+
+
Shares

नेविसंघ विवादः समानान्तर समितिले अध्यक्ष महरलाई सोध्यो स्पष्टीकरण

अध्यक्ष महर भन्छन्- अझै माथिल्लोस्तरको कारबाही गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३० गते १०:४४

३० पुस, काठमाडौं । नेविसंघको ‘समानान्तर समिति’ले अध्यक्ष नैनसिंह महरसँग स्पष्टीकरण सोधेको छ । कांग्रेसको कृष्णप्रसाद सिटाैला पक्षले समानान्तर अनुशासन समिति गठन गरेको छ र, सो समितिका अध्यक्ष राजेश रौनियारले २९ पुसमा पत्र लेखेर अध्यक्ष महरसँग तीनदिने स्पष्टीकरण मागेका हुन् ।

रौनियारले अध्यक्ष महरलाई सोधेको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘….तपाईंमाथि गम्भिर प्रश्नहरु उठेका छन् । लोकतान्त्रिकका मूल्यमान्यतामा विश्वास राख्ने संगठनको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिलाई यस्ता गम्भिर सवालहरुमाथि सत्य तथ्य स्पष्ट पार्न सजिलो होस् भनि स्पष्टीकरणको मौका प्रदान गरिएको छ ।’

बिधानविपरित समितिहरु गठन गरेको, आमन्त्रित केन्द्रीय सदस्य  तोकेको, आर्थिक लेनदेनमा फसेको र स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीका उमेदवारहरुलाई हराउन संलग्न रहेकोलगायतका आरोप महरमाथि लगाइएको छ ।

तर महरले भने आफूले विधान अनुसार नै काम गरिरहेको दावी गर्दै पार्टी शुद्धिकरणको प्रक्रियामा असन्तुष्टिका स्वर आउनु सामान्य भएको प्रतिक्रिया दिए । उनले अनुशासन विपरित गतिविधि गर्नेहरुलाई कारबाही जारी रहने चेतावनी पनि दिए ।

अनुशासन समिति नै दुईवटा

रौनियार नेविसंघको सह-महामन्त्रीसमेत हुन् । उनैलाई अनुशासन समितिको अध्यक्षको जिम्मेवारी दिएको छ । महामन्त्री कुन्दन काफ्लेले रौनियारलाई अनुशासन समितिको अध्यक्षमा नियुक्त गरेका हुन् ।

संस्थापन पक्षको अनुशासन समितिको अध्यक्ष भने अम्विका चलाउने छिन् । अछामको विनायक नगरपालिकाको उपमेयरसमेत रहेकी चलाउने पनि नेविसंघको सहमहामन्त्री हुन् । रौनियारले चलाउनेसँग पनि तीनदिने स्पष्टीकरण मागेका छन् । चलाउनेले नेविसंघको लेटरप्याड र छाप दुरुपयोग गर्दैै विज्ञप्तिहरु जारी गरी संगठनको अनुशासन उल्लंघन गरेको आरोप छ ।

स्पष्टीकरणको श्रृंखला

नेविसंघमा मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको दिनदेखि औपचारिक रुपमा समानान्तर गतिविधि सुरु भएको थियो । १६ पुसमा मनाइने दिवसको अवसरमा पौडेल र संस्थापन पक्षले एउटै समयमा अलग-अलग स्थानमा कार्यक्रम आयोजना गरेका थिए ।

त्यसको अघिल्लो दिन अनुपम फुडल्याण्डमा सिटौला पक्षका नेविसंघ नेताहरुले सातजना युवा नेताहरुलाई सँगै राखेर मेलमिलाप दिवसको सन्दर्भमा अन्तर्क्रिया कार्यक्रम गरेका थिए । त्यो कार्यक्रमको संयोजक उपाध्यक्ष रामप्रसाद अधिकारी थिए । अधिकारी प्रदेश नम्बर ३ को नेविसंघ संयोजकसमेत हुन् ।

गुटगत गतिविधि गरेको भन्दै संस्थापन पक्षले तिनै अधिकारीलाई स्पष्टीकरण सोधेको छ । त्यससँगै सीटीईभीटी समिति अध्यक्ष कर्णबहादुर ओलीलाई साधारण सदस्यबाट निस्कासन पनि गरिएको छ । त्यसपछि सुरु भएको हो नेविसंघका नेताहरुले एकअर्कालाई स्पष्टीकरण सोध्ने श्रृंखला ।

संस्थापन पक्षकी अनुशासन समिति अध्यक्ष अम्विका चलाउनेको हस्ताक्षर स्क्यान गर्दै अध्यक्ष महर आफैले जथाभावि पत्र काट्ने गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । रौनियारले अनलाइनखबरसँग भने, ‘अम्विका जी अछाममै उपमेयरको जिम्मेवारी सम्हालिरहनु भएको छ । तर हाम्रो अध्यक्ष काठमाडौंमा बसेर अम्विकाको हस्ताक्षर स्क्यान गर्दै पत्र काटिरहनुभएको छ ।’

अम्विकालाई अनुशासन समितिको अध्यक्ष नमान्ने घोषणा महामन्त्री काफ्ले पक्षले गरेको छ । काफ्ले पक्षले भने अनुशासन समितिलाई केन्द्रीय समितिबाट अनुमोदन नगराएर उल्लंघन गरेको बताएको छ । तर, अध्यक्ष महरले भने विधानमा अनुमोदन गराउने व्यवस्था नभएको र विधानअनुसार नै परामर्श गरेर नियुक्त गरेको बताए ।

तर, रौनियार भने आफू नै आधिकारिक अनुशासन समितिको अध्यक्ष भएको दावी गर्दछन् । उनले भने, ‘मलाई त अध्यक्ष जीकै सहमतिमा महामन्त्रीले अनुशासन समितिको अध्यक्ष नियुक्त गर्नुभएको हो । अहिले विवाद भएपछि उपमेयर भएको व्यक्तिलाई नेविसंघको अनुशासन समिति भन्दै पत्र काट्ने काम भइरहेको छ जुन कुरा अम्विकाजीलाई थाहै दिइएको छैन ।’

तर, उपमेयर समेत रहेकी चलाउनेले भने अनुशासन समितिको अध्यक्ष आफू नै रहेको बताइन् । अछाममा रहेकी उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘अध्यक्षले मलाई अनुशासन समितिको जिम्मेवारी दिनुभएको हो । मेरो नियुक्ति विधानसम्मत नै छ ।’ आफ्नो हस्ताक्षर दुरुपयोग भएको जानकारी भने आफूलाई नभएको उनले बताइन् ।

भागबण्डा नमिल्दा विवाद छताछुल्ल

नेविसंघमा अहिले देखिएको विवादका बिभिन्न कारणहरुमध्ये पदाधिकारी र केन्द्रीय सदस्यहरुको नियुक्ति नै मुख्य हो । अध्यक्षलाई १५० केन्द्रीय सदस्यहरुमध्ये ६ पदाधिकारीसहित २१ जना नियुक्त गर्ने अधिकार छ । विधानमा भएको व्यवस्थाअनुसार नेविसंघ अध्यक्षले परामर्श गरेर पदाधिकारीमा एकजना महामन्त्री, ३ जना सहमहामन्त्री र दुई जना उपाध्यक्ष (एक महिला र एक खुल्ला) नियुक्त गर्न पाउँछन् ।

हालै नेविसंघ अध्यक्ष महरले महामन्त्रीमा आनन्दराज त्रिपाठीलाई नियुक्त गरेका छन् । त्रिपाठी अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए । केन्द्रीय सदस्य पनि अधिकांश नियुक्त भइसकेका छन् । अब ३ सहमहामन्त्री र २ उपाध्यक्ष नियुक्त गर्न बाँकी छ । हालसम्म गरिएका नियुक्तिहरुमा परामर्श नगरी एकलौटी गरेको आरोप अध्यक्ष महरलाई लागेको छ । पौडेल पक्षले नियुक्तिमा ५० प्रतिशत भागबण्डा खोजेको थियो तर महरले सबै आफू निकटलाई नियुक्त गरेपछि नेविसंघभित्रको विवाद छताछुल्ल भएको छ ।

महर भन्छन्- अझै माथिल्लोस्तरको कारबाही हुन्छ

नेविसंघ अध्यक्ष महरले पार्टीमा शुद्धीकरणको प्रक्रिया चलिरहेकाले यस्ता गतिविधिहरु भइरहनु सामान्य भएको बताए । आफूहरुले नियुक्तिका लागि नाम माग्दा नदिएको र अहिले आफूले नियुक्ति गर्दा विरोध गरिएको दावी गरे । उनले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उदयपुर बम विष्फोटमा घाइते मिरा कटुवाललाई केन्द्रीय सदस्यमा नियुक्त गरेपछि असन्तुष्टहरुले आफ्नो विरोध गरेको बताए ।

नेविसंघ अध्यक्ष महरले आफूले विधान विपरित काम नगरेको र आफूलाई सोधिएको स्पष्टीकरणको अर्थ नभएको पनि बताए । उनले यस्ता गतिविधि गर्नेलाई अझै माथिल्लोस्तरको कारबाही गर्ने चेतावनी पनि दिए ।

‘नेपाली कांग्रेसमै बस्ने हो भने नेविसंघमा त्यहीअनुसार काम गर्नुपर्‍यो होइन भने साझा विवेकशीलमा गए हुन्छ, नेविसंघमा ठाउँ छैन,’ महरले अनलाइनखबरसँग भने, ‘यस्ता गतिविधि गर्नेहरुलाई अब अझै माथिल्लोस्तरको कारबाही गर्छु ।’

यो पनि पढ्नुहोस्

कांग्रेसको मेलमिलाप दिवसकै दिन नेविसंघमा ‘फुट’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?