउन सकेको छैन । म त आमाको पुच्छरै हो । काहिँ गएपनि आमालाई छोड्दिनथेँ । बाबासँग चाहिँ आमासँगजस्तो नजिक भइनँ ।

आमा बजारतिर जाँदा होस् या मामाघर जाँदा, पछि लागेरै जान्थेँ । ठूलो बद्मासी कहिल्यै गरिन । त्यसकारण स्कुल र घर कँही पनि सजाय पाएको रेकर्ड छैन । केरा चाँहि खुब चोर्थे । हजुरआमाले बजारवाट केरा किनेर ल्याउनुहुन्थ्यो । हामी दिदी बहिनीलाई एकएकओटा दिनुहुन्थ्यो । तर, मलाई चित्तै बुझ्दैनथ्यो । अनि चोरेर खान्थेँ ।

खाने र लाउने कुरामा कुनै दुःख थिएन । मलाई र माइली दिदीलाई एउटै रंगको लुगा ल्याइदिनुहुन्थ्यो । झगडा गर्थें । तर, दिदीहरु मजस्तो छुच्चा थिएनन् मलाई माया गर्थे ।

स्कुल घरवाट नजिकै थियो । घण्टी बजेको सुनिन्थ्यो । खाजा लाने चलन थिएन । टिफीनमा घरै आएर खाजा खान्थेँ । कहिलेकाँही होमवर्क नगर्दा म्यामहरुले ‘यसरी त हुन्न’ भन्नुहुन्थ्यो तर, गाली खाएको थाहा छैन । म स्कुलमा प्रायः दोस्रा हुन्थे । पहिलो र तेस्रो हुनेसँग खुब मिल्थेँ तर, स्कुलमा मेरो साथीहरु निकै थोरै थिए । स्कुल जाँदा मलाई असाध्यै चिटिक्क हुनुपथ्र्यो । कहिलेकाँही कपाल बाटेको चित्त बुझ्दैनथ्यो । कपाल बिगार्थें र घरमै रोएर बस्थेँ । त्यो दिन स्कुलै जान्नथेँ ।

स्कुलमा हुने सांगीतिक कार्यक्रममा गाउँने नाँच्ने दुबै गर्थे । घरमा पनि ऐना हेरी हेरी नक्कल पार्न मन लाग्थ्यो । क्यारिकेचर पनि गर्थेँ । हाम्रो घर झापा बोर्डर साइड भएकाले नेपाली गीतभन्दा हिन्दी गितकै प्रभाव धेरै थियो । हामी पनि रेडियोमा हिन्दी गीत सुन्दै गाउथ्यौं । आशा भोस्ले, लगा मंगेसकर र सुनिधी चौहानको नाम थाहा थियो । ठुलो भएपछि के हुन्छु भन्ने चाँही सोचेको थिइन् तर, अभिनय र क्यारिकेचर खुब गर्थे । हाम्रो घरको तल्लो तला भाडामा दिइएको थियो । त्यहाँ बस्ने दाईहरुलाई म क्यारीकेचर गरेर देखाउथेँ ।

सानोमा बिरामी भइरहन्थे । ७ कक्षा पढ्दा टाइफाइडले हस्पिटल भर्ना भएको छु । त्यो वेला १७ बोत्तल त स्लाइन नै चढाउनु परेको थियो । बत्ती गएको बेला मलाई निकै डर लाग्थ्यो । म कुनै कोठामा बसेर खेलिरहेको वेला बत्ती गयो भने आमा भएको कोठामा जान पनि डर लाग्थ्यो ।

दसैंलगायतका चाड पर्वमा घरमा टीका लगाएर ५० रुपैंया दिनुहुन्थ्यो । अन्य घरमा पनि जान्थ्यौं  । ५० भन्दा कम दिँदा चाँही कस्तो लोभी रैछन् जस्तो लाग्थ्यो । दक्षिणामा आएको पैसा जम्मा गरेर राख्थे । मलाई चकलेट खुब मन पथ्र्यो, चकलेट किनेर खान्थेँ । बरफ पनि खुव मन पथ्र्यो । दुध बरफ किनेर खान्थेँ, जसमा नरीवलको सानो टुक्रा मिसाइएको हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment